एकाबिहानै प्रचण्डलाई किन भेट्न पुगे माधव नेपाल ?

सफल खबर संवाददाता

शुक्रबार, २२ कार्तिक २०७६, ०९ : ०२
एकाबिहानै प्रचण्डलाई किन भेट्न पुगे माधव नेपाल ?

काठमाडौं । पछिल्लो पटक पार्टीभित्र एक्लाइएको महसुुस गरेका वरिष्ठ नेता माधव नेपाल अचेल निक्कै बेचैनीमा छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सचिवालयमा एक्लै पार्दै भटाभट आफू अनुकुल निर्णय गर्ने र त्यसमा आफूलाई पेल्ने रणनीति अवलम्बन गर्न थालेपछि वरिष्ठ नेता नेपालमा पछिल्लो समय निकै बेचैनी बढेका हो । 

उनी पार्टीभित्र बन्दै गएको समीकरण र त्यसवाट सिर्जित अवस्था चिरेर आफूलाई कसरी बलियो बनाउने भन्नेमा गम्भीर छलफलमा छन् । त्यसका लागि नेपाल कहिले आफू पक्षीय नेताहरुसँगको सम्वादमा हुन्छन् त कहिले पार्टीका अर्का अध्यक्ष प्रचण्ड कहाँ पुगेर कसरी जाने होला ? मिलेर जानुप¥यो भन्दै पुग्न थालेका छन् ।

त्यही क्रममा उनी बिहीबार बिहानै प्रचण्ड निवास खुमलटार पुगेका छन् । पार्टी सचिवालयमै एक पछि अर्काे फरक मत राख्नुपर्ने र ओलीले साविक एमालेभित्रको विगतको झगडाकै आधारमा उनलाई पेलेरै भागवन्डाको निर्णयमा निमिट्यान्न पार्न थालेपछि वरिष्ठ नेता नेपाल चर्काे दबाबमा परेका छन् ।

पार्टीभित्र खरो उत्रिन नसकेको, सबै पक्षलाई समेटेर लैजान नसकेको र आफू पक्षका नेताहरु अन्यायमा पर्दा समेत प्रतिक्रियात्मक राजनीतिमा मात्र सीमित हुन थालेको भन्दै उनी पक्षधर नेताहरुबाटै वरिष्ठ नेता नेपाललाई प्रेसर पर्न थालेको छ ।

‘कि त वारपारको नीति बनाएर जाऔँ भन्न सक्नुप¥यो, कि पार्टीभित्र ओलीको पेलाइको सामूहिक प्रतिवादका लागि नेता कार्यकर्ता तयार पार्नुप¥यो,’ नेपाल निकट एक स्थायी समिति सदस्यले भने, ‘उहाँ (माधव) आफैं अन्यौलमा हुनुहुन्छ, यसो गरौं पनि छैन, उसो गरौं पनि छैन । रुन्चे लवज मात्र देखियो ।’

नेता नेपाललाई उनी पक्षधर नेताहरुले पार्टीभित्र आफू पक्षीय नेतालाई पेलेर जाने नीति अवलम्बन भए पार्टी निर्णयमा बहिष्कारको नीति बनाएर जान दबाब बढाइरहेका छन् । तर नेपाल अझै पर्ख र हेरको नीतिमै देखिन्छन् ।

प्रदेश प्रमुख नियुक्तिमा समेत आफू पक्षीय कुनै नेतालाई स्थान निदएको तर ओलीले आफ्ना चुनाव हारेका सम्मलाई पटकपटक अवसर दिने गरेको भन्दै नेपाल पक्ष असन्तुष्ट छ । यो निर्णय गर्दा वरिष्ठ नेता नेपालले पार्टीमा आफनो फरक मत राख्ने बताएका छन् । तर त्यो फरक मत उनले बुझाई सकेका भने छैनन ।

नेता नेपाल अमेत बोहोरा, डा वेदुराम भुषाललगायतका नेताहरुलाई कम्तीमा प्रदेश प्रमुख बनाउन चाहन्थे । तर उनको नाममा ओलीले छलफल नै गर्न नचाहेबाट नेपाल ओलीसँग रुष्ट देखिएका छन् ।पछिल्लो पटक आफनै समूहबाट चर्काे प्रेसरमा परेका नेपाल त्यही भएर पनि अध्यक्ष प्रचण्डकहाँ भेटन पुगेका हुन् ।

दुइ नेताबीचको भेटको फेहरिस्त सार्वजनिक हुन नसके पनि नेपालले प्रचण्डसँग तत्काल पार्टी स्थायी समिति बैठक बोलाउन माग गरेको बुझिएको छ । नेपाल निकट ती स्थायी समिति सदस्यले भने, ‘उहाँ (माधव)को भर सचिवालयमा भन्दा स्थायी समितिमा छ, कम्तीमा स्थायी समिति बैठक बसेमा आफ्नो साथ बलियो हुने उहाँको अपेक्षा देखिन्छ ।’

प्रचण्डले भने पार्टीभित्र ओली र नेपालको बीचमा बढ्दै गएको असमझदारी मिलाएरै जानुपर्नेमा जोड गरिरहेका छन् । कतिपय कार्यशैलीगत समस्या पार्टीमा रहेको र त्यसलाई मिलाएर जानुपर्नेमा प्रचण्ड रहेका उनी निकट स्रोतले जनाएको छ । प्रचण्ड पार्टीमा सन्तुलनकारी भूमिकामा छन् । उनी अहिले नै ओली र नेपाल कसैलाई पनि चिढाएर जाने पक्षमा देखिन्नन् । दुबै नेताहरुलाई सकभर मिलाउने गरी उनी जान चाहिरहेका छन् ।

वरिष्ठ नेता नेपालले पार्टी बैठक बोलाउन माग गर्दै बिहीबार प्रचण्ड निवास खुमलटार पुग्दा पनि उनले नेपाललाई आफू बैठकको पक्षमा रहेको जवाफ दिएका थिए । नेपालसँगको भेटपछि प्रचण्ड प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

बालुवाटारमा प्रचण्ड, ओली र महासचिव विष्णु पौडेल वीचमा उपचुनाव तयारी, पार्टी बैठक, बाँकी एकताका कामलगायतका विषयमा छलफल भएको बुझिएको छ । छलफलपछि प्रचण्ड कास्की पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस