भारतले अव्यवस्थित रूपमा पानी छाडिदिँदा महाकालीमा पुल निर्माणमा समस्या

पत्रपत्रिकाबाट

बुधबार, ०४ मंसिर २०७६, ०६ : ५९
भारतले अव्यवस्थित रूपमा पानी छाडिदिँदा महाकालीमा  पुल निर्माणमा समस्या

कञ्चनपुर । सीमा क्षेत्रको शारदा ब्यारेजबाट भारतले अव्यवस्थित रूपमा पानी छाडिदिँदा महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणमा समस्या भएको छ । निर्माण कम्पनीले डाइभर्सन बनाएर काम गरिरहे पनि बेलाबेला पानी निर्माणस्थलमै पुग्ने गरेको छ ।

‘काम रोकिएको छैन, तर जुन गतिमा हुनुपर्थ्यो त्यो हुन सकेको छैन,’ निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले भने ।नदीमा पानी बढी भएका कारण निर्माण सामग्री ढुवानी तथा कामदारलाई आउजाउ गर्नसमेत समस्या भएको छ। एक्स्काभेटर तथा टिपरहरूमा पानी पसेर दुईरतीन दिनमै बिग्रन थालेको उनले बताए। भारतीय पक्षले शारदा ब्यारेजको पुल मर्मतका लागि भन्दै पूर्व र पश्चिमतर्फका पाँचवटा ढोका खोलिदिने गरेको छ। सामान्य अवस्थामा एकरदुई ढोका मात्रै खोलिन्थ्यो।

महाकालीमा चार ठाउँमा डाइभर्सन बनाएर नदीलाई पूर्व र पश्चिमतर्फ मोडेर पुल निर्माणको काम हुँदै छ। नदीमा पानी बढी भएकाले थप दुई ठाउँमा डाइभर्सन बनाउनुपर्ने पाण्डेयले बताए। यस विषयमा जिल्ला प्रशासन कार्यालयसँगै महाकाली पुल आयोजनालाई पनि जानकारी गराइएको उनले बताए।

अहिले पिलर निर्माणसँगै पाइलिङ र बनेको पिलरमाथि स्ल्याब राखिँदै छ। ‘बेलाबेलामा काममा अवरोध भइरहेको छ, यो अहिले मात्रै होइन, काम सुरु भएदेखिकै समस्या हो,’ निर्माण कम्पनीका प्रबन्धक प्रेमकुमार श्रेष्ठले भने, ‘हामीले नदीमा काम गर्न पाउने भनेको वर्षमा ५र६ महिना मात्रै हो। बीचमा व्यवधान हुँदा त्यसले समस्या थपिदिने गरेको छ।’

हरेक दिन फरकफरक समयमा भारतले पानी छाडिदिने गरेकाले समस्या भएको श्रेष्ठले बताए।०७४ देखि निर्माण सुरु भएको पुलका १७ वटा पिलर बनेका छन् भने १७ पिलर निर्माण हुन बाँकी छन्। पाइलिङको काम पनि बाँकी छ। यस वर्ष पाइलिङ र पिलरको काम सक्ने लक्ष्य राखिएको पाण्डेयले बताए। बनिसकेक पिलरमा स्ल्याब राख्ने काम पनि सुरु हुन लागेको उनको भनाइ छ।

भारतीय पक्षले पुल मर्मतका लागि दुई महिनासम्म ५ वटा ढोका खोल्ने जानकारी गराए पनि कुन समयमा खोल्ने भन्ने विषयबारे नखुलाएको महाकाली पुल आयोजनाका इन्जिनियर सुलभ न्यौपानेले बताए। कति बेला पानी बढ्ने हो भन्ने जानकारी नहुँदा निर्माणमा समस्या भएको उनको भनाइ छ।

०७४ भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुलको शिलान्यास गरेका थिए। सोही वर्ष हिउँददेखि पुल निर्माण थालिएको हो। आठ सय मिटर लम्बाइ र २४ मिटर चौडाइको पुल निर्माणका लागि कुमार श्रेष्ठ सीएफईसी जेभीसँग ३ वर्षभित्र काम सक्ने गरी ३ अर्ब २७ करोड रुपैयाँमा सम्झौता भएको थियो। कान्तिपुर दैनिकमा खबर छ ।