ओली र महेश बस्नेतमाथि प्रतिशोध भए सैह्य नहुने युवा संघको चेतावनी

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०८२, १५ : १७
ओली र महेश बस्नेतमाथि प्रतिशोध भए सैह्य नहुने युवा संघको चेतावनी

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले वर्तमान सरकारलाई प्रतिशोधपूर्ण व्यवहार नगर्न सचेत गराएको छ ।

युवा संघका अध्यक्ष क्षितिज थेवेले प्रेस विज्ञप्ति निकालेर एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि प्रतिशोध भए सैह्य नहुने चेतावनी दिएका छन् ।

प्रेस विज्ञप्तिमा राष्ट्रिय युवा संघ नेपाल आफ्नो स्थापनाकाल देखि नै निरन्तर लोकतन्त्र, बहुदलीय व्यवस्था र जनहितको पक्षमा दृढतापूर्वक पहरेदारी गर्दै आएको उल्लेख छ ।

अगाडि भनिएको छ, ‘हाम्रो संगठनले अल्पकालीन लोकरिझ्याइँमा रुमल्लिने भन्दा पनि राष्ट्रको दीर्घकालीन हित र लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका निमित्त बेला–बेला बलिदानी र कठोर संघर्षको बाटो अपनाएको सर्वविदितै छ ।’

आफूहरू प्रत्येक नागरिकको पूर्वाग्रह र प्रतिशोधरहित जीवनयापन र राजनीतिक क्रियाकलाप गर्न पाउने संविधान प्रदत्त मौलिक अधिकारको रक्षाका निमित्त लड्‌दै आएको युवा संघको जिकिर छ ।

यो सन्दर्भ उल्लेख गर्दै युवा संघले पूर्वप्रधानमन्त्री ओली लगायतको राहदानी रोक्का गर्ने निर्णयप्रति गम्भीर चासो र आपत्ति प्रकट गरेको छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले विना कुनै आधार र प्रमाण जाँचबुझको प्रारम्भिक चरणमै विशुद्ध शंका र पूर्वाग्रहका आधारमा राहदानी रोक्काको निर्णय गरेको युवा संघको ठहर छ ।

प्रतिक्रिया दिनुहोस