सिमकोट । हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहिबार बिहान ६ बजेबाट हिमपात शुरु भएको हो । हिमपात हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान प्रभावित भएको छ ।
हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ । हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् ।
हिमपातका कारण चिसो अत्यधिक बढेको जनजीवन कष्टकर बन्दै गएको छ । उत्तरी नाम्खा गाउँपालिकामा सदरमुकामभन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यहाँको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेको छ । हिमपातले बिहानी कक्षा लिँदै आएका कैलाश बोर्डिङ र हिमाली बोर्डिङका विद्यार्थीलाई समस्या बनाएको कैलाश बोर्डिङका प्रधानाध्यापक छवाङ लामाले बताए ।
दोस्रो पटक हिमापात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको सर्केगाड गाउँपालिकाका फागुने महतराले बताए । हिमपातका कारण एक गाउँबाट अर्काे गाउँसम्मको आवतजावत रोकिएको छ । सदरमुकाममा चहलपहल न्यून छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
रुकुम पूर्वमा हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध
कर्णालीमा हिमपात सुरु
पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात
मुस्ताङमा आज पनि भारी हिमपात