राजधानी जोगाउन हेटौँडालाई कठिन: चितवनका सांसद विभाजित

पत्रपत्रिकाबाट

आइतबार, २१ माघ २०७४, ०७ : १३
राजधानी जोगाउन हेटौँडालाई कठिन: चितवनका सांसद विभाजित

                            १३ जिल्लामध्ये मकवानपुरका सांसद मात्रै हेटौँडाको पक्षमा  

हेटौँडा । सरकारले प्रदेश ३ को अस्थायी राजधानी हेटाैँडा तोकिसकेको छ । प्रदेश सभाको पहिलो बैठक १८ माघमा बसिसकेको छ । पहिलो अधिवेशनमा कांग्रेस सांसद इन्द्रबहादुर बानियाँबाहेक अन्य सांसदले राजधानीको विषयमा केही बोलेनन् । तर, अहिले राजधानी यहीँ राख्ने कि सार्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । कांग्रेस सांसद बानियाँले हेटौँडा प्रादेशिक राजधानी नभए संघीयता नै कार्यान्वयन नहुने चेतावनी दिएका थिए ।

२७ माघमा प्रदेश सभाको बैठक बोलाइएको छ । सो बैठकमा प्रादेशिक राजधानीको विषय पेचिलो रूपमा उठ्ने देखिएको छ । मकवानपुरबाहेक १२ जिल्लाबाट प्रतिनिधित्व गर्ने अधिकांश सांसद हेटौँडाप्रति सकारात्मक नदेखिएपछि राजधानीको विषयमा छलफल हुने अवस्था सिर्जना भएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

हेटौँडा राजधानी बनाउने विषयमा चितवनले पूर्णरूपमा साथ दिने अनुमान गरिएको थियो । तर, अहिले चितवनका सांसदहरूले पनि मिश्रित प्रतिक्रिया दिएका छन् । यदि चितवनले साथ नदिएमा हेटौँडा राजधानी बनाउन दुई तिहाइ सांसद पु¥याउन गाह्रो देखिएको छ । प्रदेश ३ मा कुल ११० सांसद छन् । पछिल्लो समय सबै जिल्लालाई पायक पर्नेगरी भक्तपुर, ललितपुर, काभ्रेमध्ये एक ठाउँमा राजधानी हुनुपर्ने विचार आउन थालेका छन् ।

यसकारण हेटौँडा राजधानी बनाउन उपयुक्त हुन्छ
– देशकै ठूलो औद्योगिक क्षेत्रमध्ये एक ।
– द्रुतमार्ग, धरान–चतरा मार्ग, कान्ति लोकपथ, महेन्द्र राजमार्ग, त्रिभुवन राजपथलगायत राजमार्ग जोडिएको क्षेत्र ।
– १९ वटा क्षेत्रीय कार्यालयसहित मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकाम भएका भवनको सुविधा हुने ।
– अस्थायी राजधानी बनाउँदा साढे ६ करोडभन्दा धेरै खर्च भएकाले पुनः सार्न गाह्रो हुन सक्ने ।
– देशकै ठूलो आर्थिक नाका र व्यापारिक केन्द्रसँग नजिक ।
– नेपाल र छिमेकी मुलुक भारत र चीनबीच त्रिदेशीय सम्बन्ध जोड सजिलो हुने ।
– वातावरणीय दृष्टिकोणले अनुकूल

यसकारण हेटौँडा उपयुक्त हुँदैन
प्रदेश ३ का १३ मध्ये नौ जिल्लालाई अत्यन्तै अपायक पर्छ । मकवानपुर, चितवन, धादिङ, सिन्धुलीलाई सामान्य पायक । सडक विस्तार नभएका साँघुरा छन् ।

हेटौँडा राजधानी बनाउने विषयमा चितवनका सांसद विभाजित
चितवनबाट प्रतिनिधित्व गर्ने सांसद हेटौँडालाई राजधानी बनाउनुपर्ने विषयमा विभाजित भएका छन् । सुरुमा हेटौँडा राजधानी हुनुपर्ने बताउने सांसदहरू अहिले चितवन नै हुनुपर्ने नभए अन्यत्र सार्नुपर्ने लबिङमा लागेका छन् ।

चितवन १ (क) का सांसद दावा दोर्जे लामाले सबैलाई पायक पर्ने ठाउँमा राजधानी हुनुपर्ने बताए । ‘चितवन नै हुनुपर्छ भन्दिनँ,’ उनले भने, ‘भोलि विरोध नआउने गरी पायक पर्ने ठाउँमा हुनुपर्छ ।’ प्रदेश सभाको दुई तिहाइ मतबाट राजधानी टुंगो लाग्ने भएकाले यस विषयमा प्रतिक्रिया दिइहाल्नु उपयुक्त नहुने उनले बताए ।

चिवतन १ (ख) का सांसद कृष्ण खनालले संघीयतामा मुलुक गएकाले प्रदेश राजधानी जनताको अनुकूल पर्ने ठाउँमा हुनु उपयुक्त हुने बताए । हेटौँडा अस्थायी राजधानी अनुपयुक्त नरहेको उनको भनाइ छ ।

चितवन २ (क) का सांसद घनश्याम दाहालले सबै भूगोलको पायक पर्ने ठाउँमा राजधानी हुनुपर्ने बताए । उनले चितवनलाई प्रदेश नभई केन्द्रकै राजधानी बनाउने सवालमा आफूहरू लागिपरेको बताए ।

चितवन २ (ख) का सांसद विजय सुवेदीले सकेसम्म चितवन र नभए हेटौँडा नै राजधानी हुनुपर्ने बताउँछन् । फास्ट ट्रयाकबाट जोडिने र पूर्व पश्चिम रेलमार्गले छुने भन्दै उनले हेटौँडा राजधानी उपयुक्त भएको बताए । केही मन्त्रालय र विभागहरू भने चितवनमा हुनुपर्ने उनको भनाइ छ ।

चितवन ३ (क) का सांसद कृष्ण भुर्तेलले प्रदेश राजधानी हेटौँडा नै उपयुक्त हुने बताए । रसुवा, सिन्धुपाल्चोकदेखि आउने मानिसका लागि केही अपायक देखिए पनि पूर्वाधार विकाससँगै सबै समस्या समाधान हुने उनको भनाइ छ ।

चितवन ३ (ख) का सांसद रामलाल महतोले प्रदेश राजधानी कहाँ भन्ने विषय प्रदेश सभाको दुई तिहाइले टुंगो लगाउने भन्दै आफूले चितवन, हेटौँडा वा अन्य कुनै ठाउँको नाम नलिने बताए ।

प्रतिक्रिया दिनुहोस