नारायणगोपालको सम्झनामा विभिन्न कार्यक्रम

रासस

विहीबार, १९ मंसिर २०७६, २० : ४१
नारायणगोपालको सम्झनामा विभिन्न कार्यक्रम

काठमाडौँ । स्वरसम्राट नारायण गोपालको २९औँ स्मृति दिवसमा उहाँको सम्झनामा विभिन्न कार्यक्रम गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले श्रष्टा सम्मान, सांस्कृतिक कार्यक्रम तथा प्रवचन कार्यक्रमको आयोजना गरेको हो । स्मृति दिवसको अवसर पारेर काठमाडौँ नगरपालिकाको सहयोगमा निर्माण हुन लागेको नारायण गोपाल पेमला सुरमय गीत गङ्गाको शिलान्याससमेत गरिएको छ । 

रु ६ करोड ५० लाखको लागत अनुमान गरिएकामा यो वर्ष महानगरपालिकाले तीन करोड विनियोजन गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्नुभयो । कार्यक्रममा महानगर शाक्यले भाषा, कला र संस्कृतिको विकासका लागि महानगरपालिकाले रकम विनियोजन गर्न कन्जुस्याइँ नगर्ने बताउनुभयो ।

“यो वर्ष रु तीन करोड रकमले निर्माण कार्य गुणस्तरीय र प्रभावकारी ढङ्गले पूरा गर्नुहोस्”, उहाँले भन्नुभयो, “बाँकी रकम अर्को वर्ष थप गर्छौँ ।” उहाँले भाषा, कला, संस्कृति र सम्पदालाई पर्यटनसँग जोड्दै व्यावसायिक बन्नुपर्ने धारणा राख्नुभयो । सबै कलाकार सङ्गठित भई आए कलाकारको वृत्ति विकासका लागि महानगरपालिकाले रु एक करोड अक्षयकोष सञ्चालनका लागि विनियोजन गर्ने जानकारी दिनुभयो । 

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले श्रष्टाहरु राष्ट्रका सम्पत्ति भएको भन्दै कलाकारिता क्षेत्रको विकासका लागि स्थानीय तह र सङ्घीय सरकारले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । “नारायण गोपाल र उहाँ जस्ता अन्य सबै कलाकारलाई राज्यले चिन्नुपर्छ”, उहाँले भन्नुभयो, “पुराना कलाकारहरुको सम्मानले नयाँलाई समेत हौसला प्रदान गर्छ ।” 

कोषका महासचिव तथा काठमाडौँ महानगरपालिका– ३ का वडाध्यक्ष दीपक केसीले २०५४ सालमा आफू तत्कालीन गाविस अध्यक्ष हुँदा लैनचौरदेखि हाल नारायण गोपालको शालिक राखिएको क्षेत्रसम्मलाई नारायण गोपालमार्गको रूपमा नामकरण गरेको बताउनुभयो । “मैले शालिक निर्माण र सडक नामकरण गरेपछि एक लेखकले नारायण गोपालले छोरा पाए भनेर लेख लेख्नुभयो”, उहाँले भन्नुभयो, “नारायण गोपालको महत्वलाई उजागर गर्न म शुरुदेखि नै लागिपरेको छु, म आफूलाई सौभाग्यशाली ठान्छु ।” उहाँले तारादेवीको सम्मानका लागि पनि महानगरबाट रु १० लाख अक्षयकोषका लागि विनियोजन गरेको बताउनुभयो । 

यस वर्षको नारायण गोपाल स्मृति सम्मानबाट सङ्गीतकार रञ्जित गजमेर र जगत मर्दन थापालाई सम्मान गरिएको छ । उहाँहरुलाई नगद रु २५ हजार र सम्मानपत्रबाट सम्मानित गरिएको हो । गजमेर अस्वस्थताका कारण देशबाहिर रहनुभएकाले उहाँले पठाएको भिडियो सन्देश कार्यक्रममा प्रसारित गरिएको थियो । थापाले स्वरसम्राट स्मृति सम्मानले आफूलाई थप हौसला प्रदान गरेको बताउनुभयो । उहाँले नारायण गोपालसँग उहाँ राष्ट्रिय नाचघरको महाप्रबन्धक भएपछि मात्र चिनजान भए पनि त्यसपछिको समयले निकटता बढाएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस