प्रधानमन्त्रीका प्रेस सल्लाहकार किन खनिन्छन् नेकपा अध्यक्ष प्रचण्ड र नेता रावलविरुद्ध ?

सफल खबर संवाददाता

मंगलबार, १५ पुस २०७६, १२ : २६
प्रधानमन्त्रीका प्रेस सल्लाहकार किन खनिन्छन् नेकपा अध्यक्ष प्रचण्ड र नेता रावलविरुद्ध ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा आफ्नो पदीय मर्यादा र हैसियत बिर्सेर पार्टी अध्यक्ष प्रचण्ड र नेता भीमबहादुर रावलविरुद्ध प्रचार गर्न परिचालित भएका छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको प्रमुख सहयोगी रहेका सल्लाहकार नै अर्का अध्यक्षको मानमर्दन गर्न तथा पार्टीका नेतालाई खुइल्याउन परिचालित भएपछि त्यसले के कस्तो संकेत गरेको होला सहजै अनुमान  गर्न सकिन्छ ।

अरुको खुट्टा काटेर आफू अग्लो बनेको घमण्ड थापामा हुन सक्छ । कारण र तथ्य जे भएपनि, परिस्थिति जे जस्तो भएपनि प्रधानमन्त्रीको नाममा चलखेल गर्ने, पार्टीका अध्यक्ष र नेताहरुको मानमर्दन गर्ने प्रवृत्ति आफैमा सैह्य र क्षम्य विषय भने पक्कै होइन, तर जे नहुनु पर्ने थियो वा जे नहोस् भन्ने अपेक्षा गरिएको छ, त्यही गरिरहेका छन्, सल्लाहकारका जागिर खाएका भुइँफुट्टा कार्यकर्ताले ।

सत्य र असत्य समेत छुट्टयाउने ल्याकत नभएका त्यस्ता भुइफुट्टाहरुले आफू मात्रै सकेका छैनन्, अरुलाई समेत सिध्याउन समेत लागेका छन् । यस्तै भएको छ, प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डलमा । गत  शुक्रबार राति भारतमा चलिरहेको अहिलेको नागरिकता सम्बन्धी कानुनको विरोधबाट उत्पन्न भएको तनावबारेको एउटा सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटरको दुरुपयोग गरियो । सामान्यतया, प्रधानमन्त्रीको ट्वीटर कि त प्रधानमन्त्री आफैले चलाउँछन् , कि त उनका सहयोगीले नै चलाउँछन् । 

प्रधानमन्त्रीको नजिक रहने राजेश बज्राचार्य सोझा छन्, उनलाई लप्पनछप्पन गर्ने कुनै चासो नै छैन । उनी दुःखसुखका सहयोगी मात्रै होइनन्, प्रधानमन्त्रीका खास अर्थमा नातेदार पनि हुन् । उनलाई प्रधानमन्त्रीको नाम दुरुपयोग गरेर केही लिनु दिनु छैन । 

प्रधानमन्त्री नै आफू भएको दावी गर्ने, पार्टी समेत आफै भएको घमण्ड गर्नेमा विष्णु रिमाल पर्छन् । रिमाललाई प्रधानमन्त्रीको नाम लिएर अकूत कमाउनु छ, प्रधानमन्त्रीलाई विवादमा पार्नु छ, सोही विवादको रापमा विवाद र सत्ताको रोटी सेक्नु छ । सिंहदरबार नै आफैले चलाएको, प्रधानमन्त्रीको विश्वासको मान्छे आफू भएको तथाकथित घमण्ड उनै रिमालमा छ । सिंहदरबार र बालुवाटारमा रिमाल राज छ, जुन राजमा आफू सर्वेसर्वा, अरु सबै कमिला र भुसुना भन्ने ठूलो भ्रम छ । 

प्रधानमन्त्रीका अर्का सल्लाहकार छन्, परराष्ट्र सल्लाहकार राजन भट्टराई । उनी प्रधानमन्त्रीका लागि भन्दा पनि राज्यको सूचना कौडीको मूल्यमा भारतलाई उपलब्ध गराउन नियुक्त भएका भारतीय एजेन्ट नै भएको उनलाई देखीजान्ने पूर्व एमाले कार्यकर्ता बताउँछन् । 

अर्का रहे, प्रेस सल्लाहकार सूर्य थापा । उनको बारेमा आमरुपमा नै जगजाहेर नै छ । थापा पार्टी अध्यक्ष प्रचण्ड र नेता भीमबहादुर रावलविरुद्ध प्रचार गर्न परिचालित भएका छन् । थापाले उक्त ट्वीटर ह्यान्डलको पासवर्ड चोरी भएको हुनसक्ने आशंका गरेका छन् । तर, यति गम्भीर विषय आएका कारण त्यो आशंकामाथि पनि बहस भइरहेको छ । 

प्रधानमन्त्रीको सचिवालयमा नै उनको सामाजिक सञ्जाल हेर्ने व्यक्ति तोकेर राखिएको हुन्छ । उक्त सन्देश भूलवस वा नियोजित हिसाबले रिट्वीट गरियो भन्नेबारे प्रधानमन्त्री ओलीले पनि खोजीनीति थालेका छन् ।

हालसम्म कसले गरेको हो भन्नेबारे खासै सूचना चुहिएको छैन । तर, यो पासवर्ड चोरी भयो भन्ने विषयमा पनि मिहिन अनुसन्धान भइरहेको बताइएको छ ।  सोनिया गान्धीको उक्त रिट्वीट प्रधानमन्त्रीको आधिकारीक खाताबाट हटाइएको थियो । यसले क्षणभरमा नै सामाजिक सञ्जालमा उठेका कतिपय प्रश्नको निराकरण गर्न नसक्ने भएकाले नै आन्तरिक छानबिन चलिरहेको स्रोतको दावी छ ।

विभिन्न सञ्चार माध्यममा आएका प्रचण्ड विरोधी टिप्पणी तथा विचारलाई व्यक्तिगत भन्दै धमाधम प्रधानमन्त्रीका प्रेस सल्लाहकार नै  लागेका छन् । प्रधानमन्त्रीलाई यस बारेमा जानकारी छ वा छैन, त्यो भने थाहा हुन सकेको छ्रैन । प्रधानमन्त्रीको नाम लिएर पार्टीका नेतालाई खुइल्याउन लाग्नुपर्ने नै त्यसको खास कारण के परेछ भन्ने कुराको खोजी समेत भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस