पीडितको ‘मेडिकल हिस्ट्री’ ले पुर्‍यायो जेल

पत्रपत्रिकाबाट

मंगलबार, १९ कार्तिक २०७६, ०७ : २९
पीडितको ‘मेडिकल हिस्ट्री’ ले पुर्‍यायो जेल

फाईल फोटो

काठमाडौं । जबरजस्ती करणी उद्योगको अभियोगसहित मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन्।  काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महरालाई सदरखोर डिल्लीबजार लगिएको छ। अदालतका प्रमुख न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामा राख्न आदेश दिएको हो।

महराविरुद्धको अभियोगमा थुनछेकसम्बन्धी बहस सकिएपछि अभियोगपत्रसाथ तत्काल प्राप्त सबुतप्रमाणका आधारमा थुनामा राख्नुपर्ने निष्कर्षमा इजलास पुगेको थियो। महराका कानुन व्यवसायीले भने कसुर पुष्टि हुने आधार र कारण नदेखिएको भन्दै साधारण तारेखमा छाड्न माग गरेका थिए।

इजलासले पीडितको सुरु किटानी जाहेरी, उपचार गराउन जाँदा महराले कुटपिट गरेको भन्ने ‘मेडिकल हिस्ट्री’, घटनापछि पीडितले तीनकुने सामुदायिक मार्गस्थित डेरामा घटना भएको भन्दै प्रहरीको १०० नम्बरमा गरेको फोनलाई आधार बनाएको छ।

यस्तै उक्त विवरण प्राप्त भएपछि रानीपोखरी प्रहरी प्रभागबाट बानेश्वर प्रहरी वृत्तलाई दिएको निर्देशन, बानेश्वर प्रहरीका डीएएपीले पीडितको कोठामा पुगेर गरेको घटना मुचुल्का, कांग्रेस नेतृ उमा रेग्मीलाई मोबाइलमा सुनाएको घटना विवरणले पनि घटना पुष्टि हुने इजलासको ठहर छ।

महराका सुरक्षाकर्मीले पीडितको ढोकामा पुर्‍याएको भन्दै गरेको कागज, रक्सीको बोतलसहित आएको भन्दै प्रहरीलाई दिएको जानकारी, महरा राति साढे आठ बजेसम्म सामुदायिक मार्गमै देखिएको सीसीटीभी फुटेजजस्ता प्रमाणबाट किटानी जाहेरी पुष्टि भएको विश्लेषण इजलासको छ। यस्तै कोठाबाट बरामद भएका रक्सीका गिलास, बोतल, पुरुषले लगाउने जुत्ताको तलुवा, फुटेको चस्माको डन्डी र सिसा तथा पेनड्राइभलाई प्रमाणका रूपमा लिइएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।