कुस्तीमा भारतले कुल १४ स्वर्ण पदक जित्यो

सफल खबर संवाददाता

सोमबार, २३ मंसिर २०७६, २१ : ४२
कुस्तीमा भारतले कुल १४ स्वर्ण पदक जित्यो

काठमाडौ । सागको कुस्तीमा भारतीय खेलाडीले आफ्नो वर्चश्व कायम गरेका छन् । चार दिनसम्म चलेर सोमबार सकिएको कुस्तीमा कुल १४ स्वर्ण पदक जित्दै भारत पहिलो भयो । पहिलो, दोस्रो र तेस्रो दिन चार/चार स्वर्ण जितेको भारतले प्रतियोगिताको अन्तिम दिन पनि दुई स्वर्ण पदक हात पा¥यो ।

अन्तिम दिन सोमबार दुई स्वर्ण पदकका लागि खेल भएको थियो । महिलातर्फ ६८ केजी तौलसमूहमा भारतकी अनिताले स्वर्ण र       श्रीलंकाकी मालाले रजत पदक जिते । उक्त स्पर्धामा बंगलादेशकी रोइतिथीले कांस्य पदक हात पारिन् । यसैगरी पुरुषतर्फ ७४ केजी तौलसमूहमा भारतका गौरव बालियानले स्वर्ण पदक जिते । उक्त स्पर्धामा       श्रीलंकाका लकमलले रजत र बंगलादेशका सेपोन सेखले कांस्य पदक पाए ।

कुस्तीमा पाकिस्तान दोस्रो भयो । पाकिस्तानले प्रतियोगितामा दुई स्वर्ण पदक जित्यो । पाकिस्तानले दोस्रो दिन दुई र तेस्रो दिन एक स्वर्ण पदक पदक जितेको थियो । चौथो भएको नेपालले एक स्वर्ण पदक हात पा¥यो । नेपालका लागि महिलातर्फ संगीता धामीले स्वर्ण जितेकी थिइन् । संगीताले ५५ केजी तौलसमूहको स्पर्धामा बंगलादेशकी सारकर रिमीलाई ४–१ ले हराउँदै स्वर्ण चुमेकी हुन् । सागको कुस्तीमा नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो ।

नेपालले कुस्तीमा दुई रजत र दुई कांस्य पदक पनि जित्यो । महिला ६५ केजी तौलसमूहमा नेपालकी सुशीला चन्दले रजत पदक जितेकी थिइन् । महिलाकै ७२ केजी तौलसमूहमा नेपालकी निर्मला जाग्रीले रजत जितेकी थिइन् । पुरुष ९२ केजी तौलसमूहमा नेपालका सुमिर साहले कांस्य जितेका थिए । महिला ५९ केजी तौलसमूहमा नेपालकी कोमल खत्रीले कांस्य हात पारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस