रौतहट । बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलममाथिको अनुसन्धानलाई अन्तिम रूप दिने तयारी गरेको छ । घटनासित जोडिएका धेरै पात्र फेला पारेको प्रहरीले जनाएको छ ।
१२ वर्षअघिको बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका आलममाथि अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले शुक्रबार तेस्रो पटक प्रहरीलाई थप ८ दिन म्याद दिएको छ । प्रहरीले तिहारपछि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अदालतमा पेस गर्ने भएको छ । सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर बम विस्फोटमा घाइते भएको र उनीहरूलाई जिउँदै इँटाभट्टामा हालेको भन्दै उनीहरूका परिवारजनले आलमलगायत विरुद्ध किटानी जाहेरी दिएका थिए । त्यस बेलाको घटनामा मारिएकाको संख्या भने यकिन हुन सकेको छैन ।
पहिलो सविधानसभा निर्वाचनको अघिल्लो दिन आलमकै गाउँ राजपुर फरदहवास्थित उनका काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । दिवंगत इद्रिस पूर्वमन्त्री हुन् । विस्फोटमा परी घाइते भएकालाई इँटाभट्टामा जलाइएको आरोप आलममाथि छ । बम विस्फोट नै नभएको भनी आलमले दिएको बयान झूटो भएको प्रहरीको ठम्याइ छ । झूटो बोले–नबोलेको पत्ता लगाउन प्रहरीले पोलिग्राफ परीक्षण गराउन खोज्दा आलमले मानेका छैनन् ।
तत्कालीन जिल्ला प्रहरी प्रमुख लक्ष्मण न्यौपानेकै सहयोगमा आलमले धेरै प्रमाण नष्ट गरेको पाइएको छ । एसपी न्यौपाने कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनमा मारिइसकेका छन् । घटना लुकाउन सहयोग गरेको भनिएका सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामा जागिरबाट निवृत्त छन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीसमेत निवृत्त
छन् । उनीहरू पनि सोधपुछको दायरामा पर्न सक्ने प्रहरी स्रोतले जनाएको छ । । यो समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १० कार्तिक २०७६, ०७ : १५
लेखकबाट थप