चितवन । तनँहुको देवघाट गाउँपालिका–५ लाई नेपालकै पहिलो सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको छ । विभिन्न १० वटा सूचकहरु पूरा गरेपछि आज सो वडालाई नेपालकै पहिलो सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको हो । वडा भित्र रहेका सवै घरमा शुद्ध खानेपानी पुर्याएपछि घोषणा गर्न सफल भएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।
युनिसेफको आर्थिक सहयोग र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्र (कोस्डर) गोरखाको प्राविधिक सहयोगमा सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको उनको भनाई छ । सुरक्षित खानेपानी युक्त वडा घोषणा गर्नका लागि खुला दिशामुक्त क्षेत्र घोषणा, एक घर एक धारा, प्रत्येक घरमा खानेपानीको मिटर जडान र महसुल सङ्कलन, सरसफाइ तथा स्वच्छता कायम, खानेपानीको मर्मत सम्भार कोष स्थापना, समुदायमा खानेपानीको मर्मतसम्भारकर्ता, खानेपानी सुरक्षा योजना लगायतका विभिन्न सूचकहरु पूरा गरिएको थापाले बताए । त्यस्तै खानेपानीमा कोलिफर्म र आर्सेनिक नभएको, समुदायलाई खानेपानी गुणस्तर तालिम, खानेपानी गुणस्तर अनुगमनपछि सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको भएको हो ।
शुद्ध पानीकै लागि १ करोड खर्च,
सुरक्षित खानेपानी वडा घोषणाका लागी करिब एक करोड रुपैँया खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए । वडा नम्बर ५ मा १० वटा खानेपानी उपभोक्ता समिति मार्फत सबै वडावासीको घरमा पाइपको माध्यमबाट खानेपानी पु¥याइएको सुवेदीको भनाइ छ । वडा नम्बर ५ का एक हजार ४ सय ५६ घरधुरीका आठ हजार ८ सय १५ परिवारले सुरक्षित पानी पिउन पाएको गाँउपालिकाले जनाएको छ ।
आइतबार घोषणा कार्यक्रममा युनिसेफ नेपालका निमित्त राष्ट्रिय प्रतिनिधि डा. तमिज अहमदले दिगो विकासका लागि समुदायले पिउने पानी शुद्ध हुनुपर्ने बताए । सुरक्षित खानेपानी वडा घोषणा गरेर वडामा राम्रो कामको सुरुवात भएको उल्लेख गर्दै अहमदले पानीको गुणस्तरलाई कायम राख्नका लागि युनिसेफले सधैँ सहयोग गर्ने बताए । यस्तै कोस्डर गोरखाकी खानेपानी गुणस्तर स्रोत व्यक्ति समृद्धि गुरुङले सन् २०१९ को अगष्टमा सुरु भएको परियोजना डिसेम्बर २०१९ मा सकिएको बताइन् ।
पटक पटकको अनुगमन र नजिताहरुको मूल्याङ्कन पश्चात पानी पिउनका लागि पूर्ण रुपमा सुरक्षित र गुणस्तर भएपछि मात्रै सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको उनको भनाई छ । खानेपानीको मुहान वरिपरी संरक्षणको आवश्यकता, पाइपलाइनहरु फुटेर पानी दूषित हुने जोखिम, रिजर्भ ट्याङ्की वरिपरी सरसफाइको आवश्यकता, धाराहरु सफाइको आवश्यकता देखिएकाले गाउँपालिकाको ध्यानाकर्षण गराइएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने
३९ लाख खर्चेर लुक्सीपारमा खानेपानी आयोजना निर्माण
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
सिमकोटमा खानेपानीको समस्या
उपत्यकामा खानेपानी वितरण गर्न बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण सम्पन्न
कलुवापुरमा खानेपानी समस्या हट्यो