प्रधानमन्त्री केपी ओली के नयाँ कदम चाल्दैछन् ?

सफल खबर संवाददाता

शुक्रबार, २० मंसिर २०७६, ०९ : ०१
प्रधानमन्त्री केपी ओली के नयाँ कदम चाल्दैछन् ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली हिजो (बिहिबार) अस्पतालवाट डिस्चार्ज भए । तर डिस्चार्ज हुनु अगाडी राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीसँग अस्पताल पुगी गरेको आधा घण्टा लामो भेटवार्ताले फेरि राजनीतिमा नयाँ तरंग ल्याउन थालेको छ । अस्पताल भर्ना भएका प्रधानमन्त्रीसँग राष्ट्रपतिले सँगै चिकित्सक टोली समेत राखेर किन बिफ्रिङ लिन चाहिनन् ? किन उनले ओलीसँग एक्लै भेट गरिन् ? त्यो पनि एकपटक होइन, १० दिनको बीचमा दुई–दुई पटक ।

शितल निवासको बन्द खोपीवाट नेकपाको आन्तरिक पार्टी जीवन र सरकारका हरेक जसो राजनीतिक नियुक्ति, सरुवा बढुवा सम्ममा अनपेक्षित चासो राख्दै आएकी राष्ट्रपति भण्डारी आफैं कार्यकारी झै प्रस्तुत हुन थालिरहेकी छिन् । केही दिन अगाडी मात्रै लेखक तथा विश्लेषक सौरभले ओली पछिको ‘प्रधानमन्त्री’ राष्ट्रपति विद्या भण्डारी बन्ने राजनीतिक प्रक्षेपण गरेका थिए । यो सुन्दा अनपेक्षित लागेपनि राष्ट्रपतिले देखाएको सक्रियता र ओलीले चाहेको अब्यक्त चाहनाले कतै राष्ट्रपति सक्रिय हुने गरी कुनै गेम प्लानिङ त हुदंैछैन ? राजनीतिमा यो विषय अहिले निकै चर्चामा छ ।

अब्यक्त नभएपनि प्रधानमन्त्री ओलीलाई लागेको छ – अब आफुले सक्रिय राजनीतिक जीवन धेरै दिन टिकाउन सक्दिन । उनलाई पत्नी राधिका शाक्य देखि चिकित्सकहरु सम्मले धेरै सक्रिय नहुन, आराम गर्न सुझाई अस्पतालवाट डिस्चार्ज गरेका छन् । ओली आगामी राजनीतिक गृहकार्यका लागि जुटिरहेका छन् । ओलीलाई नजिकबाट चिन्नेहरु भन्छन्,– उनले राजनीतिमा त्यक्तिकै विश्राम लिने छैनन् । आफनो लिगेसी हुने गरी उत्तराधिकारी पार्टी र सरकारमा खोजी रहेका छन् । त्यो उत्तराधिकारी उनको को होला ? सवैले अनुमान गर्लान्, अब उनले पार्टी अर्का अध्यक्ष प्रचण्डलाई दिन सक्छन् ।

नेकपाको ४ मंसिरको सचिवालय बैठकले सरकार ओली र पार्टी प्रचण्डले हाँक्ने गरी दुई अध्यक्षको कार्यविभाजन गरे  अनुसार नै प्रचण्डलाई पार्टी जिम्मा लगाउँलान् । तर ओली निकट नेताहरु र राजनीतिक विश्लेषकहरु त्यस्तो ठान्दैनन् । उनले न प्रचण्डलाई पार्टी र सरकारको मोर्चा सुम्पन्छन् , न त वरिष्ठ नेता माधव नेपाललाई नै । उनले अहिले पार्टी राजनीतिमै रहेका आफनो निकट नेताहरु इश्वर पोखरेल, सुभास नेम्वाङ देखि विष्णु पौडेल सम्मलाई उत्तराधिकारीकै रुपमा देख्न सकिरहेका छैनन् ।

उनी आफु पछिको नेता संबैधानिक राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै देखिरहेका छन् । त्यही भएर उनीहरुले यो विषयमा विगत केही महिना देखि गुप्त रुपमा योजना समेत बनाईसकेको विश्लेषण राजनीतिमा हुन थालेको छ । संबैधानिक राष्ट्रपति भईसकेकी विद्या कसरी ओली पछिको कार्यकारी हुन्छिन् ? यसका बारेमा पनि अहिले अनेक बहस छन् । ओलीले पूनः मृगौला प्रत्यारोपण गराएपछि उनी चाहेजति सक्रिय हुन सक्दैनन् । शारीरिक थकान, स्वास्थ्य अवस्थाले गर्दा मुलुक हाँक्न सक्ने कार्यकारीका रुपमा धेरै टिक्न सक्दैनन् । ओलीले राजनीतिको आगामी नयाँ कोर्स तयार पार्न थालेको उनलाई जान्ने बझुनेहरु विश्लेषण गर्छन् ।

के हुन सक्छ ओलीका रणनीति ? स्पष्ट छ, जुनकुनै अवस्थामा पनि उनी पार्टी र सरकारको वागडोर अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालको हातमा सुम्पन तयार छैनन् । लेखक सौरभले पनि त्यस्तै संकेत सहितको पछिल्लो राजनीतिक प्रक्षेपण गरिरहेका बेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पनि त्यस्तै विश्लेषण गरेका छन् । कुनै न कुनै रुपमा राष्ट्रपति भण्डारीलाई थप शक्तिशाली बनाउने खेलमा अहिले ओली–राष्ट्रपति बिचको सम्वाद बाक्लिदो छ । अस्पताल पुगि राष्ट्रपति भण्डारीले ओलीसँग एक्लै गरेका सम्वाद पनि त्यसैमा केन्द्रीत रहेको अनुमान गर्न थालिएको छ ।

पार्टी राजनीति र सदस्यता त्यागेर सम्वैधानिक हैसियतमा पुगेका राष्ट्रपति भण्डारी कसरी थप शक्तिशाली भएर कार्यकारी हुन सक्छन् ? यसमा प्रश्न उठेपनि ओलीले त्यसका लागि संविधान संसोधन चाहेको विश्वस्त सुत्र बताउँछ । यसका लागि उनले सामान्य संकेत पार्टीका नेताहरु विष्णु पौडेल, इश्वर पोखरेल लगायत नेताहरुलाई गरिसकेका छन् । उनले गत भदौंमा आफु सिंगापुर उपचारमा जाने बेला देखि नै रणनीति बनाउन थालिसकेका छन् ।

प्रधानमन्त्री ओली संविधान संसोधन गरेर राष्ट्रपति भण्डारीलाई कार्यकारी बनाउने अस्त्रको खोजीमा छन् । पहिले संवैधानिक अंगहरुमा आफु अनुकुल ब्यक्तिलाई नियुक्त गर्ने र संविधान संसोधन गरेर राष्ट्रपति भण्डारीलाई कार्यकारी बनाउने योजनामा प्रधानमन्त्री रहेको हुन सक्ने राजनीतिक विश्लेषकहरुको तर्क देखिन्छ । संविधान संसोधन गरेर संसदवाट निर्वाचित कार्यकारी राष्ट्रपतिको ब्यवस्था ओलीले गराउन सक्छन् । प्रचण्ड देखि उपेन्द्र यादवसम्म र बाबुराम भट्टराईसम्म पनि कार्यकारी राष्ट्रपतिको पक्षमा छन् ।

उपेन्द्रलाई सरकारमा ल्याउने बेलामा संविधान संसोधन गरेर कार्यकारी राष्ट्रपतिको मक्सद कुनै न कुनै रुपमा लुकेको थियो । कार्यकारी राष्ट्रपति जनताबाट निर्वाचित भन्दा पनि संसदबाट निर्वाचित पक्षको भित्री खेलमा कतै ओली र भण्डारी लागेका त होइनन् ? संविधान संसोधन गर्ने, अहिलेकै संसदबाट निर्वाचित कार्यकारी राष्ट्रपतिको ब्यवस्था गर्ने, प्रधानमन्त्रीलाई सेरोमोनियल बनाउने गरी ओली अगाडी जान सक्छन् । अहिलेकै संसदबाट आफुमा रहेको कार्यकारी अधिकार विद्या भण्डारीमा सार्न ओलीले खोज्न सक्छन् ।

आफु सेरेमोनिलय प्रधानमन्त्री बन्ने, कार्यकारी राष्ट्रपति भएपछि पार्टी राजनीतिमा समेत आउन सक्ने र प्रचण्ड र माधव नेपाललाई पनि रोक्न सकिने ठानेर ओलीले त्यो जोखिम उठाउन सक्ने नेकपाका नेताहरुको पनि बुझाई देखिन थालेको छ । यसो हुदाँ नेकपाभित्र नयाँ गम्भिर संकट आउन सक्छ । ओली चुप बसेका छैनन् । उनले चाल्ने राजनीतिक कदम कुनै न कुनै रुपमा राष्ट्रपति भण्डारीलाई नै अगाडी वढाउने गुप्त योजनाभित्र रहेको विश्लेषण अहिले हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस