उपल्लो मुस्ताङमा विमानस्थल

पत्रपत्रिकाबाट

बुधबार, २७ कार्तिक २०७६, ०७ : ०५

जोमसोम । समुन्द्री सतहदेखि करिब ४ हजार मिटर अग्लो उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका १ चराङमा प्रस्तावित विमान स्थलको सम्भाव्यता अध्ययन सुरु भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराई दुई साताअघि प्रस्तावित विमानस्थलको अध्ययन गरी फर्किएलगत्तै विमानस्थलको सम्भाव्यता अध्ययन सुरु भएको हो। प्रस्तावित विमानस्थल सम्भाव्यता अध्ययनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले दुईजनाको प्राविधिक टोली चराङ पठाएको मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए।

तुलाचनका अनुसार विमानस्थलको लोकेसन अध्ययन र जग्गा नापजाँचका लागि मन्त्रालयले आईएफआईडी कल्सन्टेन्सीका तर्फबाट सिभिल इन्जिनियर नरेश सिवाकोटी र प्रकाश श्रेष्ठलाई चराङमा खटाएको हो। खटिएका प्राविधिक टोलीले शनिबार बिहानैदेखि विमानस्थलको अध्ययन थालेको लोघेकर दामोदरकुण्डा गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए।

प्रस्तावित चराङ विमानस्थलका लागि गतवर्ष पर्यटन मन्त्रालयले प्रारम्भिक सर्भे गरेको थियो। यसको ठिक १ वर्ष विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने उद्देश्यले सम्भाव्यता अध्ययन गर्न प्राविधिक टोली उपल्लो मुस्ताङ पुगेको हो। डीपीआर सम्भाव्यता अध्ययनका लागि ३ दिन सर्भे हुने सिभिल इन्जिनियर नरेश सिवाकोटीले जानकारी दिए। विमानस्थलको आवश्यक रनवे क्षेत्रफल र त्यस वरपर पर्ने डाँडाको समेतको अध्ययन गरेर उपयुक्त स्थान छनोट गरिने इन्जिनियर सिवाकोटीले उल्लेख गरे।

प्रस्तावित विमानस्थल सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोलीसहित लोघेकरका अध्यक्ष बिष्ट, स्थानीय जनप्रतिनिधि र गाउँले खटिएका छन्। चराङमा ठूला ठूला पठार समथर खुल्ला जग्गा हुँदा विमानस्थलको प्रचुर सम्भावना भएकाले मन्त्रालयले यसको गृहकार्य गरेको हो। विमानस्थल अध्ययन र निरीक्षणका क्रममा चराङमा पुगेका मन्त्री भट्टराई विमानस्थल बन्नेमा दुई मत नभएको बताएका थिए। उनले संसारका अग्ला ठाउँमा समेत विमानस्थल निर्माण भइसकेकाले चराङमा विमानस्थल बनाउन बाधा नपर्ने जनाएका थिए।

उपल्लो मुस्ताङको मौलिक धार्मिक, सांस्कृतिक, सामाजिक सभ्यता र खनिज तथा जैविक विविधताले प्रख्यात छ। सरकारले उत्तरी तिब्बत र दामोदरकुण्ड धार्मिक स्थलका लागि लक्ष्य गरी विमानस्थल निर्माण गर्न लागेको हो। उपल्लो मुस्ताङ क्षेत्र कृषि, पशुपालन र पर्यटन क्षेत्रमा समेत अगाडि छ। उपल्लो मुस्ताङको समृद्धि र विकासका लागि हवाई सेवा आवश्यक भएको गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टको भनाइ छ।

उनले सरकारले पर्यटन विकासका लागि विमानस्थलको निर्माण र उत्तरी कोरला नाका खोल्न सडक सञ्जाल विस्तार गर्दै गरेको बताए। संघीय र प्रदेशले नाका आसपासका क्षेत्रमा विद्युत् र सञ्चारको पूर्वाधार निर्माण र नाकाका लागि चाहिने भन्सारलगायत सुरक्षा संयन्त्रको अस्थायी पूर्वाधारको तयारी थालेको उल्लेख गरे।

यो अन्नपुर्ण पोष्ट दैनिकमा छ ।