उपकुलपतिसामु चुनौती नै चुनौती

पत्रपत्रिकाबाट

मंगलबार, १९ कार्तिक २०७६, ०७ : १४
उपकुलपतिसामु चुनौती नै चुनौती

काठमाडौं । नवनियुक्त उपकुलपति डा. धर्मकान्त बास्कोटासामु दर्जनौं चुनौती देखिएको छ। हिजो सोमबारबाट त्रिविको १९औं उपकुलपतिको कार्यभार सम्हालेलगत्तै राजनीतिले पूर्णरूपमा गाँजेको त्रिविलाई कसरी मुक्त गर्ने भन्ने विषय मुख्य चुनौती छ।

लामो समयदेखि संकायका डीन, सहायक डीन, क्याम्पस प्रमुखलगायत विभिन्न निकायमा राजनीतिक भागवण्डा हुने त्रिविमा विभिन्न पदमा नियुक्ति गर्न उहाँले कसरी राजनीतिक सहमति जुटाउनुहन्छ भन्ने विषय पेचिलो बन्दै गएको छ।

आइतबार नियुक्ति पाएलगत्तै संक्षिप्त प्रतिक्रिया दिने क्रममा उहाँले आफू सबै दलका संघ–संगठनसँग बसेर छलफल गरी अहिलेजस्तो त्रिविमा देखिएको राजनीतिक हस्तक्षेप मुक्त गर्ने उद्घोष गरे पनि राजनीतिकै आडमा नियुक्त हुनुभएका उपकुलपति डा. बास्कोटाले यस्ता विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय गम्भीर देखिएको छ। यो त भयो एउटा उदाहरण मात्र। यस्ता दर्जनौं चुनौती उहाँसामु छन्।

त्रिविको बिग्रिएको साख कसरी जोगाउने भन्ने विषयमा उहाँ गम्भीर हुनुपर्छ। त्रिविमा हाजिर गर्ने तर अर्कै कलेजमा पढाउने प्रवृत्ति रहेका ‘हेल्मेट शिक्षक’लाई कसरी रोक्ने यो विषय उहाँका लागि चुनौती हो। सयौंको संख्यामा रहेका स्थायी शिक्षक व्यवस्थापन अर्को चुनौती हो।

राजनीतिशास्त्र, संस्कृत, हिन्दी, शिक्षा, इतिहासजस्ता दर्जनौं विषयमा विद्यार्थी नभएका तर शिक्षक धेरै भएका विषयका स्थायी शिक्षकलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय पनि उहाँका सामु चुनौती बनेर उभिएका छन्। ती शिक्षकलाई अन्यत्र व्यवस्थापन गर्ने कि तलब मात्र खुवाएर राख्ने भन्ने विषय टड्कारो समस्याका रूपमा खडा भएको छ।

नयाँ पाठ्यक्रमको आधारमा पढाउने क्षमता नभएका शिक्षकलाई कसरी नयाँ युगअनुसार पठनपाठन गराउने, पार्टीका कार्यकर्ताका रूपमा काम गरिरहेका कर्मचारीलाई कसरी काम गर्न लगाउने, हाजिर नै नगरी जागिर खाइरहेका कर्मचारी र शिक्षकलाई कसरी काममा ल्याउने वातावरण मिलाउने, सेवा र सुविधामा देखिएको विभेद कसरी अन्त्य गर्नेलगायत विषय नयाँ उपकुलपतिका लागि चुनौती बनेका छन्। नेपाल समाचारपत्र