युवा संघको योजनामा सामाजिक उत्तरदायित्व तथा श्रम कार्यक्रम

पार्टीका युवाहरुलाई प्रचण्डले विशेष निर्देशन गर्ने, माधव नेपाल, वामदेव र नारायणकाजीले पनि दिए निर्देशन

सफल खबर संवाददाता

आइतबार, ०१ मंसिर २०७६, ०९ : १७
युवा संघको योजनामा सामाजिक उत्तरदायित्व तथा श्रम कार्यक्रम

काठमाडौं । नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आगामी १ वर्षका लागि संगठनात्मक योजना अर्न्तगत सामाजिक तथा श्रम कार्यक्रम पनि तय गरेको छ । राजधानीमा जारी केन्द्रीय समिति बैठकले भईपरि आउने विशेष परिस्थिती बाहेक आगामी कात्तिक मसान्त सम्मका लागि एक वर्षे संगठनात्मक कार्य योजना तय गरेको हो । केन्द्रीय समितिको बैठक आईतबार सम्पन्न हुदैछ ।

आगामी दुई महिना अर्थात मंसिर र पुष भित्र केन्द्रिय निकाय तथा विभागहरु, प्रदेश देखि जिल्ला हुँदै स्थानिय निकायको एकता सम्पन्न गरिसक्ने, एकता सम्पन्न गर्नका लागी आयोजना गरिने कार्यक्रमहरु भव्य, सन्देशमुलक तथा प्रशिक्षणात्मक गराउने योजनाका साथ कार्यक्रमहरु बनाईएको संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले जानकारी दिए ।

साविकका दुवै संगठनहरुका सदस्यता रुजु तथा सदस्यता नविकरण सम्बन्धित योजनाहरु माघ महिना भित्र सम्पन्न गरिसक्ने, सदस्यता रुजु, नविकरण तथा योजनाहरुको प्रत्यक्ष नेतृत्व तथा नियमन गर्ने निकाय जिल्ला कमिटिलाई बनाइने र सदस्यता प्रणालीलाई लागु भएकै मितिबाट अनलाइन प्रणालीमा विकास गरिने योजना पनि राष्ट्रिय युवा संघ नेपालले बनाएको छ ।

यो १ वर्षको अवधिभित्र न्युनतम सदस्य संख्या ५ लाख बनाउने लक्ष्य सहित काम गर्ने पनि संयोजक सापकोटाले वताए । ‘सदस्यताका लागी क जिल्लाबाट न्युनतम १२ हजार, ख जिल्लाका लागी न्युनतम ८ हजार र ग जिल्लाका लागी न्युनतम २५ सयको लक्ष्य हुनेछ । यो लक्ष्य नविकरण तथा नयाँ सहितको हो भनि बुझ्नुपर्नेछ ।’ संयोजक सापकोटाले भने ।

सक्रिय र साधारण गरी सदस्यताको दुई प्रकारलाई प्रत्येक ३-३ महिनामा वर्गिकरण गरिने,  स्थानिय कमिटिले जिल्ला समितिलाई सिफारिश गरि जिल्ला र प्रदेशले प्रमाणित गर्ने, अनलाइन प्रणालीलाई केन्द्रीय कार्यालयको अनुमतिमा केन्द्रिय संगठन विभागले अनुमोदन गर्ने र यसरी ३-३ महिनामा सदस्य संख्या अपडेट हुने चक्रिय प्रणाली अबलम्बन गरिने योजना पनि राष्टिय युवा संघ नेपालले बनाएको छ ।

मंसिरदेखि चैत मसान्त सम्म जिल्ला भन्दा तल्ला तहको, बैशाख देखि साउन सम्म जिल्ला र साउन देखि कात्तिक महिना भित्र प्रदेश एकता सम्मेलन गरी आगामी मंसिर (एक वर्षपछि) मा राष्ट्रिय सम्मेलन गर्ने लक्ष्य राष्ट्रिय युवा संघ नेपालले लिएको छ । उसले सामाजिक उत्तरदायित्व तथा श्रम कार्यक्रम पनि अगाडी सारेको छ ।

संस्थागत रुपमा निर्वाह गरिने उत्तरदायित्व र व्यक्तिगत (संगठनका सदस्यहरुले) रुपमा निर्वाह गर्ने उत्तरदायित्व गरी दुई खाले समाजिक उत्तरदायित्वका काममा जोडिन हरेक सदस्यलाई राष्ट्रिय युवा संघ नेपालले जोड गर्ने भएको छ । संगठनका हरेक कमिटिहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत विकास निर्माण, जनसमुदायका सामाजिक विकास तथा समाजिक कार्यहरुमा संस्थागत सहभागिता जनाउनुपर्ने, पार्टी तथा सरकारबाट लागु हुने विकास निर्माण लगायतका कामहरुमा संस्थागत परिचालन, भौतिक सहयोग देखि परि आउने समस्याहरुमा प्रत्यक्ष जोडिनुपर्नेे र जनश्रम कार्य अन्तर्गत प्रत्येक सदस्यले महिनामा १ दिन अनिवार्यरुपमा  जनश्रममा जोडिनुपर्ने नीति पनि राष्ट्रिय युवा संघ नेपालले अगाडी सारेको छ ।

जारी केन्द्रीय समिति बैठकमा शनिबार नेताहरु वामदेव गौतम, माधव नेपाल र नारायणकाजी श्रेष्ठले प्रशिक्षण दिएका थिए । आइतबार (आज) अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकलाई विशेष सम्वोधन गर्ने कार्यक्रम रहेको सापकोटाले वताए ।

प्रतिक्रिया दिनुहोस