CG Landmark

वध गरिएका राँगा लिन खोज्दा तँछामछाडमा ५० जना घाइते

पत्रपत्रिकाबाट

शुक्रबार, २० मंसिर २०७६, ०७ : ३०
वध गरिएका राँगा लिन खोज्दा तँछामछाडमा  ५० जना घाइते

बारा । गढीमाई मेलामा मंगलबार बलि दिइएका राँगा दलित समुदायले ‘प्रसाद’ का रूपमा लगेका छन् । कान काटिएका केही जिउँदा राँगा सर्वसाधारणले पाल्न लगेका छन् । बलिका दिन चमार र बढै जातिका मानिस बलि दिएका राँगा लिन गढीमाई वधशाला पुगेका थिए । जनजाति र पिछडा वर्गका समुदाय पनि राँगा लिन वधशाला पुगेका थिए ।वध गरिएका राँगा लिन खोज्दा तँछामछाडमा परेर ५० जनाभन्दा बढी घाइते भएका थिए । बलिको मासुलाई व्यवस्थापन गर्न चमार जातिलाई मेला समितिले प्रयोग गर्छ ।

कतिपय चमार जाति स्वस्फुर्त मासुका लागि त्यहाँ पुग्छन् । ‘सयदेखि डेढ सय कान काटिएका राँगा सर्वसाधारणले लगे,’ गढीमाई मेला समितिलाई परिचालन गर्दै आएका महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले भने, ‘बलि दिइएको राँगाको टाउको, छाला, आन्द्रा, भुँडी, गाडिएको छ ।’ बलिको मासु प्रसादका रूपमा खानलाई दलित समुदाय (चमार) ले लगेको उनले बताए ।

Yeti Diistillery Tansen Cement box

बलिको मासु नखान र राँगाको छाला नकाढ्न ‘सिनु बहिष्कार’ समितिले १५ वर्षदेखि अभियान चलाउँदै आएको छ । आफ्नो जातिको आत्म सम्मानमा ठेस पुगिरहेको भन्दै यी चमार जातिका अगुवाले सामाजिक संघसंस्थाको सहयोगमा ‘सिनु’ विरुद्ध अभियान चलाएका हुन् । त्यसलाई बेवास्ता गर्दै चमार समुदायले राँगा लगेका हुन् । सुरुमा दलित नेटवर्क, त्यसपछि ग्रामीण विकास केन्द्र र पछिल्लो समयमा चमार जातिको विशेष संस्थाका रूपमा रहेको ‘गुरु रवि दास धर्म सभा’ ले यो अभियान चलाएका हुन् । यसपालि गढीमाईको ‘सिनु’ बहिष्कार गर्न चमार जातिलाई उर्दी जारी गरिएको थियो । चमार समुदायका अगुवा राजनारायण राम भन्छन्, ‘विस्तारै यो अभियानलाई हाम्रो समुदायले बुझ्छ ।’

महागढीमाई–१, बरियारपुरका चमार जातिका एक अगुवाले ताजा मासु लगेर सुकुटी बनाउने र वर्षभरि खाने गरेको बताए । ‘थोरथोरै बाहिरका नाताकुटुम्बलाई पठाउँछौं,’ उनले भने, ‘बलिको राँगाको मासु न फाहोर हुन्छ न त्यसमा झिंगा लाग्छ ।’ अघिल्लो मेला (२०७१) मा सहजै मासु ल्याउन नपाएर चित्त दुखेको उनले सुनाए ।
बलि हेर्न बन्देज

विश्वनाथ महतो मंगलबार बिहान गढीमाई मन्दिर छेउको वधशालाई फन्को मार्दै भेटिए । ओढेको सल (जाडोमा ओढ्ने चादर) काखीमा च्यापेर वधशालाको कहिले उत्तर त कहिले दक्षिण, घरि पूर्व त घरि पश्चिम उफ्रँदै घण्टौं बिताए । स्वाँस्वाँ गर्दै पर्खालमाथि चढ्दै झर्दा पसिनाले निथ्रुक भिजेका थिए । गढीमाईको दर्शनभन्दा राँगा र त्यसलाई दिइने बलि हेर्न उनको चासो थियो । फेटा गाउँपालिका–१, त्रिवेणीका ५५ वर्षीय विश्वनाथले भने, ‘यस्तो कडा सुरक्षा र जर्बजस्ती कहिल्यै थिएन ।’

महागढीमाई–१, बरियारपुरस्थित गढीमाई मेलामा देशी विदेशी पत्रकार सोमबार रातभर जाग्राम बसे । बास बस्ने गरी बलिको केही दिनअगावै क्यामरा बोकेर वधशाला वरिपरि पुगेका उनीहरूले बलि दिएको फोटो खिच्न पाएनन् । सर्वोच्च अदालतले बलिलाई निरुत्साहित गर्न आदेश दिइसकेको छ । बलिका विषयमा तर्कवितर्क भइरहेका बेला मेला समितिको परामर्शमा वधशाला वरिपरि जान पत्रकारलाई समेत कडाइ गरिएको हो । वधशालाभित्र हुलिएका सबै राँगालाई एकैदिन मार हानिन्छ । भक्तजनले आफ्नो मनोकामना पूरा भएको विश्वासमा स्वस्फुर्त रूपमा त्यहाँ बलि दिन राँगा बुझाउँछन् । मार हान्न मेला समितिबाट ३ सयको हाराहारी व्यक्ति नियुक्त गरिएको हुन्छ ।
बढ्यो बलि

राँगासहितको बलि दिने क्रम बुधबार सकिएको छ । गढीमाईमा यसपालि साढे ८ हजारभन्दा बढी राँगा र अन्नगिन्ती बोकालगायतको बलि दिइएको स्थानीयको भनाइ छ । २०७१ सालको मेलाभन्दा यस वर्ष बढी बलि दिइएको हो । ५ वर्षअघिको मेलामा करिब ५ हजार राँगा बलि दिइएको थियो । त्यो बेला पशु अधिकारकर्मी दबाब र भारतीय अदालतको फैसलाका कारण कम राँगा आएको थियो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस