छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०८ मंसिर २०७६, १४ : ११
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । आइतबार देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 
धादिङ, गल्छी गाउँपालिका-६ बैरेनीबजारमा बा।२ ख ६२६८ नम्बरको बस आइतबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार नुवाकोट घर भएकी १३ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० महिला, ४ पुरुष, २ बालक र १ बालिका गरी १७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि स्थानिय मेडिकल गल्छी पठाएकोमा १३ जना थप उपचारको लागि वीर अस्पताल ट्रमा सेन्टर काठमाडौं रिफर भएका छन् भने ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
उदयपुर, कटारी नगरपालिका-८ स्थित सडकमा स ११ प ३२२८ नम्बरको मोटरसाइकल र ना ७ ख ४६१५ नम्बरको ट्रक शनिबार बेलुका आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका(३ बस्ने ३७ वर्षीय सन्तोष कार्कीको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र मोटरसाइकल सहित दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहा, कल्याणपुर नगरपालिका-११ लवका टोलमा अनटेष्ट लेखेको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० वर्षीय ईनरजित यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका यादवको आरके मेडिसिटी मुसरनियामा उपचारको क्रममा मृत्यु भएको हो । 
सोलुखुम्बु, नेचा सल्यान गाउँपालिका-१ बाघखोर भन्ने स्थानमा ना ६ त ३१४६ नम्बरको ट्याक्टर शनिबार राति अनियन्त्रित भई पल्टँदा उक्त ट्याक्टर चलाएका सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय छिरिङ राईको घटनास्थलमै मृत्यु भएको छ । सोही ठाउँ बस्ने १९ वर्षीय सुमन शंकरले चलाई ल्याएको उक्त ट्याक्टर र छिरिङले चलाई ल्याएको प्रदेश-१-०३-०१-०२२ च ०३१८३ नम्बरको बलेरो जिप उनीहरुले सोही ठाउँस्थित बाघखोरमा एकअर्काले साटेर चलाई नेचातर्फ जाने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटनमा हुँदा छिरिङको मृत्यु भएको खुल्न आएको छ । बलेरो जिप सहित सुमन शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
चितवन, भरतपुर महानरपालिका-२९ दासढुङ्गास्थित सडकमा आइतबार बिहान ना ६ ख १८९६ नम्बरको आईचर ट्रकको ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले  नियन्त्रणमा लएको छ । दुर्घटनाको सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस