काठमाडौं । पछिल्लो समय सर्वसाधारणको अकालमै ज्यान जाने गरी ठूला सडक दुर्घटना बढेर गएको छ । सिन्धुपाल्चोकमा आइतबार बस दुर्घटना १५ जनाको ज्यान गयो । त्यस्तै, मंसिर दोस्रो साता अर्घाखाँचीमा बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । गत कात्तिक तेस्रो साता सिन्धुपाल्चोककै सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका थिए ।
गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने हरेक दिन सरदर ६÷७ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको थियो । चालू आर्थिक वर्षको अहिलेसम्मको तथ्यांक पल्टाउने हो भने यो संख्या बढेर दोब्बर बढी हुने अवस्था आएको छ । अहिले सडक दृर्घटनाबाट दैनिक १० बढीको अकालमा मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । यसरी दिनदिनै हुने सडक दुर्घटनाबारे महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठ भन्छन्, ‘सडक बाटो र मौसमको अवस्था, गाडी र गाडी चालकको अवस्था, गाडीको क्षमता र गाडीको गतिको कारण दुर्घटना हुने हो । ठाउँअनुसार यिनै कारणले दुर्घटनामा भूमिका खेलिरहेको हुन्छ ।’
सवारी दुर्घटनामा सरकार र व्यवसायीबीच आरोप–प्रत्यारोप लाग्ने गरेको छ । सरकारले व्यवसायी र चालकलाई दोष दिने गरेको पाइन्छ । व्यवसायी भने सरकारले समयमै बाटो मर्मत सम्भार नगर्दा दुर्घटना निम्तने गरेको गुनासो गर्छन् । सरकारले सडकलाई संवेदनशील क्षेत्र मानेर भरपर्दो, सुरक्षित सडक र सवारी बनाउने विशेष ठोस कदम अघि सार्न चुक्दा बढी दुर्घटना हुने गरेको पाइन्छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले सरकारले सडक मर्मत सम्भारमा ध्यान नदिँदा दुर्घटना बढेको बताउँछन् । ‘पछिल्ला ठूला दुर्घटना सबै ग्रामीण भेगका कच्ची सडकमा भएका छन्, सरकारले सडक मर्मत सम्भार तथा व्यवस्थित नगर्दा दुर्घटना बढेको हो,’ उनले राजधानीसँग भने ।
हाल देशभर सडक खन्ने होडबाजी नै चलेको छ तर भत्काइएको सडक महिनौंसम्म अलपत्र अवस्थामा छन् । सरकारले सबै सडक तथा राजमार्ग नियमित रूपमा कालोपत्रे गर्न तथा खाल्टाखुल्टी पुर्न सकेको छैन । यातायात क्षेत्रका विज्ञका अनुसार सरकारले सडक सुरक्षामा चासो नदिँदा नै दुर्घटना निम्तने गरेको छ । सुरक्षामा केन्द्रित भई व्यवस्थित तरिकाले सडकको जाँच गर्ने सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट)लाई नेपालमा महŒव नै दिइएको छैन । १० प्रतिशत सडकको पनि रोड सेफ्टी अडिट गरिएको पाइँदैन ।
स्थानीय तहहरूले ठूलो संख्यामा सडक निर्माण गरिरहेका छन् । ती सडक इन्जिनियरिङ डिजाइनबिना नै निर्माण हुँदा त्यसले पनि दुर्घटनालाई निम्तो दिइरहेको विज्ञहरू बताउँछन् । सडक विभागका निर्देशक तथा प्रवक्ता शिवहरि घिमिरेले स्थानीय तहमा इन्जिनियरिङ डिजाइनबिना नै जथाभावी सडक निर्माण गरिनुले कुनै पनि समयमा मानवीय दुर्घटना निम्त्याउने बताउँछन् । अध्ययनले भने चालकको लापरबाहीका कारण बढी मात्रामा सडक दुर्घटना हुने गरेको देखाएको छ । चालकले लापरबाही गरेर सवारी हाँक्ने, जथाभावी ओभरटेक गर्ने, अति तीव्र गतिमा हाँक्ने, मादकपदार्थ सेवन गरेर र गाडी ओभरलोड गरी चलाउनाले बढी दुर्घटना हुने गरेको विभिन्न अध्ययनले औंल्याएको छ ।
यसअघि सिन्धुपाल्चोकमै बस दुर्घटना हुँदा १७ को ज्यान जाँदा ४६ जना घाइते भएका थिए । त्यसबाट क्षमताभन्दा बढी यात्रु बसमा चढाउँदा दुर्घटना भएको देखिएको छ । ट्राफिक प्रहरीले पनि क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कडा कारबाही गर्न नसक्दा त्यसले पनि दुर्घटनामा बढावा दिने गरेको पाइन्छ । विज्ञहरू गाडी मर्मत नगरिनु र चालकलाई सचेत नगराउनु पनि दुर्घटनाको कारण भएको बताउँछन् । २० वर्ष अगाडिका गाडी दर्ता हेरफेर र नामसरी गर्न नपाउने व्यवस्था २०५६ मा गरे पनि यसको कार्यान्वयन फितलो छ । यसका कारण पनि दुर्घटना हुने गरेको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मोटरसाइकल खोलामा खस्दा २ जनाको मृत्यु
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते