चिनियाँ राष्ट्रपति सीसँग प्रचण्डको १३ बुँदे ब्रिफिङ

प्रचण्डले भने, ‘रेल्वे सञ्चालन र निर्माणको मोडालिटीका बारेमा हामी खुला छलफल गर्न तयार छौं । तपाईंको तर्फबाट यो परियोजनालाई प्राथमिकतामा राखिदिन अनुरोध गर्दछु ।’

सफल खबर संवाददाता

सोमबार, २७ असोज २०७६, १२ : ४०
चिनियाँ राष्ट्रपति सीसँग प्रचण्डको १३ बुँदे ब्रिफिङ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङसँग नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले हिजो होटल सोल्टीमा पार्टीका अन्य ७ नेतासहित भेटघाट गरेका थिए । प्रचण्डले राष्ट्रपति सीसँग आफुले टिपोट गरेर लगेका १३ बुँदामा केन्द्रीत रहेर ब्रिफिङ गरेका थिए । 

नेपाल र चीनका बीचमा बृहत्तर र व्यावहारिक साझेदारीका लागि सन् २०१९ को अप्रिलमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०१८ को जुनमा प्रधानमन्त्री केपी ओलीको राजकीय चीन भ्रमण र सन् २०१७ को मार्चमा आफुले गरेको चीन भ्रमण, सन् २०१६ मा भारतको गोवामा भएको बिमेस्टेक–ब्रिक्स सम्मेलनमा भएको भेट र हालै भएका अन्य उच्चस्तरीय भ्रमणको सन्दर्भ उठान गर्दै प्रचण्डले राष्ट्रपति सीसँग पार्टीका तर्फबाट धारणा राखेका थिए ।

पार्टी नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायाणकाजी श्रेष्ठ, इश्वर पोखरेल, महासचिव विष्णु पौडेल र प्रदीप ज्ञवाली सहित सी भेट्न पुगेका प्रचण्डले पार्टीका तर्फबाट सीसँग धारणा राखेका थिए । अन्य नेताहरुले भने सीका धारणा सुन्ने र अध्यक्षले गरेको ब्रिफिङ सुन्ने काम मात्र गरेका थिए ।

 

सीसँग प्रचण्डको यस्तो थियो ब्रिफिङ

१) महामहिम र तपाईंंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस गरेको छु  । लामो समयको अन्तरालपछि महामहिमको नेपाल भ्रमण भएको छ। त्यसैले यो हाम्रा लागि ऐतिहासिक परिघटना बन्न पुगेको छ । नेपाल र चीनबीच साझा सदभाव, विकास, शान्ति र समृद्धि हासिल गर्न तपाईंको भ्रमणले दुई देश बीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन दिशा निर्देश गरेको छ । यस सन्दर्भमा, नेपाल र चीनका बीचमा बृहत्तर र व्यवहारिक साझेदारीका लागि सन् २०१९ को अप्रिलमा नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, सन् २०१८ को जुनमा नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय चीन भ्रमण र सन् २०१७ को मार्चमा मैले गरेको चीन भ्रमण, सन् २०१६ मा भारतको गोवामा भएको बिमेस्टेक–ब्रिक्स सम्मेलनमा तपाईंसँग भएको भेट र हालै भएका अन्य उच्चस्तरीय भ्रमणले सफलतापूर्वक खोलेका नयाँ क्षितिजलाई सम्झन चाहन्छु । सन् २००८ मा बेइजिङ ओलम्पिकको समापनमा मेरो सहभागिता र तत्कालीन राष्ट्रपति हु जिन्ताओसँगको भेटलाई पनि मैले यस अवसरमा सम्झिरहेको छु ।

२) विश्वको सन्तुलन र मानवहितका लागि न्याय, सदभाव र समृद्धि सिर्जना गर्न र साझा समृद्धि र भविश्यका लागि तपाईंको दुरगामी कदमले बीआरआई, एआइआईबी, ब्रिक्स बैंक स्थापना गर्न, सिल्क रोड कोष खडा गर्न र सभ्यताको सम्वाद गराउन पहल लिएको छ । जसलाई तपाईंका दुरगामी कदमका रुपमा उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ । तपाईंको दुरगामी अवधारणाले विश्व थप समृद्ध, सशक्त, सुरक्षित र निष्पक्ष हुने विश्वास गर्दछौं ।

३) जनवादी गणतन्त्र चीन स्थापनाको ७० बर्षको अवधिमा सामाजिक, आर्थिक प्रगति हासिल गर्न सफलतापूर्वक नेतृत्व गर्ने चिनियाँ कम्युनिष्ट पार्टीलाई बधाई दिन चाहन्छौं । दुई शताब्दीको लक्ष्यमा पुग्न चिनियाँ कम्युनिष्ट पार्टीलाई सफलता प्राप्त होस् भनी हामी शुभकामना दिन चाहन्छौं । चिनियाँ समाजको कायपलट गर्ने तपाईंको सपना वास्तविक रुपमा पूरा हुने हामी विश्वास गर्दछौं । हामीलाई लाग्छ, अहिलेको विकासको छलफललाई अवरोध गर्न र विश्वको पूरै अर्थतन्त्रलाई अस्थिर बनाउन बिश्वव्यापीकरण बिरोधी शक्तिहरु आमूल रुपमा विस्तारित भइरहेका छन् । समावेशी बिश्वव्यापीकरण, समानता, उज्यालो प्रबद्र्धनका लागि हामी चीनसँगै वकालत गरिरहेका छौं । हामी अल्प विकसित र भुपरिवेष्ठित मुलुकहरुलाई बिशेष व्यवस्थासहित नियमबद्ध विश्व सन्तुलन चाहन्छौं ।

४) नेपाल र चीन बीचको सम्बन्ध बर्षौंदेखि सभ्यतासँग जोडिएका छन् । पछिल्ला बर्षहरुमा राजनीतिक, साँस्कृतिक तथा आर्थिक गतिबिधि व्यापक रुपमा बृद्धि भइरहेका छन् । हाम्रो सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वको पञ्चशिलमा आधारित छ । हाम्रा एक अर्काका चासो र संवेदनशिलताहरुलाई हामी बुझ्छौं र सहयोग गर्छौं। हामी सधैंका मित्र, विश्वाशिला साझेदार र असल छिमेकी हौं ।

५) हामी शब्दमा मात्रै होइन, व्यवहारिक र कार्यान्वयनको तहमा पनि एक चीन नीति प्रति प्रतिबद्ध छौं । चीन बिरुद्ध हाम्रो माटोलाई प्रयोग हुन दिएका छैनौं र दिने पनि छैनौं । यो नेपालको हितमा पनि छ । हामी ठान्छौं कि ताईवान चीनको अभिन्न भाग हो र तिब्बतको विषय चीनको आन्तरिक मामिला हो । हामी चीनलाई अस्थिर बनाउन कोशिस गर्ने कुनै पनि शक्तिलाई कहिल्यै सहयोग गर्दैनौं । आतंकवाद र उग्रवादका बिरुद्ध चीनले चालेको बैधानिक कदमको हामी प्रशंसा गर्छौं । हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगरी नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकतामा तपाईंहरुले गरेको निरन्तरको सहयोग प्रति हामी कृतज्ञ छौं । हामी पीडामुक्त, परिक्षित र विश्वासिलो सम्बन्धमा रमाएका छौं । चीन जस्तो छिमेकी र तपाईं जस्तो साथी पाउँदा हामी गौरव महसुस गर्दछौं ।

६) सन् २०१७ मा म प्रधानमन्त्री भएको बेला बीआरआई सहयोग सम्झौतामा हस्ताक्षर गर्ने परिघटना उपयुक्त समय र महान फडकोको रुपमा मैले अहिले सम्झिरहेको छु, जसले नेपाल र चीन सम्बन्धलाई नयाँ युगमा प्रवेश गराएको छ । त्यो सम्झौताले सहयोगको कार्ययोजनालाई मात्र उपलब्ध गराएको छैन, त्यसले बहुक्षेत्रमा तीब्र रुपमा विस्तार गरेको छ, जसलाई जोसुकै शक्तिमा भएपनि अब यसलाई कसैले अवरुद्ध गर्न सक्ने अवस्था छैन । समयबद्ध कार्यतालिकासहितका परियोजनाको कार्यान्वयनमा तिब्रता दिने र प्राथमिकता निर्धारण गर्ने समय आएको छ, जसले दुवै मुलुकका जनतामा देखिने लाभ ल्याउनेछ । त्यसबाट मात्रै हामीले जनताका साझा चाहना सम्बोधन गर्न निरन्तर सहयोग प्राप्त गर्न सक्छौं । त्यसका लागि हामी तपाईंको सहयोग चाहन्छौं ।

७) हामी बीचको कनेक्टिभिटी एकदमै महत्वपूर्ण छ । ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कले हाम्रो सहयोगलाई सशक्त बनाउनेछ र हामी दुवै पक्षलाई नयाँ अवसर खुला हुनेछ । नेपालको अन्तर्रािष्ट्रय व्यापार, पारवहन र आर्थिक बिबिधिकरणका लागि रेल्वे कनेक्टिभिटी महत्वपूर्ण हुनेछ । रेल्वे सञ्चालन र निर्माणको मोडालिटीका बारेमा हामी खुला छलफल गर्न तयार छौं । तपाईंको तर्फबाट यो परियोजनालाई प्राथमिकतामा राख्न पनि म तपाईंलाई अनुरोध गर्दछु । कृषि सहयोगसहितका अन्य साझा हितका परियोजना संयुक्त रुपमा विकास गर्न म जोड दिन चाहन्छु । चिनियाँ लगानीमा सञ्चालित हुने परियोजनाका लागि उपयुक्त वातावरण बनाउन आफनो तर्फबाट सम्पूर्ण रुपमा लाग्ने विश्वास पनि म महामहिमलाई दिलाउन चाहन्छु । हाम्रा विकासका कार्यहरुमा तपाईंको ठूलो सहयोगको अपेक्षा हामीले गरेका छौं । विकासविना राजनीतिक स्थायित्व कायम रहन सक्दैन । हामी नेपालको राजनीतिक स्थायित्व र समृद्धि चीनको पनि हितमा रहेको विश्वास गर्दछौं ।

८) म महामहिमलाई विश्वास दिलाउन चाहन्छु कि नेपाल कम्युनिष्ट पार्टीले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको छ र हाम्रो पार्टीको नेतृत्वको सरकारले चीनको सुरक्षा हित विपरित कसैसँगको साझेदारीमा काम गर्दैन । हामी विश्वास गर्छौं कि चीनको विकास र स्थायित्व नेपालको हितमा छ । समृद्ध चीन नेपालका लागि अवसर हो ।

९) हाम्रा लागि चीनसँगको व्यापार घाटा बढनु गम्भिर चासोको बिषय हो । हाम्रो व्यापार असन्तुलनलाई सम्बोधन गर्न चीनका तर्फबाट निरन्तर सहयोग हुनेमा हामी आशावादी छौं । निर्यात योग्य उत्पादन गर्न व्यापारको क्षमता विकास, अतिरिक्त बजारमा पहुँच, हाम्रा उत्पादनका सामान निर्यात गर्ने सरलीकृत प्रक्रिया, सीमा क्षेत्रमा सबै उपकरणसहितको प्रयोगशाला रहेको क्वारेन्टाइन स्थापनाले चिनियाँ बजारमा हाम्रा सामान निर्यात गर्न नेपालको हितका लागि तपाईंहरुको योगदान हुनेछ ।

१०) महामहिम, नेपाल सरकारले सन् २०२० लाई भ्रमण बर्ष घोषणा गरेको छ । चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्न र नेपाललाई एउटा पर्यटकीय गन्तव्यका रुपमा व्यापक रुपमा प्रचार प्रसार गरिदिन चीन सरकारले सहयोग गर्नेमा हामी पर्खाइमा छौं ।

११) नेपालमा राजनीतिक स्थायित्वका लागि नेपाल कम्युनिष्ट पार्टीले मेहनत गरिरहेको छ । राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि राम्रो वातावरण बनाउने मुख्य उद्देश्यका लागि हामीले दुई कम्युनिष्ट पार्टीलाई एउटै बनाउन पहल लिएका हौं । यस सन्दर्भमा, महामहिमको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले उपलब्ध गराएको निरन्तर सहयोग प्रति म प्रशंसा गर्न चाहन्छु । यो बर्षको सेप्टेम्बरमा महामहिम वाङ यी र महामहिम सोङ थाओसँग भएको बैठकलाई सम्झन चाहन्छु । हामीले खुला र हार्दिक रुपमा हाम्रा साझा चासोका सबै बिषयमा बिचार आदान प्रदान गरेका थियौं । हाम्रा साझा हितका बिषयमा सँगै काम गर्न तपाईंको सक्षम नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीसँग दीर्घकालीन बिश्वासिलो सम्बन्ध बनाउने मेरो सशक्त चाहना छ । चिनियाँ विशेषतासहितको समाजवाद र सी चिनफिङ विचारका बारेमा हालै हामीले काठमाडौंमा गोष्ठीको आयोजना गर्यौं र चिनियाँ कम्युनिष्ट पार्टीसँग एउटा सम्झौतामा हस्ताक्षर पनि गरेका छौं । नेपाल कम्युनिष्ट पार्टी चिनियाँ कम्युनिष्ट पार्टीसँग सशक्त सञ्चार, सम्पर्क र प्रतिनिधिमण्डल आदान प्रदान गराउन चाहन्छ । दुई देश र जनताका बीचको सम्बन्धलाई सहज र निन्तरता दिनका लागि पार्टी पार्टी बीचको सम्बन्ध महत्वपूर्ण हुन्छ ।

१२) हाम्रो दुई पक्षीय सम्बन्धलाई अझ सशक्त बनाउनका लागि सफल रहने गरी हाम्रा राष्ट्रपतिसँग तपाईंको राम्रो बैठक भएको सूचना मैले पाएको छु । नेपाललाई भुपरिवेष्ठितबाट भुजडित देशमा रुपान्तरण गराउने तपाईंको प्रतिबद्धता र सहयोगले नेपाली जनताको उत्साह र विश्वासको स्तर नयाँ उचाईमा उठेको छ । हाम्रो आपसी हितलाई बढाउन र सम्बन्धलाई मजबुत बनाउन हामीले उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिइरहनु पर्छ । हाम्रा साझा चासोका बिषयहरुमा क्षेत्रीय र विश्वस्तरीय मुद्दाहरुमा हामी चीनसँग मिलेर काम गर्न चाहन्छौं, जसले हाम्रो देश र क्षेत्रको विकास र शान्तिलाई प्रबद्र्धन गर्नेछ ।

१३) एक पटक फेरी, महामहिमलाई नेपालमा न्यानो स्वागत गर्न चाहन्छु । तपाईंको निरन्तरको सदभाव, नेपाल र नेपाली प्रतिको मित्रता प्रति हामी अत्यन्तै खुसी छौं । महामहिमको भ्रमण भव्यताका साथ सफल हुनेछ र तपाईंको यात्रा सुरक्षित र सुविधाजनक हुनेछ भन्ने शुभकामना दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस