दशरथ रंगशालामा टिकट माग्न आउनेहरुलाई प्रहरीको लाठी चार्ज, पत्रकार पनि घाइते

सफल खबर संवाददाता

मंगलबार, २४ मंसिर २०७६, १३ : ०६
दशरथ रंगशालामा टिकट माग्न आउनेहरुलाई प्रहरीको लाठी चार्ज, पत्रकार पनि घाइते

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मङ्गलबार हुने पुरुष फुटबलको फाइनल खेलको टिकटका विषयमा विवाद हुँदा प्रहरीले दशरथ रंगशालामा लाठी चार्ज गरेको छ । टिकटका लागि रङ्गशाला भित्र छिर्न खोज्दा प्रहरी र सर्वसाधारणबीच विवाद भएपछि प्रहरीले कुटपिट गरेको हो ।

रङ्गशाला अगाडि रहेको ब्लुक्रस अस्पताल अगाडि प्रहरीले कुटपिट गरेको दृष्य क्यामेरामा कैद गर्न खोज्ने सञ्चारकर्मीमाथि पनि प्रहरीले हातपात गरेको छ । प्रहरीको लाठी लागेर नागरिक दैनिकका पत्रकार सुमन चापागाईं पनि घाइते भएका छन् ।

काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीका अनुसार टिकट छैन भन्दा केही युवाहरू होहल्ला गर्दै  आक्रोशित रुपमा आएपछि भीड नियन्त्रण गर्न प्रहरीले ठेलठाल गरेको हो । ‘त्यही क्रममा क्रममा पत्रकारलाई पनि लागेको हुन सक्छ’ उनले भने ।

आज १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । 

प्रतिक्रिया दिनुहोस