उपनिर्वाचन : उम्मेदवार छान्दै दल

रासस

सोमबार, १८ कार्तिक २०७६, १५ : ११
उपनिर्वाचन : उम्मेदवार छान्दै दल

बागलुङ । आउँदो मङ्सिर १४ गते बागलुङ–२ (ख)मा हुने उपनिर्वाचनका लागि दलहरु उम्मेदवार छनोटको अन्तिम कसरतमा जुटेका छन् । मुख्य प्रतिस्पर्धी मानिएका नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाकै उम्मेदवारको टुङ्गो लागेको छैन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भने राजमोका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।

नेपाली काङ्ग्रेस बागलुङका सभापति दीपेन्द्र थापामगरले भोलिसम्ममा उम्मेदवारको अन्तिम टुङ्गो लाग्ने बताउनुभयो । नेपाली काङ्ग्रेसबाट महाधिवेशन प्रतिनिधि जीतबहादुर शेरचन, क्षेत्रीय सभापति दोर्ण कुँवर, महाधिवेशन प्रतिनिधि टेकराज पौडेल र तुलासिंह घर्ती सम्भावित उम्मदेवारको सूचीमा हुनुहुन्छ ।

नेकपासँगको तालमेलमा उपनिर्वाचन लड्न लागेको राष्ट्रिय जनमोर्चाले पनि आजै साँझ या भोलिसम्ममा उम्मेदवार तोकिने जनाएको छ । “जिल्लाको राय, सुझाव र सिफारिसका आधारमा पार्टी केन्द्रले उम्मेदवारबारे अन्तिम निर्णय गर्छ”, राजमो बागलुङका अध्यक्ष अमर थापाले भन्नुभयो । 

नेकपासँग तालमेल हुने भएपछि उम्मेदवार छनोटको विषय थप पेचिलो बनेको उहाँको भनाइ छ । अघिल्लो चुनावमा पनि वाम गठबन्धनको बलमा राजमोले उक्त क्षेत्रमा विजय हासिल गरेको थियो । राजमो जिल्ला समिति बैठकले सम्भावित उम्मेदवारका रूपमा गत वर्ष निधन हुनुभएका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीकी पत्नी सुनमाया घर्ती, जिल्ला उपाध्यक्ष धर्मबहादुर कुँवर र जिल्ला सदस्य खिमविक्रम शाहीको नाम सिफारिस गरेको थियो ।

समाजवादी पार्टीले भने अशोककुमार विकलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । अन्य साना दल पनि उम्मेदवार छनोटको तयारीमा छन् । उपनिर्वाचन हुन लागेको क्षेत्रबाट प्रदेशसभा सदस्यमा राजमोका टेकबहादुर घर्ती विजयी हुनुभएको थियो । घर्तीको गत वर्ष निधन भएपछि रिक्त रहेको प्रदेशसभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो ।

उम्मेदवारको टुङ्गो लागेपछि चुनावी अभियानलाई तीव्र बनाउने तयारीमा दलहरु छन् । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मिति यही कात्तिक २१ गतेलाई तोकेको छ । प्रदेशसभा सदस्यसँगै जिल्लाको बडिगाड गाउँपालिका–२ मा पनि वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । वडाध्यक्षमा निर्वाचित विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि उक्त वडामा पनि उपनिर्वाचन हुन लागेको हो ।

वडाध्यक्षको चुनावका लागि नेकपाले ढालेन्द्र शेरचन र नेपाली काङ्ग्रेसले दिलबहादुर रानालाई उम्मेदवार बनाएका छन् । अन्य दलले भने उम्मेदवारको टुङ्गो लगाउन बाँकी छ । दुवै पदमा हुने उपनिर्वाचनका लागि ३६ हजार ९२६ मतदाताको अन्तिम नामावली टुङ्गो लागेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उपनिर्वाचनका लागि २५ मतदानस्थल र ४५ मतदान केन्द्र तोकिएको छ । 

दाङ क्षेत्र नं ३ मा तयारी तीव्र

दाङ – आगामी मङ्सिर १४ गते दाङमा हुन गइरहेको उपनिर्वाचनको दाङ क्षेत्र नं ३ ख र घोराही उपमहानगरपालिका–१६ मा चुनावी चहलपहल बढेको छ । अहिले त्यहाँका टोल, चियापसल तथा बजारका चोकचोकमा उपचुनावको चर्चा–परिचर्चा चलेको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र साझा पार्टीले प्रदेशसभा सदस्यका उम्मेदवारको टुङ्गो लगाएका छन् भने नेपाली काङ्ग्रसले उम्मेदवार छनोट गर्न बाँकी छ ।

वडाध्यक्षका लागि नेपाली काङ्ग्रेसले उम्मेदवारको टुङ्गो लगाइसकेको छ । नेकपाले दाङ क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि बिमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने नेपाली काङ्ग्रेसले अझै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । सो क्षेत्रमा उम्मेदवार चयनका लागि जिल्लाबाट १० जनाको नाम सिफारिस गरेका कारण उम्मेदवार छान्न सकस परेको छ । सम्भवतः भोलि टुङ्गो लाग्ने जिल्लाका एक नेताले जनाएका छन् ।

त्यसैगरी राप्रपाले प्रदेशसभाका लागि जिल्ला उपाध्यक्ष भूपाल रावत, राष्ट्रिय जनमोर्चाले दिलाराम बुढाथोकी र साझा पार्टीले शिवकुमार चौधरीलाई उम्मेदवार बनाएको छ । समाजवादी पार्टीले डिल्लीबहादुर डाँगीलाई उम्मेदवार चयन गरेको छ ।

नेकपाबाट उम्मेदवार बन्नुभएका वली सो क्षेत्रका प्रदेशसभा सदस्य स्व उत्तरकुमार वलीकी धर्मपत्नी हुनुहुन्छ । वलीको गत फागुनमा प्रदेशसभाको बैठकबाट फर्कने क्रममा आफ्नै कार दुर्घटना हुँदा निधन भएको थियो ।

यसैबीच मङ्सिर १४ गते हुन गइरहेको  उपनिर्वाचनअन्तर्गत दाङमा प्रदेशसभा सदस्य निर्वाचनका लागि  हिजो  मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । घोराहीस्थित जिल्ला वकिल कार्यालयको भवनमा  मुख्य  निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाको अध्यक्षता तथा दाङका प्रजिअ गोविन्दप्रसाद रिजालको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत थापाले  निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादितरूपमा सम्पन्न गराउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

दाङ क्षेत्र नं ३ को (ख) मा तुलसीपुर उपमहानगरपमलिका–१, २, १० र ११ वडा त्यस्तै शान्तिनगर, दङ्गिशरण र बबई गाउँपालिका पर्दछन् भने कूल मतदाता ६८ हजार ७१९ रहेका छन् । पुरुष मतदाता ३३ हजार ७७८ महिला मतदाताको सङ्ख्या ३९ हजार ६६० र एक जना तेस्रोलिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख बुद्धिबहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रदेशसभाका लागि ३२ र वडाका लागि जम्मा दुई गरी जम्मा  ३४  मतदानस्थल निर्धारण गरिएको पनि निर्वाचन कार्यालय दाङका प्रमुख खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशसभाका लागि ७७ र वडाका लागि पाँचवटा गरी जम्मा ८२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसैबीच निर्वाचनलाई मध्यनजर गरी दाङको सुरक्षा व्यवस्थालाई सुदृढ पारिएको छ । प्रजिअ गोविन्दप्रसाद रिजालले निर्वाचन सुरक्षा कार्ययोजना बनाइसकेको जानकारी दिनुभयो । उहाँले मतदानस्थललाई वर्गीकरण गरिएको पनि बताउनुभयो । उहाँका अनुसार २६ मतदानस्थल संवेदनशील, ६ स्थल अति संवेदनशील र दुईवटा स्थल सामान्य रहेको विश्लेषण गरिएको छ ।

उहाँले ढुक्क भएर मतदातालाई मतदान गर्ने वातावरण तयार गर्ने, मतदानस्थल मतदान केन्द्रको प्रभावकारी सुरक्षा प्रवाह गर्ने र सबै सुरक्षा निकायको समन्वयमा काम गरिनेसमेत बताउनुभयो । 

यसैबीच निर्वाचन सुरक्षालाई मध्यनजर गरी आजदेखि प्रदेश नं ५ को राजधानी बुटवलमा ५ नं प्रदेशस्तरीय सुरक्षा गोष्ठी पनि शुरु भएको छ ।

यसैबीच घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदमा पनि उपनिर्वाचन हुने भएको छ । सो वडाका वडाध्यक्ष लक्षिणप्रसाद बुढाको पनि केही महिनापहिले उपचारका क्रममा मृत्यु भएको हो । 

सो वडाको मतदान गराउन उच्च अदालत तुलसीपुरका उपसचिव प्रेम खड्कालाई निर्वाचन अधिकृत तोकिएको छ । अहिलेसम्म नेपाली काङ्ग्रेस दाङले वडाध्यक्ष  पदका लागि तरुण दल दाङका नेता रहेका तारा डिसीलाई   उम्मेदवार चयन गरेको छ भने नेकपा तथा अन्य दलले उम्मेदवारको अझै टुङ्गो लगाएका छैनन् ।  सो वडामा चार हजार ४५३ मतदाता रहेका छन् । पुरुष दुई हजार ८८ र महिला दुई हजार ३६५ रहेका छन् ।

नेकपाले टुङ्ग्यायो उम्मेदवार

कावासोती–नवलपरासीको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका–५ मा हुने वडाध्यक्ष पदको निर्वाचनका लागि सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरले उम्मेदवारको टुङ्गो लगाएको छ । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेकपाले वडाध्यक्ष पदका लागि खिमबहादुर थापा खरुमगरलाई उठाउने सर्वसम्मत निर्णय गरेको छ । जिल्ला कमिटीको बैठकले सर्वसम्मतरूपमा खरुमगरलाई वडाध्यक्ष पदमा उठाउने निर्णय गरेको नेकपा जिल्ला कमिटी अध्यक्ष रोशनबहादुर गाहाले बताउनुभयो । खरुमगर बौदीकाली–५ को नेकपाको वडा कमिटी सदस्य हुनुहुन्छ । 

नवलपरासी पूर्वनवलपुरको बौदिकाली गाउँपालिका–५, मा वडाध्यक्षका लागि निर्वाचन हुन लागेको जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वका प्रमुख सुदीप पाण्डेले बताउनुभयो । जिल्लामा एक स्थानमा मात्रै उपनिर्वाचन हँुदैछ । 

वडाध्यक्ष दलबहादुर खरूमगरको हृदयाघातका कारण निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्षमा तत्कालीन नेकपा एमालेबाट उम्मेदवारी दिनुभएको दलबहादुर खरुमगर निर्वाचित हुनुभएको थियो । मगरले ३८४ मत प्राप्त गर्नुभएको थियो उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका मुक्तबहादुर थापा मगरले १५४ मत प्राप्त गर्नुभएको थियो । वडाध्यक्ष मगरको निधनपछि नेकपाबाटै वडा सदस्य जित्नुभएका कुलसिंह रानालाई कार्यवाहक दिइएको थियो । उहाँको पनि गएको भदौ महिनामा हृदयघातका कारण निधन भएको थियो । 

वडाध्यक्षका लागि हुने निर्वाचनमा नेपाली काङ्गे्रस नवलपुरले भने उम्मेदवारको टुङ्गो लगाएको छैन । यस वडामा हाल ८५३ मतदाता रहेका छन् । निर्वाचनका लागि वडामा कात्तिक २० गते कार्यालय खोलिने निर्वाचन कार्यालयका प्रमुख पाण्डेले बताउनुभयो । वडा नं ५ मा रहेको उदय आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएको छ । मतदान केन्द्रमा एक मतदान अधिकृतसहित आठ जनासम्म कर्मचारी परिचालन गरिने प्रमुख पाण्डेले बताउनुभयो ।  (रासस)