वीरको ‘भीभीआईपी’ कक्ष सधैं रित्तै

पत्रपत्रिकाबाट

सोमबार, १८ कार्तिक २०७६, ०७ : ५४
वीरको ‘भीभीआईपी’ कक्ष  सधैं रित्तै

काठमाडौं । वीर अस्पतालको पहिलो तलाको उत्तरपूर्वमा अति अतिविशिष्ट (भीभीआईपी) कक्ष छ। हरेक कक्षको बाटो (प्यासेज) मा लचकदार गलैंचा बिच्छ्याइएको छ। बिरामी सुत्ने कोठामा अत्याधुनिक उपकरणजडित छ। बाथटबसहितको कोठाभित्रै (अट्याच) बाथरुम र शौचालय छ।

स्टोरसहितका आठवटा भीभीआईपी कक्षका विभिन्न कोठामा आगन्तुकका लागि महँगो सोफा छ। अस्पतालको सुविधासम्पन्न भीभीआईपी शड्ढयामा तीस वर्षयता कोही पनि सेवा लिन पुगेका छैनन्। तर पनि हरेक साताको कम्तीमा दुईपटक पुछपाछ भइरहेको छ। महँगा बिलासी सोफामा धुलो पर्न नदिन प्लास्टिकले बेरेर राखिएको छ। भीभीआईपी कक्षकी इन्चार्ज सीता अर्याल भन्छिन्, ‘ठूला व्यक्ति आउन सक्ने भएकाले सफा चिटिक्क त पार्नैपर्‍यो नि।’

अस्पतालले तयार पारेको निर्देशिकाअनुसार भीभीआईपी व्यक्तिमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वराष्ट्रपति र बहालवाला उपप्रधानमन्त्रीसमेत पर्छन्। गत महिना राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्य परीक्षण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भएको थियो। प्रधानमन्त्री केपी ओली पनि शिक्षण अस्पताल र ग्रान्डी इन्टरनेसनल अस्पताल पुगेका छन्। प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा उच्च रक्तचाप भएको जनाउँदै नर्भिक इन्टरनेसनल अस्पतालमा बसे। पूर्वराष्ट्रपति रामवरण यादव दाँतको उपचारका लागि वीर अस्पताल गएका थिए। तर उनले पनि भीभीआईपी कक्ष उपयोग गरेनन्।

२०४६ सालअघि राजपरिवारका सदस्यले भीभीआईपी कक्षको उपयोग गरेको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले जानकारी दिए। तीस वर्षयता मुलुकका भीभीआइपीहरू सेवा लिन नआए पनि उक्त कक्ष चुस्त ढंगले राखिएको छ। आजको अन्नपूर्णपोस्ट मा खबर छ।

प्रतिक्रिया दिनुहोस