को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?

एजेन्सी

सोमबार, १४ बैशाख २०८३, ०७ : १५
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?

एजेन्सी । वासिङ्टन डिसीमा आयोजित 'ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर' का क्रममा शनिबार राती गोली चलाउने व्यक्तिको पहिचान खुलेको छ। कानुन कार्यान्वयन गर्ने निकायहरूका अनुसार पक्राउ परेका व्यक्ति ३१ वर्षीय कोल टोमास एलेन  हुन्।

एलेन क्यालिफोर्नियाको लस एन्जलस क्षेत्र अन्तर्गत टोरेन्सका बासिन्दा हुन्। उनी पेसाले मेकानिकल इन्जिनियर, गेम डेभलपर र शिक्षक हुन्। उनको शैक्षिक पृष्ठभूमि निकै प्रतिष्ठित देखिएको छ । उनले अमेरिकाको प्रख्यात विश्वविद्यालय 'क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी' बाट मेकानिकल इन्जिनियरिङ पढेका थिए।

यसैगरी सन् २०२५ मा उनले क्यालिफोर्निया स्टेट युनिभर्सिटीबाट कम्प्युटर साइन्समा स्नातकोत्तर पूरा गरेका थिए। उनी सन् २०२० देखि पार्ट-टाइम शिक्षकका रूपमा कार्यरत थिए भने डिसेम्बर २०२४ मा उनलाई 'मन्थ अफ द टिचर' बाट सम्मानित समेत गरिएको थियो। उनले एउटा भिडियो गेम समेत बनाएर सार्वजनिक गरेका थिए।

बीबीसीको अनुसन्धान अनुसार, एलेनले मतदाता नामावलीमा कुनै पनि विशेष राजनीतिक दलको सदस्यका रूपमा आफूलाई दर्ता गराएका थिएनन्। तर, संघीय निर्वाचन आयोगको रेकर्ड अनुसार उनले अक्टोबर २०२४ मा कमला ह्यारिसको चुनावी अभियानका लागि २५ डलर चन्दा दिएका थिए।

वासिङ्टन हिल्टन होटलमा भएको सो कार्यक्रममा एलेनले ५ देखि ८ राउन्ड गोली चलाएको बताइएको छ। पक्राउ परेपछि उनले सुरक्षा अधिकारीहरूलाई दिएको बयान अनुसार उनी ट्रम्प प्रशासनका अधिकारीहरूलाई गोली हान्न चाहन्थे। कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चका अनुसार उनको मुख्य निशानामा सम्भवतः डोनाल्ड ट्रम्प नै थिए।

सुरक्षा जाँचका क्रममा उनीसँग एउटा शटगन, एउटा ह्यान्डगन र धेरै वटा चक्कुहरू फेला परेका थिए। होटल भित्रै उनले हतियार जडान गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

अहिले एलेन प्रहरी हिरासतमा छन् भने उनलाई 'हिंसात्मक अपराधमा हतियार प्रयोग गरेको' र 'संघीय अधिकारीमाथि आक्रमण गरेको' अभियोग लगाइएको छ। उनलाई सोमबार संघीय अदालतमा पेस गरिनेछ। एफबीआईले उनको क्यालिफोर्नियास्थित घरमा समेत छापा मारी थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस