अण्डा उत्पादक संघले भन्यो– बिनाकारण पक्राउ परेका किसानलाई रिहाइ गर

सफल खबर संवाददाता

सोमबार, ३० मंसिर २०७६, ११ : ४८
अण्डा उत्पादक संघले भन्यो– बिनाकारण पक्राउ परेका किसानलाई रिहाइ गर

चितवन । नेपाल अण्डा उत्पादक संघले बिनाकारण पक्राउ परेका पाँच जना किसानको अविलम्ब रिहाइको माग गरेको छ । संघले आज भरतपुरमा पत्रकार सम्मेलन गरी मंसिर २८ गते किसानमाथि भएको धरपकड र पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल रिहाइ गर्न माग गरेको हो ।

संघका अध्यक्ष शिवराम केसीले पत्रकार सम्मेलनमा पक्राउ परेका अण्डा उत्पादक किसानहरु भरतपुर ६ का गीतानगरका प्रकाश खतिवडा, भरतपुर २३ जगतपुरका आनन्द मास्के, कालिका ६ का रामहरि केसी, कालिका ६ का नै दिपेश्वर केसी, भरतपुर–१४ का राजेन्द्र साँखीलाई तत्काल रिहाइ नगरे जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने चेतावनी दिए । उनले नाटकीय ढंगबाट अभद्र व्यवहारको मुद्दा लगाइ किसानलाई फसाउने षडयन्त्र भएको दावी गरे । 

यस्तो थियो घटना 

यही कार्तिक २१ गते अण्डाको मूल्य निर्धारणको लागि भरतपुरमा अण्डा उत्पादक संघ, किसान र अण्डा सप्लायर्सबीच त्रिपक्षीय भेला सम्पन्न भयो । भेलाले एक क्रेट अण्डाको मूल्य २७५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको थियो । मंसिर १५ सम्म यो मूल्य कायम भएको अण्डा उत्पादक संघका अध्यक्ष केसी बताउँछन् । 

अचानक अण्डाको मूल्यमा गिरावट आएपछि संघको एक टोली अनुगमनमा निस्कियो । अध्यक्ष केसीका अनुसार अण्डाको मूल्य २७५ बाट २७० रुपैयाँमा झारियो । मिडियम अण्डाको मूल्य नै राखिएन । 

‘किसानले उत्पादन गरेको अण्डाको मूल्य निर्धारण अरुले गर्ने हो कि किसानले गर्न पाउने हो ? अध्यक्ष केसीले प्रश्न गरे । सप्लायर्स र संघको अण्डाको मूल्यमा विवादपछि मंसिर २६ गते प्रमुख जिल्ला अधिकारीको निर्देशनमा बैठक बोलाइयो ।

‘सप्लायर्सहरु बैठकमा उपस्थित नभई अनाधिकृत रुपमा एकलौटी अण्डाको मूल्य निर्धारण गरे’ अध्यक्ष केसीले भने, ‘मंसिर २७ गते सप्लायर्सहरुको बैठक बस्यो, अगुवा किसानहरु बैठकमा पुगेर आफूखुसी मूल्य निर्धारण नगर भन्दा केही भनाभन भयो । त्यही भनाभनको विषयलाई लिएर नाटकीय ढंगले हाम्रा किसान साथीहरुलाई अभद्र व्यवहारको मुद्दा लगाई पक्राउ गर्ने काम भएको छ ।’

अध्यक्ष केसीले पत्रकार सम्मेलनमा किसानहरु सप्लायर्सको बैठकमा पुगेर कुनै किसिमको तोडफोड र अभद्र व्यवहार नगरेको दावी गर्दै भने, ‘किसानलाई बिनाकारण पक्राउ गरेकोमा अविलम्ब रिहाइको माग गर्दछौँ ।’

बैठकमा तोडफोड भयो 
कुखुरा व्यवसायी मञ्चका सचिव रामलाल भुसालले धेरैको संख्यामा आएको समूहले मञ्चको कार्यालयमा तोडफोड भएको बताए । त्यतिबेला नेपाल दाना अण्डा कुखुरा व्यवसायी संघको बैठक मञ्चको  कार्यालयमा बसेको थियो । ‘तोडफोड भए नभएको त प्रहरीको मुचुल्का हेरेपछि थाहा हुन्छ’ उनले भने ।

बाहिरी जिल्लामा अण्डाको मूल्य सस्तो र यहाँको अण्डाको मूल्य बढी हुँदा बजारमा यहाँको अण्डा जान नसकेपछि अण्डाको मूल्य घट्न गएको सचिव भुसालले बताए । किसानलाई घाटामा पार्ने कुनै उद्देश्य नभएको र हाल मूल्य एक क्रेट अण्डाको २७० रुपैया रहेको बताए ।

उनले भने, ‘घटेर २५० मा पुगेको थियो, घटना भएको दिन २७० भयो, किसानलाई घाटामा पारेर सप्लार्यस मोटाउँदैनन्, किसान घाटामा जानु भनेको हामी पनि घाटामा पर्नु हो ।’


 
 

प्रतिक्रिया दिनुहोस