काल बन्दै सवारी दुर्घटना: प्रत्येक दिन ५ जनाको मृत्यु

पत्रपत्रिकाबाट

आइतबार, २४ कार्तिक २०७६, ०७ : २७
काल बन्दै सवारी दुर्घटना: प्रत्येक दिन ५ जनाको मृत्यु

काठमाडौं । चालु आर्थिक वर्षको साढे ३ महिनामा चार हजार ६ सय ५७ वटा सडक दुर्घटना भएका छन्। सातवटै ट्राफिक प्रहरी कार्यालको तथ्यांक अनुसार यी दुर्घटनामा ५ सय ३८ जनाले ज्यान गुमाएका छन्। यस आधारमा हेर्दा दैनिक ५ जनाले सवारी दुर्घटनाका कारण ज्यान गुमाएको देखिन्छ। त्यस्तै दैनिक सरदर ४४ वटा दुघर्टना भएका छन्। यी दुर्घटनामा ४ हजार ६ सय ८८ जना घाइते भएका छन्। यस अवधिमा दसैं र तिहारमा सबैभन्दा बढी सडक दुर्घटना भएका छन्।

यस अवधिमा सवारी दुर्घटनामा सबैभन्दा बढी प्रदेश ५ मा एक सय ४६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै प्रदेश १ मा ८६, प्रदेश २ मा एक सय १०, प्रदेश ३ मा ७८, प्रदेश ४ (गण्डकी) मा ५९, प्रदेश ६ (कर्णाली) मा ३४ जना र प्रदेश ७ (सुदूरपश्चिम) मा २५ जनाले ज्यान गुमाएका छन्।

 दुर्घटनामा ज्यान गुमाएका र घाइतेका परिवारको अवस्था तथा त्यसले समाजमा पारेको असर केलाउने हो भने स्थिति भयावह देखिन्छ।
प्रदेश १: मृत्यु हुनेको तुलनामा तीन गुणा बढी घाइते
प्रदेश १ मा साउनयता भएका सवारी दुर्घटनामा ८६ जनाको ज्यान गएको छ। साउनदेखि कात्तिक २० गतेसम्म यस प्रदेशमा भएका दुर्घटनामा मृत्यु हुनेको तुलनामा घाइते हुनेको संख्या तीन गुणा बढी छ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार साउनयता सबैभन्दा बाढी असोजमा ३० जनाको मृत्यु भएको छ। कार्यालयको अभिलेखमा असोजमा १२८ वटा दुर्घटना भएको उल्लेख छ। त्यस्तै कात्तिक २० गतेसम्म भएका ७१ वटा दुर्घटनामा २१ जनाको मृत्यु भएको छ। भदौमा १ सय १४ वटा सवारी दुर्घटना हुँदा १९ जना र साउनमा १ सय १८ वटा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको अभिलेख अनुसार साउनयता भएका दुर्घटनामा ३ सय १ जना घाइते भएका छन्। साउन र भदौमा ७३–७३, असोजमा ९५ र कात्तिक २० गतेसम्म ६० जना घाइते भएका छन्।

चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा, तीव्र गति, जथाभावी ओभरटेक, ओभरलोड, सडकको बिग्रंदो अवस्था, यान्त्रिक गढबढी दुर्घटनाको मुख्य कारक भएको ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रहरी निरीक्षक होमनाथ दाहालले बताए। ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न विभिन्न अभियान सञ्चालन गरे पनि कमी आउन नसकेको देखिन्छ। आजको नागरिक दैनिकमा खबर छ ।