असुरक्षित वैदेशिक रोजगार

रोजगारीका लागि विदेश जानेहरुबाट एक वर्षमा सत्तरी करोड ठगी

विहीबार, २५ माघ २०७४, १२ : ४७
रोजगारीका लागि विदेश जानेहरुबाट एक वर्षमा सत्तरी करोड ठगी

चितवन । वैदेशिक रोजगारीमा जाँदा सरकारबाट मान्यता प्राप्त रोजगार व्यवसायी र एजेन्टमार्फत् नजाँदा नेपालीहरु ठगीमा पर्ने गरेका छन् । गत आर्थिक वर्षमा मात्र नेपाली युवा विदेश पठाउने नाममा ६९ करोड ५० लाख ९६ हजार ५

सय रुपैयाँ ठगी भएको भन्दै वैदेशिक रोजगार विभागमा बिगो दाबीसहित २ हजार १ सय ७२ वटा उजुरी परेको थियो । 
विभागका अनुसार बैदेशिक रोजगारीका नाममा संस्थागत (म्यानपावर कम्पनी) भन्दा पनि व्यक्तिगत रुपमा बढी रकम ठगी हुने गरेको छ । उजुरी भने संस्थागत ठगीको बढी संख्यामा पर्ने गरेको छ । वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिएर बिमा गरी जानुपर्छ । यति कुरा थाहा नपाउँदा धेरै नेपालीले विदेशमा पुगेपछि भनेजस्तो काम नपाएर समस्यामा परेका छन् । मान्यताप्राप्त संस्थाभन्दा व्यक्तिगत पहुँचमा विदेश जाँदा सरकारले निर्धारण गरेभन्दा बढी रकम तिर्नुपर्दा उनीहरु ठगिएका हुन् । यसरी व्यक्तिगत सम्पर्कबाट विदेश जाँदा त्यहाँ भनेजस्तो काम नपाएर धोखा पाउनु सामान्य भइसकेको छ ।

गत आर्थिक वर्षमा व्यक्तिगत रुपमा ठगी भएको भन्दै विभागमा ७ सय ४ वटा उजुरी परेका छन् । ती उजुरीमा दाबी भएको रकम भने ४७ करोड ५३ लाख ३४ हजार २ सय ४१ रुपैयाँ छ । संस्थागत रुपमा ठगी भएको भन्दै विभागमा १ हजार ४ सय ६८ वटा उजुरी परेका छन् । ती उजुरीमा २१ करोड ९७ लाख ६२ हजार २ सय ६१ रुपैयाँ रकम ठगी भएको दाबी गरिएको छ । 

विभागमा पर्ने अधिकांश उजुरीमा खाडी र युरोपियन मुलुकमा रोजगारीमा पठाइदिने भनि रकम लिएर बेपत्ता भएको, रोजगारीमा पठाएर अलपत्र पारेको, काम र पारिश्रमिक नपाएको उल्लेख छ । विभागको अनुसन्धान शाखाले गरेको अनुसन्धानले युरोप र अमेरिका पठाइदिने भनेर व्यक्तिगत रुपमा ठगी भइरहेको देखाएको छ । खाडी र अन्य मुलुक पठाएर अलपत्र पार्ने, काम र पारिश्रमिक नदिने गरेको भनि संस्थागत रुपमा परेका उजुरीमा उल्लेख छ ।

ठगीका विविध रुप

माडी नगरपालिकाको बघौडास्थित बाढीपीडित बस्तीका ४० वर्षीय मंगल बोटे एक लाख रुपैयाँ खर्च गरेर ६ वर्षअघि साउदी अरब पुग्नुभयो । आफन्तमार्फत् विदेश पुग्नु भएका बोटेले सरकारले तोकेकोभन्दा ३० हजार रुपैयाँ बढी तिर्नुपर्यो ।

वैदेशिक रोजगारका लागि अनुमति लिएका एजेन्टमार्फत् खाडी मुलुक जाने कामदारसँग ७० हजार रुपैयाँभन्दा बढी लिन नपाइने नियम थियो त्यतिबेला । व्यक्तिगत सम्पर्कमा विदेश जाँदा तोकिएको रकमभन्दा बढी तिर्ने र विदेश पुगेपछि भनेजस्तो काम नपाउने समस्याले सोझा जनता ठगिने र धोखा पाउने क्रम रोकिएको छैन । 

भरतपुर महानगरपालिका–११ निवासी सुरज कुमाल २० वर्षे उमेरमा दुबई जानुभयो । कुमाल पनि व्यक्तिगत सम्पर्कको आधारमा भिसा प्राप्त गरी विदेश जानु भएको थियो । प्रवेशिका परीक्षामा दुई पटकसम्म फेल भएपछि उहाँले विदेश जाने सपना केही वर्षअघि पूरा गर्नुभयो । दुबईस्थित एक होटेलमा पसिना बगाउन पुग्नु भएका सुरजमात्र होइन, धेरै कामदार युवाको सपना विदेश बनेको छ अहिले । 

जेसुकै बहानामा विदेश गएपनि उनीहरु सबैको उद्देश्य वैदेशिक रोजगारीबाट पैसा कमाउनु नै रहेको छ । युवाशक्ति विदेश पलायन भएपछि यसको असर स्वदेशमा देखिन थालेको छ । बढ्दो वैदेशिक रोजगारीले स्वदेशमा श्रम अभावको स्थिति उत्पन्न भएको छ । स्वदेशी श्रम बजारमा वार्षिकरुपमा थपिने चार लाख श्रमशक्तिमध्ये पचहत्तर प्रतिशत वैदेशिक रोजगारीमा जाने गरेका छन् । 

बन्द बाकसमा लाश

वैदेशिक रोजगारमा जानेमध्ये आठ हजार जनाको लाश बाकसमा बन्द भएर नेपाल आइसकेको तथ्यांकले वैदेशिक रोजगारको समस्या विकराल बन्दै गएको संकेत गर्छ । साउदी अरबमामात्रै ४० हजारभन्दा बढी नेपाली जेल परेका छन् । वैदेशिक रोजगारमा गएर अंगभंग भई, दीर्घरोगी भई फर्कनेहरुको संख्या पनि निकै छ । 

विदेश भन्नेबित्तिकै सुखको स्वर्ग सम्झने हाम्रो बानीले हामीलाई नै दुःखमा पुर्याइरहेको छ । वैदेशिक रोजगारमा जाँदा सुरक्षाको सवाललाई प्राथमिकतामा राखेर श्रम स्वीकृति लिई इजाजतप्राप्त म्यानपावर कम्पनीबाट सम्झौतापत्र बनाई जाने गरेमा केही हदसम्म सुरक्षित रहन सकिन्छ । सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी निकाय र संस्थाले विदेश जाने नेपालीलाई सुरक्षा र कानुनबारे राम्रोसँग बुझाउन आवश्यक देखिएको छ । 

विशेषगरी पहाडी जिल्लाबाट खाडी मुलुक जाने नेपालीहरु दलालको फन्दामा परेर विदेशमा निकृष्ट श्रम गर्न बाध्य छन् । अरु कुनै विदेशीले नगर्ने निकृष्ट श्रममा नेपालीलाई लगाउने गरेको पाइन्छ । श्रम स्वीकृति नहुनु, व्यक्तिगत रुपमा पठाउने दलालले विदेश लैजाँदा एउटा काम भन्ने र विदेश पुगेपछि निकृष्ट काममा लगाउने गरेको प्रशस्त भेटिएको वैदेशिक रोजगारमा गएर फर्केकाहरुको अनुभव छ । 

सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित र भरपर्दो बनाउन वैदेशिक रोजगार नीति २०६८ लागू गरेको छ । वैदेशिक रोजगार नीतिमा अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारका अवसरहरुको पहिचान तथा प्रवद्र्धन गर्ने, वैदेशिक रोजगारका प्रक्रियालाई सरल, पारदर्शी, भरपर्दो, व्यवस्थित र सुरक्षित बनाउने, विप्रेषण (रेमिट्यान्स) लाई मानव विकास तथा उत्पादनमूलक क्षेत्रमा अधिक रुपमा परिचालन गर्ने उल्लेख छ । 

वैदेशिक रोजगार नीतिले श्रम तथा यातायात व्यवस्था मन्त्रीको संयोजकत्वमा उच्चस्तरीय वैदेशिक रोजगार समन्वय समिति रहने व्यवस्था गरेको छ । वैदेशिक रोजगारमा जानेहरुले कम्पनी, काम, सुविधा, तलब र शर्त बुझेरमात्र जानुपर्छ । वैदेशिक रोजगारलाई सुधार्न र सुरक्षित बनाउन सम्बन्धित देशहरुसँग श्रम सम्झौता गर्नुपर्छ । सुरक्षाका दृष्टिले संवेदनशील देशहरुमा श्रम सम्झौता पनि नगर्ने र त्यहाँ जान कुनै नेपालीलाई श्रम स्वीकृति पनि नदिने हो भने विदेशमा नेपालीले अकालमा मर्नुपर्ने अवस्थामा कमि आउने थियो ।

प्रतिक्रिया दिनुहोस