कोकाकोला उत्पादन गर्ने कम्पनीद्वारा प्राकृतिक स्रोतको चरम दोहन, हुँदैन अनुगमन

बोरिङबाट दैनिक निकालिन्छ छ लाख लिटर पानी, सुके स्थानीयवासीका धारा र इनार

सफल खबर संवाददाता

मंगलबार, ०३ मंसिर २०७६, १६ : ५७
कोकाकोला उत्पादन गर्ने कम्पनीद्वारा प्राकृतिक स्रोतको चरम दोहन, हुँदैन अनुगमन

चितवन । अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोलाले दक्षिण एसियाली मुलुकमा प्राकृतिक स्रोतको चरम दोहन गर्दै आएको छ । भारतको राजस्थानलाई मरुभूमि बनाएर हिँडेको कोकाकोला कम्पनीले सुन्दर सहर भरतपुरलाई पनि मरुभूमि बनाउन खोजेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ९, गोन्द्राङमा रहेको कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल तराई लिमिटेडले बोरिङबाट दैनिक छ लाख लिटरभन्दा बढी पानी निकाल्ने गरेको छ । कम्पनीले सात वर्षअघि सरकारलाई बुझाएको एक सय ९२ पृष्ठको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए रिपोर्ट) मा रहेको परियोजना विवरणमा उल्लेख भएको उत्पादन परिमाण अनुसार कम्पनीले दैनिक छ लाख लिटरभन्दा बढी पानी खपत गर्दै आएको छ ।

 जानकारहरुका अनुसार, एक लिटर कोक उत्पादन गर्न कम्तीमा छ लिटर पानी चाहिन्छ । कम्पनीको ईआईए रिपोर्टमा रहेको परियोजना विवरणमा वार्षिक १६ करोड २६ लाख लिटर हल्का पेयपदार्थ (कोकफेण्टा) र चार करोड ६ लाख ५० हजार लिटर पानी उत्पादन गरिने उल्लेख छ । यति परिमाणको उत्पादनका लागि बोरिङबाट दैनिक कम्तीमा छ लाख लिटरभन्दा बढी पानी निकाल्नु पर्छ ।

कोकाकोला कम्पनीले जमिनमुनिबाट अत्याधिक मात्रामा (दैनिक छ लाख लिटर) पानी निकाल्दा गोन्द्राङ क्षेत्रका पानीका मुहान सुक्न थालेका छन् । कारखाना वरपरका बासिन्दाले धारा र इनार सुक्न थालेको गुनासो गरेका छन् । कम्पनीलेईआईए रिपोर्टमा दुई वटा बोरिङ संचालन गर्ने उल्लेख गरेको छ । तर अहिले बोटलर्स नेपाल तराई लिमिटेडले छ वटा बोरिङबाट दैनिक छ लाख लिटरभन्दा बढी पानी निकाल्ने गरेको छ । कम्पनीले दुई वटा बोरिङको अनुमति लिएर छ वटा बोरिङ संचालन गरिरहेको स्थानीयवासी बताउँछन् । सरकारी निकायले अनुगमन नगर्दा बहुराष्ट्रिय कम्पनीले प्राकृृतिक स्रोतमाथि चरम दोहन गरिरहेको र स्थानीय सरकारसमेत निरीह देखिएको स्थानीयको गुनासो छ ।

 

कम्पनीविरुद्ध उजुरीको तयारी
चितवनको भरतपुरमा रहेको तराई बोटलर्स नेपाल लिमिटेड कम्पनीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरी गर्ने तयारी स्थानीयले गरेका छन् । यस क्षेत्रमा कारखानाले वायु र ध्वनि प्रदुषण अत्याधिक गरेपछि स्थानीयवासीहरुले कोकाकोला कारखानाका विरुद्ध संसदीय सुनुवाई समितिमा उजुरी गर्ने तयारी गरेको स्थानीय अगुवा तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कमल घिमिरेले बताउनु भयो ।
पटक पटक यो समस्या समाधानका लागि आग्रह गर्दा सुनुवाई नभएको र यसअघि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको सम्झौता पनि पालना गर्न कम्पनी तयार नभएपछि आफुहरु यसका बिरुद्ध कडा संघर्ष गर्ने तयारीमा लागेको उहाँ बताउनु हुन्छ । कम्पनीका कारण घर बस्नै नसक्ने अवस्थामा पुगेको, हरेक समय सिनो जस्तै गनाउने हावा चल्ने र मेसिन कराएको आवाजले स्थानीयहरुमा कान कम सुन्ने समस्या समेत सृजना भइसकेको उहाँ बताउनु हुन्छ ।
उहाँका अनुसार यहाँ खानेपानीको समेत समस्या सृजना भएको छ । कम्पनीले अनुमतिबिनै ठुला ठुला बोरिङ गरी  धेरै तलसम्मको पानी तानेकाले ईनारहरु सुकेर जमिन समेत सुख्खा हँुदै गएको, केही घरहरु समेत भासिन थालेको, जमिन समेत भास्सिँदै गएको उहाँले बताउनु भयो । 
कारखानाको प्रदूषणका कारण तिहार पछाडि त झन् बस्नै नसक्ने अवस्था सृजना भएकोे स्थानीय युवा तेज अर्यालले बताउनु भयो । आफुहरुले समिति बनाएर कानुनी प्रक्रियाबाट कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल समेत गर्ने तयारी गरेको उहाँको भनाई छ ।
विकास चोक आमा समुहकी अध्यक्ष नारायणी थापामगरले दुर्गन्ध र ध्वनि प्रदुणले बेलुका सुत्नै नसकिने बताउनु भयो । विकास चोक टोल सुधार संस्थाका अध्यक्ष घननाथ उपाध्यायले प्रदूषण छ भनेर जान्दाजान्दै पनि घर बनाएपछि समस्या भैहाल्ने बताउनु भयो । जनप्रतिनिधिलाई भनेर पनि केही नभएको भन्दै उहाँले यो टोलसुधारले गरेर केही नहुने जवाफ दिनुभयो ।

प्रतिक्रिया दिनुहोस