पहाडी क्षेत्रमा धुवाँको ठूलो मुस्लो देखिएपछि...

सफल खबर संवाददाता

बुधबार, ०९ पुस २०७६, १४ : ०८
पहाडी क्षेत्रमा धुवाँको ठूलो मुस्लो देखिएपछि...

हेटौंडा । मकवानपुरगढीको सुकौरा र बकैया १२ ठिङ्गनको सिमानामा धुवाँको ठूलो मुस्लो देखिएपछि प्रहरी परिचालित भएको छ । स्थानीयबासीले जहाजरहेलिकोप्टर दुर्घटना आशंका गरेपछि प्रहरी त्यहाँ परिचालित भएको हो । 
जहाज दुर्घटना भएको आशंका गाउँलेले गरेका थिए, तर मध्यान्ह १२ बजे देखिएको उक्त धुवाँको मुस्लो जहाज दुर्घटनाबाट नभइ डढेलोबाट देखिएको प्रहरीको भनाइ छ ।  गाउँलेले जहाज दुर्घटनाको अनुमान गरेपछि प्रहरी चौकी चौघडा र ठिंगनबाट उक्त स्थानतर्फ पुगेको टोलीले धुवाँको मुस्लो जंगलमा लागेको डढेलोबाट निस्किएको पत्ता लगाएको छ।  
प्रहरीलाई स्थानीयबासी नेत्र कार्कीले दिएको जानकारी अनुसार डढेलो लागेर आगोसहित धुवाँको मुस्लो देखिएको हो । प्रहरी चौकी चौघडा, र ठिंगनबाट डँढेलो लागेको स्थानमा प्रहरी गइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए । 
बतासे डाँडामा स्थानीयसमेत ठूलो संख्यामा जम्मा भएका छन् । त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोलरले सबै विमान सम्पर्कमा रहेकाले दुर्घटना नभएको जानकारी दिएको छ । प्रहरीले संयमता अपनाउन अनुरोध गर्दै कुनै दुर्घटना नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस