सांसद सागर ढकालद्वारा चुनावी खर्च विवरण सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, ०९ चैत्र २०८२, १३ : ३९
सांसद सागर ढकालद्वारा चुनावी खर्च विवरण सार्वजनिक

काठमाडौँ । गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सागर ढकालले आफ्नो निर्वाचन अभियानसँग सम्बन्धित सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गरेका छन्।

पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै उनले सामाजिक सञ्जालमार्फत आय र खर्चको विस्तृत विवरण प्रस्तुत गरेका हुन्।

प्राप्त विवरणअनुसार निर्वाचन अभियानका लागि विभिन्न स्रोतबाट कुल २२ लाख १ हजार ४ सय रुपैयाँ संकलन भएको थियो। उक्त रकम चुनावी प्रचार-प्रसार तथा अन्य सम्बन्धित गतिविधिमा प्रयोग गरिएकोमा कुल खर्च १९ लाख १८ हजार १८२ रुपैयाँ रहेको उल्लेख गरिएको छ।

आय र व्ययको हिसाब मिलाउँदा २ लाख ८३ हजार २१८ रुपैयाँ बचत भएको देखिन्छ। ढकालले उक्त बाँकी रकम व्यक्तिगत उपयोगमा नलगाई सम्बन्धित क्षेत्रको विकास तथा राष्ट्रिय हितका विभिन्न कार्यक्रमहरूमा उपयोग गर्ने घोषणा गरेका छन्।

उनले बचत रकमलाई सामाजिक तथा रचनात्मक गतिविधिमा परिचालन गरिने जानकारी दिँदै मतदाता तथा सहयोगीप्रति आभार व्यक्त गरेका छन्। साथै, निर्वाचित जनप्रतिनिधिका रूपमा जनसेवा र पारदर्शितालाई प्राथमिकतामा राख्दै कार्य अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस