बैठक विवादमुक्त बनाउन प्रचण्डको कोसिस

पत्रपत्रिकाबाट

बुधबार, २५ मंसिर २०७६, ०६ : ४४
बैठक विवादमुक्त बनाउन प्रचण्डको  कोसिस

काठमाडौँ  । कार्यकारी अध्यक्षको भूमिका पाएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी बैठक, निर्णय र पद्धतिमाथि सकेसम्म कम प्रश्न उठुन् भनेर सतर्कता अपनाउन थालेका छन् ।  विगतमा प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षता गरेका बैठक भन्दा केही फराकिलो प्रक्रिया अपनाएर उनले आफ्नो अध्यक्षतामा बसेका बैठकलाई विवादमुक्त बनाउने कोसिस गरेका छन्।यसका लागि दाहालले बैठक पार्टी कार्यालयमा बसाउने, निर्णयलाई सर्वसम्मत गराउने र निर्णय अगाडि शीर्ष नेताबीच धेरैभन्दा धेरै परामर्श गर्ने रणनीति अख्तियार गरेका छन्।

कार्यकारी जिम्मेवारीपछि दाहालले सुरु गरेको अभ्यास बैठक र निर्णयमाथि कम प्रश्न उठुन भन्नेतिर केन्द्रित देखिएको छ। र, उनले बोलाएका सचिवालयका दुई बैठकमा उनी धेरै नै सर्तक देखिएका छन्।यद्यपी कार्यकारी भूमिका पाउनु अगाडि बोलाएको एक बैठकमा पनि दाहालले बैठकलाई विवादमुक्त र निर्णय सर्वसम्म बनाउने कोसिस गरेका थिए। भदौ ९ मा पनि कार्यकारी भूमिका नहुँदै दाहालको अध्यक्षमा सचिवालय बैठक बसेको थियो। मंसिर ४ गतेको नेकपाको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतमा सरकारको काममा केन्द्रित हुने र अध्यक्ष दाहाल कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने, आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन दाहालले गर्ने निर्णय लिएको थियो। त्यसपछि दाहालले कार्यकारी अध्यक्षको हैसियतमा मंसिर १८ र २३ गतेको सचिवालय बैठकको अध्यक्षता गरेका छन्।

बैठक र निर्णयलाई विवादमुक्त बनाउन दाहालले अपनाएको सतर्कता र देखाएको कोसिसलाई नेकपाका नेताहरुले पनि सकरात्मक र थप हेर्न पर्ने भनेर टिप्पणी गरेका छन्। ‘पार्टीलाई विधिमा चलाउनुपर्छ भनेर कुरा उठिराखेको छ। कुरा उठिसकेपछि अध्यक्षद्वयको कार्यविभाजन पनि त्यही विधि अनुरुपकै हो,’ दाहाल निकट मानिने नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘पार्टीलाई विधिमा चलाउन गृहकार्य गर्ने, एजेण्डाहरु तयार गरेर प्रस्तुत गर्नेतर्फ छलफल भइरहेको छ। अहिले डुंगाको मुख सोझिएको जस्तो देखिन्छ। तर पूरै सोझिएको छैन। बाँकी परिणामले देखाउला।’

माधवकुमार नेपाल निकट मानिने अर्का स्थायी कमिटी सदस्य बेदुराम भुसालले अरु केही समय पर्खनुपर्ने बताए। ‘विगतमा पनि उहाँहरु एक दुई जना बसेर एजेण्डा तय गर्नुहुन्थ्यो र सचिवालयबाट निर्णय गराउनु हुन्थ्यो। अहिले पनि त्यस्तै देखिएको छ,’ भुसालले भने,’ ‘पार्टी परिचालित हुने भनेको दुई चार जना नेता परिचालित हुने हैन। पार्टीका सम्पूर्ण सदस्यहरुलाई परिचालित गर्ने मुख्य कुरा हो। त्यस ढंगले अझै अगाडि बढेको महसुस मैले गरेको छैन। यसका लागि अरु केही समय हेर्नुपर्छ।’ ‘दाहालको यो कोशिष दुई अध्यक्षबीच थप तित्तता नहोस् भन्ने सतर्कता हो।’ नेकपाका एक केन्द्रिय सदस्यको बुझाई छ।

दाहालले गरेका कोसिस

२०७५ जेठ ३ मा पार्टी एकता भएपछिका १८ महिनामा नेकपाको नौ सदस्यीय सचिवालयका दर्जनौं बैठक बसे। तर, दाहालले आफ्नो अध्यक्षतामा बसेका तीन बैठकलाई विगतका भन्दा केही भए पनि फरक देखाउने कोसिस गरेका छन्। ‘मुख्य नेतृत्व बसेर बैठक र एजेण्डा तय गर्नुहुन्थ्यो, बैठकमा पर्याप्त छलफल हुँदैनथ्यो। तर, अहिले केही परिवर्तन जस्तो देखिएको छ,’ सचिवालयका एक नेता भन्छन् ‘बैठक अघि अन्य नेताहरुसँग पनि परामर्श गर्ने कोशिष उहाँ (दाहाल)ले गर्नुभएको छ। बैठक पार्टी कार्यालयमा बस्न थालेको छ। यस्तो अभ्यास हिजो पनि आवश्यक थियो। आज र भोली पनि आवश्यक छ।’ प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएका बेला दाहालले भदौ ९ गते सचिवालय बैठक बसालेका थिए। पार्टी एकतापछि दाहालको अध्यक्षतामा बसेकोे यो पहिलो सचिवालयका बैठक थियो। त्यो बैठकले केही महत्वपूर्ण निर्णय गरेको थियो।

त्यसपछि दाहाले मंसिर १८ र २३ गते सचिवालयको बैठक बसाले। १८ गतेको बैठक बस्दा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि आरामका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर थिए। त्यसको अर्को दिन प्रधानमन्त्री ओली डिस्चार्ज भएका थिए। मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियापछि बालुवाटार फर्केका ओली मंसिर २३ गतेको पार्टी सचिवालय बैठकमा अनुपस्थित रहे। दाहालले ओलीसँगसमेत परामर्श गरेर तथा उनीसाग सहमति जुटाएर बैठकका निर्णय गराएका छन्।

दाहालको अध्यक्षतामा बसेका यी तीन सचिवालय बैठकको पहिलो फरक पक्ष थियो–बैठक स्थल। ओलीको अध्यक्षतामा बसेका सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका छन्। तर, दाहालले तीन वटै बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसालेका छन्। किनकी पार्टीका बैठक पार्टीका कार्यालयमा हुनुपर्ने माग नेकपामा उठ्दै आएको थियो। गत मंसिरमा पार्टी बैठक समयमा सुरु नभएको र पार्टी कार्यालयमा बैठक नबोलाएको भन्दै सचिवालयका चार नेताले बैठक बहिस्कार गरेर बालुवाटारबाट निस्केका थिए।
नेकपाका धेरै बैठक बालुवाटार बसेको भनेर विपक्षी कांग्रेसलेसमेत आलोचना गरेको थियो। यसअघि सचिवालयका बैठक ओलीले बालुवाटारमा बोलाए पनि स्थायी कमिटी बैठक भने धुम्बाराहीमै बसेको थियो।

दाहालले कार्यकारी भूमिका पाएलगत्तै पालैपालो तत्कालीन एमालको केन्द्रिय कार्यालय धुम्बाराही र तत्कालीन माओवादीको केन्द्रिय कार्यालय पेरिसडाँडामा बैठक बोलाउने बताएका थिए। धुम्बाराही र पेरिसडाँडा दुवैतिर ओली र दाहालका भिन्दाभिन्दै कार्यकक्ष छन्। दाहाले पेरिसडाँडामा भने अझै बैठक बोलाएका छैनन्। दाहालले बोलाएका तीन सचिवालय बैठकमा अर्को फरक पक्ष –सबै निर्णय सर्वसम्मत भएका छन्। दाहाल अध्यक्षताका तीन बैठकले गरेका १५ निर्णय सर्वसम्मतिले भएका छन्। जबकि यस अगाडिका केही सचिवालयका केही निर्णयमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले लिखित रुपमै फरक मत राखेका थिए।

नेपालले २०७५ असोज ५ मा प्रदेश इन्चार्जको छनौट, २०७६ भदौ ३ मा वरियता घटुवा, जनवर्गीय संगठन र विभागको नेतृत्व चयन तथा २०७६ कार्तिक २८ मा प्रदेश प्रमुखको चयन गर्ने पार्टी निर्णयमा लिखित फरक मत राखेका थिए। यसबाहेक दाहालले अध्यक्षता गरेको सचिवालय बैठकमा अर्को फरक दृश्य थियो– परामर्श। बैठक अगाडि दाहालले अर्का अध्यक्ष ओलीबाहेक पार्टीका अन्य शीर्ष नेताहरुसँग पनि भेट गरी परामर्श गर्ने गरेका छन्। यद्यपी यस्तो परामर्श ओलीले खास गरेर दाहाल, इश्वर पोखरेल र महासचिव विष्णु पौडेलसँग गर्थे।
तर, दाहालले परामर्शको घेरा अलि फराकिलो बनाउने प्रयास गरेका छन्।

सोमबारको बैठकका लागि दाहालले आइतबार ओलीसँग दुई घण्टा बालुवाटारमा कुराकानी गरेका थिए। यसबाहेक उनले सचिवालयका अन्य सदस्यहरु माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेललगायतका नेताहरुसँग आफ्नै निवासमा छलफल गरेका थिए। नेकपाको पछिल्लो निर्णय अनुसार मंसिर २७ मा सचिवालय र मंसिर २९ मा स्थायी कमिटीको बैठक आह्वान गरेको छ। स्थायी कमिटीको बैठक झण्डै एक वर्षपछि बस्न लागेको छ। यसका लागि पनि दाहालले नेताहरुसँग परामर्श गरिरहेको उनको सचिवालयले जनाएको छ। यी दुवै बैठकको पनि अध्यक्षता दाहालले नै गर्ने सम्भावना छ। यद्यपी ओलीले चाहेमा सहमति अनुसार बैठकको अध्यक्षता गर्न सक्ने नेकपाको निर्णय छ। कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस