सिमकोट । हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहिबार बिहान ६ बजेबाट हिमपात शुरु भएको हो । हिमपात हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान प्रभावित भएको छ ।
हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ । हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् ।
हिमपातका कारण चिसो अत्यधिक बढेको जनजीवन कष्टकर बन्दै गएको छ । उत्तरी नाम्खा गाउँपालिकामा सदरमुकामभन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यहाँको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेको छ । हिमपातले बिहानी कक्षा लिँदै आएका कैलाश बोर्डिङ र हिमाली बोर्डिङका विद्यार्थीलाई समस्या बनाएको कैलाश बोर्डिङका प्रधानाध्यापक छवाङ लामाले बताए ।
दोस्रो पटक हिमापात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको सर्केगाड गाउँपालिकाका फागुने महतराले बताए । हिमपातका कारण एक गाउँबाट अर्काे गाउँसम्मको आवतजावत रोकिएको छ । सदरमुकाममा चहलपहल न्यून छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मुस्ताङमा आज पनि भारी हिमपात
गोरखामा हिमपात, मनास्लु भ्रमणमा गएका पर्यटक प्रभावित
हिमपातले न्यालु सडक बन्द
हुम्लाको उच्च भेगमा हिमपात, वर्षाले उडान अवरुद्ध
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
चैतमा भएको हिमपात र वर्षाले किसानलाई राहत