उपनिर्वाचन

देशभर मतदान सम्पन्न, कहाँ कति प्रतिशत मतदान भयो ?

सफल खबर संवाददाता

शनिबार, १४ मंसिर २०७६, १९ : ५२
देशभर मतदान सम्पन्न, कहाँ कति प्रतिशत मतदान भयो ?

काठमाडौँ । शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ३७ जिल्लाका ५३७ मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । 

मतदानको क्रममा बागलुङको ज्ञानोदय मा.वि. को कोवाङ केन्द्रमा ९७ वर्षिय गौरा कामत, बैतडीको पुर्चौडी मा.बि. मतदान केन्द्रमा ९९ वर्षिय बिरुवा धानुक र कोहलपुर न.पा. सिद्धार्थ आधारभूत बिद्यालय केन्द्रबाट ससुराको कृया बसेकी ४२ वर्षिया सावित्री सापकोटाले समेत मतदान गरेको शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

आयोगका अनुसार मतदान भइरहेको अवस्थामा कास्की, दाङ, सर्लाही, डोटी र लमजुङ जिल्लामा मतदान केन्द्र नजिक सामान्य घटना भएता पनि यसबाट मतदानमा कुनै असर नपरी मतदाताको उल्लेख्य र उत्साहपूर्ण सहभागिता रहेको थियो ।

प्रतिनिधि सभातर्पm कास्की निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्यतर्पm भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ को १, बागलुङ जिल्ला क्षेत्र नं. २ को २, दाङ जिल्ला निर्वाचन क्षेत्र नं. ३ को २ गरी –३ जना र स्थानीय तहतर्पm धरान उपमहानगरपालिकाको प्रमुख–१, संखुवासभा जिल्ला मकालु गाउपालिकाको अध्यक्ष–१, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष–१, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष–१ गरी गाउँपालिका अध्यक्ष–३ जना, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष–१ र विभिन्न गाउँपालिका तथा नगरपालिकाका वडाअध्यक्ष–४३ गरी जम्मा ५२ रिक्त पदका लागि उपनिर्वाचन सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । 

उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्पm ११, प्रदेश सभा सदस्यतर्पm १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दल प्रतिस्पर्धामा रहेका छन् । उपनिर्वाचनमा प्रतिस्पर्धी ३३७ उम्मेदवारमध्ये राजनीतिक दलतर्पm २५३ र स्वतन्त्र उम्मेदवार ८४ जना रहेका छन् ।

जस मध्ये २५३ पुरुष र ८४ महिला उम्मेदवार छन् । प्रतिनिधि सभा सदस्यतर्पm राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी २१, प्रदेश सभा सदस्यतर्पm राजनीतिक दलका २९ र स्वतन्त्र १४ गरी ४३ र स्थानीय तहका सदस्यतर्पm राजनीतिक दलका २१३ र स्वतन्त्र ६० गरी जम्मा २७३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जना मतदाता रहेकोमा २ लाख ९७ हजार १ सय ३७ जनाले  मतदान गरेको सरदर ६५.४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको थपलियाले जानकारी दिए  । 

प्रतिनिधि सभा सदस्यको निर्वाचन भएको कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६५ प्रतिशत (४६,५७५ मत) प्रदेश सभा सदस्यको निर्वाचन भएको भक्तपुरमा ७० प्रतिशत (३१,६८२ मत), बागलुङमा ६१ प्रतिशत (२१,२९५ मत) र दाङमा ६७ प्रतिशत (४५,७१९ मत) मतदान भएको छ । 

यसैगरी स्थानीय तहका सदस्यतर्पm धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको मतदानमा ५९ प्रतिशत, फाल्गुनन्द गाउँपालिका, मकालु गाउँपालिका, पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको मतदानमा क्रमशः ६६, ६५, ६० प्रतिशत र खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ८५ प्रतिशत मतदान भएको छ । उपनिर्वाचनमा सबैभन्दा धेरै रौतहट र हुम्लामा र सबैभन्दा कम रोल्पा जिल्लाको थवाङ गाउँपालिकाको वडा नं १ को वडाअध्यक्षको लागि भएको मतदानमा १६.४ प्रतिशत मात्र मतदान भएको छ ।

उपनिर्वाचनमा विभिन्न ४ वटा राष्ट्रिय पर्यवेक्षण संस्था, कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, लगायत ४१९ जनाबाट पर्यवेक्षण÷अवलोकन भएको पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस