बदलिएको देउसी–भैलो

पत्रपत्रिकाबाट

आइतबार, १० कार्तिक २०७६, १९ : ४५
बदलिएको देउसी–भैलो

फोटो : जक्सन डटकम

काठमाडौं । तिहारसँग जोडिएको सबैभन्दा रमाइलो पाटो हो देउसी–भैलो। देउसीमा यति धेरै तामसी गुण छ कि, जो कोही देउसी खेल्न रौसिहाल्छन्। रौसिलो पारामा मिठासपूर्ण स्वर घन्काउँदै तपाईं हाम्रो दैलोमा आउँथे देउस्याहरु। देउसी भैलोविना तिहार पूरै निरस हुन्छ। समयले ठ्याक्कै कोल्टे फेरेपछि पहिलेको जस्तो मौलिक देउसी भैलो दुर्लभ भैसक्यो।

पछिल्ला वर्षमा देउसीको मौलिकता भाका हराउँदै गयो। मौलिक भाकाको ठाउँ लिएको छ हाइभोल्टेज साउण्ड सिस्टमले। प्रविधिले देउसीको मौलिकतालाई पूरै बदलिदिएको छ। सुरिलो स्वरमा देउसी भट्याउने, मादल र खैंजडीको तालमा नाँच्दै देउसी खेल्ने समूह देख्नै मुस्किल पर्छ।

‘मौलिक देउसी–भैलो पूरै हराइसक्यो। हरेक चिजमा विकृति पसेजस्तै देउसीमा पनि पस्यो’ हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ भन्छन्, ‘अहिले देउसी भन्न समेत छाडिसके। चर्को साउण्ड सिस्टम घन्काउँदै आउँछन् देउस्याहरु।’

समयको परिवर्तनस“गै अन्य संस्कार–संस्कृति पनि बद्लि“दा छन्, देउसी पनि यसबाट अछुतो छैन। हाइभोल्टेजका साउण्ड सिस्टम लगाएर खेलिन्छ देउसी। साथीभाइसँग मिलेर देउसी खेल्न रुचाउने युवायुवती पनि घट्दैछन्। उनीहरु देउसी भैलो खेलेर रमाइलो गर्नुको साटो, इमेल इन्टरनेट, फेसबुक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा झुमिन्छन् ।

पोखरेली लेखक गनेस पौडेलको कुरा सुनौ न। उनले भैलो हेर्न छाडेकै वर्षौैं बितिसक्यो। खेल्न छाडेको त तीन दशकै भइसक्यो। ‘हातमा ठेला पर्ने गरी मादल बजाउने अनि घाँटी सुक्ने गरी गाएर भैलो खेल्ने चलनै छैन,’ लेखक पौडेल भन्छन्, ‘अहिलेका युवाले यतिविधि दुःख नै गर्दैनन्। त्यसैले भैलो भैलोजस्तो हुँदैन।’

देउसी–भैलोको मौलिकता मात्रै गुमेको छैन, पछिल्लो समय माग्ने पर्व जस्तै भएको छ। तथानामका समूह बनाएर देउसी खेल्न आउँछन्। तिनले संकलन गरेको रकम सामाजिक काममा भन्दा रंग रमाइलोकै लागि खर्चिन्छन्। यस्तै समूहको बिगबिगी भएकाले घर मालिक पनि पैसाकै लागि भनेर देउसी खेल्न आएका भन्दै गनगन गर्छन्। मन खोलेर दक्षिणा गर्ने जमाना पनि हराइसके।  देउसीकै कारण रमाइलो बन्ने तिहार पछिल्लो समय खल्लो बनेको छ। आधुनिकताको नाममा देउसीका भाका र खेल्ने तरिका फूरै बदलिएका छन्।

कतिपय देउसी समूहले गर्ने उच्छृंखलताले देउसीलाई नकारात्मक रुपमा हेर्नेहरु पनि बढेका छन्। ‘लक्ष्मी पूजादेखी सुरु हुने देउसी भैलो दुई चार दिन अघिदेखि नै माग्न आउँछन्। तिहार सकिएको दुई चार दिनसम्म रहन्छ त्यो क्रम रहिरहन्छ’ प्राचीन साँझका परिकल्पनाकार एवं संस्कृतिकर्मी कृष्णकुमार गुरुङ भन्छन्, ‘भैलो संस्कृतिमा पसेको यो पूरै विकृति हो। यस्ता कामलाई हामीले निरुत्साहित गर्नुपर्छ।’ शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस