माइतीघरमा आमरण अनशन बसेका सिंहलाई स्वास्थ्य मन्त्री शर्माले भेटिन्

सफल खबर संवाददाता

शुक्रबार, २८ कार्तिक २०८२, १५ : ०५
माइतीघरमा आमरण अनशन बसेका सिंहलाई स्वास्थ्य मन्त्री शर्माले भेटिन्

काठमाडौँ । स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले माइतीघर मण्डलामा आमरण अनशन बसेका यादव सिंहलाई आज भेट गरेकी छन् ।

जेन जेड आन्दोलनको माग सम्बोधन गर्नुपर्ने भन्दै सिंह माइतीघरमा आमरण अनशन बसिरहेका छन् ।

उनलाई भेट्न स्वास्थ्य मन्त्री शर्मा आज माइतीघर पुगेकी हुन् । मन्त्री शर्माले सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएकी छन् ।

जेन जेड आन्दोलनको माग पूरा गराउन दबाब दिने उद्देश्यले २६ कात्तिकदेखि सिंहले माइतीघरमा आमरण अनशन सुरु गरेको हुन् ।

जेन जेडले २३ भदौको गरेको शान्तिपूर्ण आन्दोलनमा गोली हानी हत्या गर्न बाध्य पार्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरी फौजदारी कानुन बमोजिम सामूहिक हत्याका मुद्दामा कारबाही अगाडि बढाउन उनले माग राखेका छन् ।

साथै उनले जेन जेड आन्दोलनका शहीद परिवार र घाइतेहरूको माग तत्काल सम्बोधन गर्नुपर्ने, जेन जेड आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्नुपर्ने माग राखेका छन् ।

यसैगरी राजनीतिक पद र प्रशासनिक ओहोदामा बसी अकूत आर्जन गर्नेलाई भ्रष्टाचारजन्य कसुरको दायरामा ल्याउन उच्चस्तरीय सम्पत्ति छानबिन न्यायिक आयोग गठन गर्नुपर्ने माग उनले राखेका छन् ।

यसैगरी अदालतका न्यायाधीशहरूको सम्पत्ति छानबिन र कारबाहीका लागि न्याय परिषद् मार्फत छानबिन आयोग गठन गर्नुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस