उपनिर्वाचन २०७६ : मतपत्र मतपेटिका केन्द्रमा

रासस

बुधबार, ११ मंसिर २०७६, १९ : ३०
उपनिर्वाचन २०७६ : मतपत्र मतपेटिका केन्द्रमा

सङ्खुवासभाको मकालु गाउँपालिकाका मतदान केन्द्रहरुमा मतपत्र र मतपेटिका पठाइसकिएको छ ।

यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक सामग्रीहरु भौगोलिकरूपमा विकट गाउँमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका प्रमुख चोलाराज दङ्गालले जानकारी दिनुभयो ।

भौगोलिकरूपमा विकट मानिएका मकालु गाउँपालिकाको पाँच मतदान केन्द्रमा मङ्गलबार र अन्य बाँकी मतदान केन्द्रमा आज बिहान मतपत्र र मतपेटिकासहित कर्मचारी पठाइएको निर्वाचन कार्यालय प्रमुख दङ्गालले जानकारी दिनुभयो ।

आजसम्ममा दुईवटै स्थानीय तहका मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी खटाइने छ । मकालु गाउँपालिकाको सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पठाइसकिएको र खाँदबारी नगरपालिका–३ को दुई केन्द्रमा आज साँझसम्म पुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मकालु गाउँपालिकाका १० मतदान स्थललाई जिल्ला सुरक्षा समितिले संवेदनशीलमा राखेको छ । एक मतदान स्थलको दुई मतदान केन्द्रलाई मात्रै सामान्य संवेदनशीलको सूचीमा राखिएको छ ।

मकालु गाउँपालिकामा नौ हजार एक मतदाता रहेका छन् भने खाँदबारी नगरपालिका–३ मा एक हजार ८३० मतदाता छन् । मकालु गाउँपालिका अध्यक्ष र खाँदबारी–३ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।