काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चीनका राजदूत छन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ। बिहीबार मन्त्रालयमा भएको भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेसी-रसुवागढी सडक तथा सीमा पुल निर्माण लगायतका विषयमा छलफल भएको हो। भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा चिनियाँ पक्षले चासो देखाएको छ। सीमापुल भएको स्थान जतिसक्दो छिटो अस्थायी पुल बनाउन चिनियाँ पक्षबाट प्रतिबद्धता आएको छ।
यसैगरी चिनियाँ सहयोगमा सञ्चालित अन्य आयोजनाहरू टोखा–छहरे सुरुङमार्ग, हिल्सा-सिमिकोट सडक, खाँदबारी-किमाथांका सडक लगायतका विषयमा पनि छलफल भएको थियो। छलफलमा राजदूत छनले काठमाडौँ-चक्रपथ दोस्रो खण्ड विस्तारको काम छिट्टै सुरु हुने बताए।
भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोग प्रति धन्यवाद व्यक्त गरे। आगामी दिनमा नेपाल र चीनबीच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरे।
छलफलमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले बाढी क्षतिग्रस्त बनाएको सीमापुल रहेको स्थानमा दसैँअघि नै पुल निर्माण हुने अपेक्षा राखिएको छ। मन्त्री दाहाल, मन्त्रालय एवम् सडक विभागका अधिकारीहरूको बीच फलदायी छलफल भएको सचिव शर्माले बताए।
बाढीले नेपाल–चीनको मुख्य नाका रसुवागढीबाट आवतजावतमा कठिनाइ भएपछि मन्त्री दाहालले त्यस खण्डलाई सुचारु गर्ने विषयमा चासो लिँदै आएका छन्। छलफलमा सडक विभागका महानिर्देशक डा. विजयकुमार जैसी लगायत मन्त्रालय तथा सडक विभागका अधिकारीहरू सहभागी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ साउन २०८२, १६ : २६
लेखकबाट थप