काठमाडौं । यौन दुव्र्यवहारको आरोपमा पुर्पक्षका लागि जेलमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराबारे नेकपाका अध्यक्ष प्रचण्डले पहिलो पटक बोल्नुभएको छ ।
पार्टी कामको सिलसिलामा दाङ पुग्नुभएका प्रचण्डलाई सञ्चारकर्मीहरुले महरा प्रकरणका विषयमा धारणा माग गरेपछि प्रचण्डले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो । सञ्चारकर्मीमाझ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘महराले गल्ती गरेकै हुन् । यो विषय अदालतमा कानुनी प्रक्रियामा रहेकोले कानुन अनुसार नै कारवाहीको प्रक्रिया अघि बढन्ेछ ।’
महराले कमजोरी गरेपछि आफूलाई समेत ढाँटेको अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘महराले गम्भीर नैतिक गल्ती गर्दा पनि उल्टै पार्टी अध्यक्षलाई ढाँटेर झन ठूलो गल्ती गर्नुभयो । महरासँग घटनाबारे जानकारी माग्दा गलत कुरा बताउनुभयो, पहिले केही गरेको छैन भन्नुभयो । पछि सबै तथ्यहरुले उहाँले गल्ती गरेको पुष्टी भयो ।
आफैंले पनि स्वीकार्नुभयो’ प्रचण्डले पत्रकारसँग भन्नुभयो, ‘पहिले अरु नेताहरुलाई बुझ्न पठाएँ, गलत जानकारी दिनुभयो । चित्त नबुझेर आफैं बुझ्न गएँ तर पनि सही कुरा भन्नुभएन, आफ्नो नेतृत्वलाई त्यसरी ढाँट्नु उचित भएन । झन् गल्ती भयो ।’
अध्यक्ष प्रचण्डले जिम्मेवार पदमा पुगेको व्यक्तिले अनैतिक काम गर्नु र पार्टी नेतृत्वलाई ढाँट्नु झन् नराम्रो काम भएको बताउनुभयो । प्रचण्डले अदालतमा रहेको मुद्दाका विषयमा अहिले आफुले धेरै कुरा नगर्ने बताउँदै यस्ता घटनामा राजनीतिक संरक्षण समेत नहुने बताउनुभयो ।
‘यो गम्भिर नैतिक गल्ती हो । यस्तो घटनामा राजनीतिक संरक्षण उचित हुँदैन,’ प्रचण्डले भन्नुभयो, ‘अदालतले निर्णय गर्ने कुरामा हामीले केही बोल्नु उचित हुँदैन । स्वतन्त्ररुपमा छानविन र निर्णय गर्न दिनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० कार्तिक २०७६, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ