आम्दानीकै लागि धमाधम ऐतिहासिक संरचना किन निजि क्षेत्रलाई ?

पत्रपत्रिकाबाट

शुक्रबार, १८ पुस २०७६, ०७ : ०५
आम्दानीकै लागि धमाधम ऐतिहासिक संरचना किन निजि क्षेत्रलाई ?

काठमाडौं । नेपाल ट्रस्टको कार्यालयले विज्ञ समितिको प्रतिवेदन लत्याएर ट्रस्टको सम्पत्तिमा निजी व्यवसायीलाई रिसोर्ट खोल्न दिने चलखेल सुरु भएको छ। दियालो बंगला, रत्न मन्दिरलगायतका ऐतिहासिक महत्वका सम्पदामा म्युजियम खोल्न दिएको सुझावलाई लत्याएर कार्यालयले निजी क्षेत्रलाई रिसोर्ट सञ्चालन गर्न दिने तयारी गरेको हो।

नेपाल ट्रस्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले दियालो बंगला, हिमागृहलगायतका संरचनामा रिसोर्ट सञ्चालन गर्न निजी क्षेत्रलाई दिन सकिन्छ कि भनेर अध्ययन भइरहेको बताए। ट्रस्टलाई आम्दानी हुने भएकाले निजी क्षेत्रलाई लिजमा दिएर फाइदा लिनुपर्ने उनको तर्क छ। ट्रस्टको अधिकतम हित हेरेर रिसोर्ट खोल्न दिने र त्यसबाट ट्रस्टले बिनालगानी फाइदा लिने कार्यकारी सचिवको भनाइ छ। ‘ती संरचनाहरु के गर्ने भन्ने विषयमा अध्ययन भइरहेकाले अहिले नै यस्तै हुन्छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन’, उनले भने।

नेपाल ट्रस्टले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ठाकुरले जस्तै सहसचिव राजेश्वर ज्ञवालीले पनि ट्रस्टको स्वामित्वमा रहेका हिमागृहलगायतका सम्पत्ति लिजमा दिने तयारी भइरहेको बताएका थिए। तर विज्ञले भने ऐतिहासिक संरचना निजी क्षेत्रलाई व्यावसायिक प्रयोनजनका लागि दिनेभन्दा पनि ट्रस्ट अथवा सरकारी निकायले नै व्यवस्थित गरेर सर्वसाधारणलाई अवलोकनका लागि खुला गर्ने व्यवस्था मिलाउन सुझाव दिँदै आएका छन्।

स्रोतका अनुसार ट्रस्ट सञ्चालक समितिमा निजी स्वार्थ समूहका प्रतिनिधिको बाहुल्य रहेकाले ट्रस्टको ऐतिहासिक सम्पत्तिसमेत व्यापारिक स्वार्थमा लिजमा दिने चलखेल भइरहेको छ। यती होल्डिङ्स प्रालिसँग निकट सञ्चालक समिति सदस्य सीताराम सापकोटाले सार्वजनिक रुपमै ट्रस्टको सम्पत्ति लिजमा दिने विषयमा भटाभट निर्णय गर्दै जाने अभिव्यक्ति दिएका छन्।

यसले पनि ट्रस्टको स्वामित्वमा रहेका ऐतिहासिक महत्वका सम्पत्ति निजी क्षेत्रले उपभोग गर्नेगरी दिने प्रपञ्च भइरहेकोमा विज्ञहरुले चिन्ता प्रकट गरेका छन्। नेपाल ट्रस्टको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदनमा समेत रत्नमन्दिर, हिमागृह, दियालो बंगला र हेटौंडाको कान्ति ईश्वरीभवनलाई संग्रहालयको रुपमा रुपान्तरण गरेर सर्वसाधारणका लागि खुला गरिने उल्लेख छ। रत्नमन्दिर, हिमागृह, दियालो बंगला र कान्ति ईश्वरी भवनमा सशुल्क प्रवेश तथा अवलोकन गर्न ट्रस्टले नियमावलीसमेत ल्याइसकेको देखिन्छ।

नेपाल ट्रस्टको सम्पत्ति अवलोकन शुल्क निर्धारण नियमावली, २०७२ मा पूर्वराजपरिवार (राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको देहावशान हुँदाका बखत निजहरुको नाममा रहेको र हक पुग्ने सम्पत्ति) को सम्पत्ति कानुनबमोजिम नेपाल ट्रस्टको स्वामित्वमा आएका यस्ता ऐतिहासिक सम्पत्तिलाई संरक्षण गरेर ट्रस्टले निर्धारित शुल्क लिई सर्वसाधारणलाई अवलोकनका लागि खुला गर्ने उल्लेख छ। तर निजी क्षेत्रबाट सञ्चालक समितिमा नियुक्त भएका सदस्यहरुको स्वार्थमा ट्रस्ट नियमावलीलाई बेवास्ता गर्दै निजी क्षेत्रलाई रिसोर्ट खोल्न दिने चलखेलमा लागेको हो। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस