सीलाई राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलमै पुगेर स्वागत गर्ने

विहीबार, २३ असोज २०७६, १८ : १९
सीलाई राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलमै पुगेर स्वागत गर्ने

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने भएका छन् ।

दुई दिने राजकीय भ्रमणका लागि सी शनिवार अपरान्ह काठमाडौं आइपुग्ने छन् । उहाको स्वागतका लागि अहिले राजधानीलाई भव्य तरिकाले सजाइएको छ । 

नेपालले पछिल्लो समयमा राष्ट्रप्रमुख वा सरकार प्रमुख आउँदा कसैलाई सवारी मन्त्री तोकेर उनैले विमानस्थलमा स्वागत गर्ने गर्दै आएको थियो । तर, यसपाली सीलाई विशेष महत्व दिन लागिएको हो ।

चीनका राष्ट्रपतिको तहबाट यसपालि २३ वर्षपछि भ्रमण हुन लागेको हो । यसअघि सन् १९९६मा नेपाल आएका चीनका राष्ट्रपति जियाङ जेमिनलाई पनि तत्कालीन राजा वीरेन्द्र र प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलमा नै गएर स्वागत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस