भारतिय लाखौं पर्यटक ओइरिने जनकपुरमा विवाह पंचमीको तयारी भव्य, दुलही झैं सिंगारिदैं जनकपुर

पत्रपत्रिकाबाट

बुधबार, ११ मंसिर २०७६, ०७ : १८
भारतिय लाखौं पर्यटक ओइरिने जनकपुरमा विवाह पंचमीको तयारी भव्य, दुलही झैं सिंगारिदैं जनकपुर

जनकपुर। रामजानकी विवाहपञ्चमी महोत्सव मंगलबारबाट जनकपुरधाममा सुरु भएको छ । सात दिवसीय सो महोत्सवको पहिलो दिन नगर दर्शनको क्रममा भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई जनकपुरधाममा घुमाइएको छ ।  जानकी मन्दिरको प्रागंणमा मिथिलानगर बनाएर राम लक्ष्मणलाई घुमाउँदा हजारौं महिला पुरुषले जयजयकार गरेका थिए । दर्शनार्थीहरूले राम लक्ष्मणलाई फूलैफूलले स्वागत गरेका थिए ।
प्रदेश २ का भौतिक योजना तथा निर्माणमन्त्री जितेन्द्र सोनलको विशेष उपस्थितिमा भएको सो कार्यक्रममा कलाकारले स्वागत गान गाएका थिए । त्रेता युगको झलकका रूपमा यो दृश्य रहेको प्रदेश २ का सांसद रामअशीष यादवले बताए । यस्तो क्षण जीवनमा पहिलो चोटी देखेको धेरैले बताइरहेका थिए ।

यो कार्यक्रम ३ घण्टाभन्दा बढी चलेको थियो । समारोहमा मिथिलाञ्चलका चर्चित गायिका कुमारी पुनम मिश्रले बिहेका गीत गाएका थिए । मंसिर १० गतेदेखि १६ गतेसम्म जनकपुरधाममा महोत्सव हुनेछ । मंसिर ११ गते फूलबारी लीला, १२ गते धनुष यज्ञ, १३ गते तिलकोत्सव, १४ गते मटकोर, १५गते स्वयम्बर र विवाह तथा १६ गते रामकलेवा हुनेछ ।
मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवको आयोजना गरिँदै आएको छ ।
विवाहपञ्चमी महोत्सवको सबैभन्दा ठूलो आकर्षण भारतको अयोध्याबाट आउने जन्ती रहेको छ । प्रत्येक वर्ष अयोध्याबाट विवाहपञ्चमी महोत्सवमा जन्तीहरू सहभागी हुने गर्छन् तर प्रत्येक ५ वर्षमा अत्यधिक संख्यामा त्यहाँबाट जन्ती आउने गर्छन् ।  त्यसैले यस पटक विवाहपञ्चमी महोत्सवका लागि भव्य तयारी गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।

यसपटक अयोध्याबाट ५ सयको संख्यामा जन्ती आइरहेका छन् । बिहीबार नै अयोध्याबाट प्रस्थान गरेको जन्ती मंसिर ११ गते साँझसम्म जनकपुरधाम आइपुग्नेछन् ।
जन्तीमा सहभागीलाई जानकी मन्दिरले मंसिर १३ गते औपचारिक कार्यक्रम गरेर तिलकोत्सवमा स्वागत गर्ने उत्तराधिकारी महन्थ वैष्णवले बताए । विवाहपञ्चमी महोत्सवको प्रमुख अतिथिका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुन लागेकी छन् । उनी मंसिर १३ विवाहपञ्चमी महोत्सवमा सहभागी हुनका लागि जनकपुरधाम आउन लागेकी हुन् । भारतको अयोध्याबाट आउने जन्तीहरूलाई राष्ट्रपति भण्डारीले रंगभूमि मैदानमा आयोजना हुने एक कार्यक्रमका बीच स्वागत गर्नेछन् । राजधानी दैनिकमा खबर छ ।