चितवनको राजस्व : लक्ष्यको ७३ प्रतिशतमात्र प्रगति, अन्तःशुल्कको असुली सबैभन्दा कमजोर

सफल खबर संवाददाता

मंगलबार, ०३ मंसिर २०७६, १६ : ५२
चितवनको राजस्व : लक्ष्यको ७३ प्रतिशतमात्र प्रगति, अन्तःशुल्कको असुली सबैभन्दा कमजोर

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनले आर्थिक वर्ष २०७६\७७ को साउनदेखि यता चार महिनाको अवधिमा राजस्व संकलनमा जम्मा ७३ प्रतिशतमात्र प्रगति गरेको छ । राजस्व कार्यालयले अन्तःशुल्कको राजस्व असुली लक्ष्यको तुलनामा धेरै नै कमजोर छ । 

यही अवस्थामा राजस्व संकलन हुने हो भने चालु आर्थिक वर्षको लक्ष्यलाई भेट्न मुस्किल पर्ने देखिन्छ । आन्तरिक राजस्व कार्यालयका प्रमुख सुबप्रसाद रिजाल २०७६\७७ को राजस्व संकलनको लक्ष्य भेट्न गाह्रो नपर्ने बताउनुहुन्छ । 

‘अन्तशुल्कको लक्ष्य थोरै पुगेन, तर गत वर्षको तुलनामा राजस्व त बढेको छ, लक्ष्यमा पुग्न मुस्किल पर्दैन’ प्रमुख रिजाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिलेको राजस्व असुली पनि बलियो नै छ, गत वर्षको चौमासिकको तुलनामा हामी धेरै नै माथि छौँ ।’

आन्तरिक राजस्व कार्यालय भरतपुरले चालू आर्थिक वर्ष चार महिनामा १० अर्ब ५१ करोड १४ लाख पाँच हजार रूपैयाँ राजस्व असुली गरेको जनाएको छ । उक्त राजस्व संकलनको आधारमा यस आर्थिक वर्षको लक्ष्यको तुलनामा लक्ष्यको तुलनामा असुली प्रतिशत २४.२३ हुन आउँछ ।

गत वर्षको साउन महिनादेखि कार्तिकसम्म आन्तरिक राजस्व कार्यालय भरतपुरले ९ अर्ब ७९ करोड १० लाख एक हजार रूपैयाँ राजस्व संकलन गरेको थियो । गत चार महिनाको तुलनामा यस चार महिनामा ६३ करोड २३ लाख बढी राजस्व संकलन गरेको कार्यालयको भनाइ छ । 
गत आवको सोही अवधिको तुलनामा वृद्धि प्रतिशत ६.४० रहेको राजस्व कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा राजस्व संकलन माथि नै रहेको हुनाले लक्ष्य भेट्न मुस्किल नपर्ने कार्यालयको भनाइ छ । 

अन्तःशुल्कको लक्ष्य पुगेन 
यस चौमासिकमा आन्तरिक राजस्व कार्यालयले अन्तःशुल्कको लक्ष्य पूरा गर्न सकेको छैन । अन्तःशुल्कको प्रगति प्रतिशत जम्मा ७० छ । लक्ष्यको तुलनामा असुली २३ प्रतिशतमात्र छ । 

चार महिनामा अन्तःशुल्कको लक्ष्य १२ अर्ब ८८ करोड ७१ लाख ७९ हजार कार्यालयको थियो, तर ९ अर्ब ३१ करोड ३८ लाख ८ हजारमात्र अन्तःशुल्कको राजस्व असुली भयो । 

‘अन्तःशुल्कको लक्ष्य पूरा गर्न सकेनौँ’ कार्यालयका सूचना अधिकारी धनिश्वर अर्यालले भन्नुभयो । गत आवको सोही अवधिको तुलनामा वृद्धि प्रतिशत जम्मा २.१८ भएको उहाँ बताउनुहुन्छ । अन्त शुल्कको वार्षिक लक्ष्य ३७ अर्ब ९४ करोड ४३ लाख ८८ हजार रहेको अन्तरिक राजस्व कार्यालयले जनाएको छ । 

लक्ष्यभन्दा चार अर्ब कम राजस्व
आन्तरिक राजस्व कार्यालयले चार महिनामा १४ अर्ब २७ करोड ३६ लाख ६४ हजार रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको थियो तर राजस्व कार्यालय भरतपुरले १० अर्ब ५१ करोड १४ लाख पाँच हजार रूपैयाँ राजस्व असुलीमात्र गरेको हुनाले वार्षिक लक्ष्यलाई भेट्न मुस्किल पर्ने देखिन्छ । 

आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७६÷७७ मा ४३ अर्ब ३८ करोड ७७ लाख राजस्व असुली गर्ने लक्ष्य लिएको छ । आगामी दिनहरुमा यही अनुपातमा राजस्व संकलन भए पनि लक्ष्यलाई भेट्न सकिने अवस्था छैन । 

मुअ कर लक्ष्यभन्दा बढी
 
आन्तरिक राजस्व कार्यालयले चार महिनामा मुअ कर लक्ष्यभन्दा बढी संकलन गरेको छ । यसमा ११९ प्रतिशत प्रगति देखिन्छ । यस आवको लक्ष्यको तुलनामा असुली प्रतिशत ३६ छ । चार महिनामा ६२ करोड ८४ लाख ७९ हजार मुअ करको लक्ष्य थियो तर, ७५ करोड २५ लाख ४८ हजार मुअ कर संकलन भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । 
अन्य कर पनि लक्ष्यभन्दा कम

आन्तरिक राजस्व कार्यालय भरतपुरमा आयकर, बहालकर र व्याजकरको संकलन सुधारोन्मुख देखिएको छ । आयकरमा ९९ प्रतिशत प्रगति देखिन्छ । चार महिनामा आयकरको लक्ष्य ६४ करोड ५३ लाख ५७ हजार थियो भने ६४ करोड ४० लाख ५६ हजार संकलन भएको छ । आयकरमा सोही अवधिको तुलनामा गत आवभन्दा ३४ प्रतिशत राजस्व वृद्धि भएको देखिन्छ । 

चार महिनामा बहालकरको लक्ष्य २ करोड ४३ लाख ९२ हजार थियो भने १ करोड ९१ लाख ९४ हजार राजस्व असुली भएको छ । चार महिनामा व्याजकरको लक्ष्य ८ करोड १३ लाख ४० हजार थियो भने ५ करोड ८१ लाख ५८ हजार राजस्व असुली भएको थियो । 

४३ अर्बको लक्ष्य
कार्यालयले यस वर्ष ४३ अर्ब ३८ करोड ७७ करोड लाख राजस्व उठाउने लक्ष्य लिएको छ । गत वर्ष कार्यालयले ३० अर्ब दुई करोड ९० लाख सात हजार रूपैयाँ राजस्व संकलन गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस