‘जनकपुरलाई भारतमा मोदीले चिनाए’ : भारतिय पर्यटन राज्यमन्त्री पटेल

पत्रपत्रिकाबाट

शुक्रबार, १८ पुस २०७६, ०८ : ३३
‘जनकपुरलाई भारतमा मोदीले चिनाए’ : भारतिय पर्यटन राज्यमन्त्री पटेल

file photo

धनुषा । भारत सरकारका केन्द्रीय संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रहृलाद पटेलल‍े भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरलाई भारतमा चिनाएको बताएका छन् । नेपाल भ्रमण वर्षको अवसरमा भारतको प्रतिनिधित्व गर्दै बिहीबार जनकपुर आएका मन्त्री पटेल भारतले नेपालको विकास हेर्न चाहेको बताए।

उनले जनकपुरको पर्यटन क्षेत्रको विकासमा भारतको सहयोग रहने प्रतिबद्धता जनाए। जनकपुर विमानस्थलबाट ओर्लेर मन्त्री पटेलले राम मन्दिर, राजदेवी मन्दिर दर्शन गर्दै जानकी मन्दिरमा पूजा-अर्चना गरेका थिए। पूजापाठ पश्चात संचारकर्मीहरुसाग कुराकानी गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएपछि भारतीयहरुमा एकपटक जनकपुर पुग्नुपर्ने सूचना गएको बताए। ‘राम र सीताको विवाह भएको यो ठाउँ धेरै जनाले सुनेका थिए।

प्रधानमन्त्री मोदी यहाँ आएर फर्केपछि धेरै भारतीयहरु यहाँ आउन चाहन्छन्,’ उनले भने। ‘पोखरा, लुम्बिनी जाने पनि विकल्प थियो तर भगवान रामको ससुराली जनकपुरधाम जाने इच्छा भयो,’ उनले भने। राज्यमन्त्री पटेलले मोदी जनकपुर आउँदा घोषणा गरेको सहयोगको प्रक्रिया सुरु गर्न सुझाव दिएका छन्। जनकपुरधामको विकासका लागि दिने भनिएको रकम प्रक्रिया अगाडी बढाउन उनले सुझाव दिए। उनले नेपाल र भारतको सामाजिक र राजनीतिक सम्बन्ध अझै बलियो बनाउनुपर्नेमा जोड दिए। ‘कहिलेकाँही नजिक भएर पनि टाढा महसुस भइरहेको हुन्छ।

त्यसलाई हामीले अझै नजिक ल्याउन सक्नुपर्छ,’ उनले भने। छोटो समयमा नेपालमा धेरै राजनीतिक परिवर्तन भएको बताउँदै उनले यसलाई संस्थागत गर्न अभ्यास गर्दैजाँदा पर्यटकीय लाभ मिल्ने बताए।मुख्यमन्त्री लालबाबु राउतले नेपाल र भारतको सम्बन्धलाई युनिक बताए। पटेललाई स्वागत गर्दै मुख्यमन्त्री राउतले विश्वमा कुनै दुई देशबीच नरहेको सम्बन्ध नेपाल र भारतको रहेको बताए।

नेपालका अभिभावकले छोराछोरीको बिहे गर्न भारतमा केटाकेटी खोज्न जाने गरेको र भारतका अभिभावकले नेपालमा खोज्न आउने गरेकोले दुवै देशबीचको सम्बन्ध युनिक रहेको मुख्यमन्त्री राउतको भनाइ थियो। यस्तो सम्बन्धले दुई देशको आत्मियतालाई उजागर गरेको उनले बताए। कान्तिपुर दैनिकमा खबर छ ।