Safal Khabar - मोबाइल गेमहरुले निल्दैछ दसैँको चंगा चेट !
बुधबार, ०६ कार्तिक २०७६ (Wednesday, 23 October, 2019)
मोबाइल गेमहरुले निल्दैछ दसैँको चंगा चेट !
आइतबार, १९ असोज २०७६, १२ : ४०
मोबाइल गेमहरुले निल्दैछ दसैँको चंगा चेट !

चितवन । कुनै समय चंगा भनेपछि केटाकेटीको मन फुरुङ हुन्थ्यो, तर अहिले केटाकेटीको मन युट्यूब, मोबाइल एप्स र मोबाइलमा राखिने अनेकथरि गेमले तानेको छ । 

पहिलेपहिले हावामा माथिमाथि चंगा उड्दा दसैँ आयो भन्ने थाहा हुन्थ्यो ! तर अहिले दसैँ लाग्दा समेत चंगा आकाशमा देखिदैन । दसैँमा चंगा चेटको रमाइलो बेग्लै हुन्थ्यो । दसैँमा एकपटक चंगा त उडाउनै पर्छ भन्ने मान्यता पनि थियो । तर अहिले दसैँमा चंगा उडाउनुपर्छ भन्ने प्रचलनलाई मोबाइलका गेमहरुले खाइदिएको छ । 

‘उसबेलाको समयमा विशेष गरी चंगा चेट गर्न बालबालिका मरिहत्ते गर्थे । तेरो चंगा माथि गयो कि, मेरो माथि गयो उनीहरुबीच रस्साकस्सी नै हुन्थ्यो । मन चङ्गा बनाउँदै बालबालिकाहरु हावामा चङ्गा उडाउँथे । चंगा उडाउने प्रतियोगिता नै चल्थ्यो’ भरतपुर २५ का दीपक खनालले भने, ‘तर पछिल्लो समय दसैँमा चंगा चेट यदाकदा मात्र देखिन्छ, यो संस्कृति हराउँदै गएको छ ।’

केही बालबालिकामा अझै पनि थरिथरिका चंगा बनाएर हावामा उडाउने रहर भइरहेको हुन्छ । ‘दसैँ बिदा भएदेखि नै चंगा उडाइरहेको छु’ कक्षा–११ का विद्यार्थी अंकिता खनालले भनिन्, ‘सबैभन्दा माथि जाने चंगा बनाएर उडाउने रहर अझै छ ।’ उनको भनाइअनुसार कुनै माथि उठेको ढिस्को, अथवा अग्लो ठाउँबाट चंगा उडाउन राम्रो हुन्छ ।

यसरी बनाइन्छ चंगा 
चंगा कागज र चोयाले बनाइन्छ । रेसम र पातला कागजले बनेको चंगा उडानको लागि राम्रो मानिन्छ । चंगा प्लास्टिकबाट पनि बनाइन्छ । त्रिभुज, चतुर्भुज, वर्गाकार, चौडाकार, गोलाकार सबैमा उपलव्ध हुन्छ चंगा । चंगालाई उडाउन धागो र लठ्ठाई चाहिन्छ । चंगा बनाउन पनि कला चाहिन्छ । बनाउन नजानेमा यो हावामा नउड्न सक्छ । 

मन खुसी भयो भने हामी ‘म त चंगा भएको छु भन्छौं’ । चंगाको अर्थ खुसी हुनु पनि जनाउँछ । दसैंमा पहिलेको तुलनामा चंगा अहिले कम उडेका छन् । भरतपुर–१० का विनय भाटले भने, ‘पहिलेपहिले केटोकेटीमा खुब उडाइन्थ्यो, दसैंमा चंगा । अहिले त कतैकतै मात्र देख्छु म चंगा । अहिले युवा आफ्नो संस्कति बचाउन खोज्दैनन् खाली खानैमा रमाइलो मान्छन् । मोबाइलमा रमाइलो मान्छन् ।’ 

चंगा उडाउने पुरानो परम्परा लोप हुँदै गएको छ । दसैंमा चंगा उडाउनभन्दा रमाइलो गरेर बस्ने युवापुस्ता बढ्दै छ । उनी भन्छन्,  ‘मलाई त आफ्नो संस्कृति मेटेर युवाहरु विकृतितर्फ ढल्केको हुन् कि जस्तो लागेको छ ।’

चंगाको जन्म चीनमा
चंगाको आविस्कार तीन हजार वर्ष पहिले चीनमा भएको मानिन्छ । चिनियाँहरु चंगा उडाउने र आविस्कार गर्नेमा अग्रपंक्तिमा आउँछन् । विभिन्न पुस्तकले जनाएअनुसार चीनमा दार्शनिक मोजी र लु बानले चंगाको आविस्कार गरेका हुन् । कागजको आविस्कार हुनुभन्दा पहिले रुखका ठूला पातबाट बनाइन्थ्यो चंगा । 

आजकल चंगा उडाउनु सोख र रमाइलोको कुरा हो । आकाशमै चंगा जुधाएर भए पनि बाल्यपुस्ता खुब रमाउँछन् । दसैँसँग चंगाको साहिनो जोडिएको छ । दसैँमा नउडेको चंगा अघिपछि कहाँ उड्छ र ! त्यसैले टोलटोलमा बाल्यपुस्ता दसैँमा चंगा उडाउने काम गरेर संस्कृतिलाई जोगाइ राख्नुपर्ने श्रेष्ठले सुझाव दिन्छन् । 

चंगा महोत्सव पनि  
विश्वका केही भागमा चंगा महोत्सव हुने गरेको छ । थाइल्यान्डमा व्यावसायिक चंगा प्रतियोगिता नै गरिन्छ । भारतमा पनि चंगा उडाउने प्रतियोगिता नै भएको पाइन्छ । नेपालको काठमाडौंमा पनि चंगा चेट प्रतियोगिता हुन्छ ।  
चंगामा विश्वास पनि अडिएको मान्यता छ । पुरानो भनाइअनुसार चंगालाई स्याहारसुसार, उव्जनी, स्वास्थ्य, मौसम र शुभलाभको प्रतीकको रुपमा लिइन्छ । केहीले चंगालाई स्वर्ग र धर्तीबीच सुखद सन्देश लिनेदिने विश्वासमा समेत उडाउँछन् । धार्मिक पुस्तकमा त गौतम बुद्ध जन्मनुअघि नै चंगाको विकास भएको भनेर लेखिएको पनि छ । चंगा उडेको हेर्दा आँखा तेजिलो हुने जनविश्वास पनि रहेको छ । 

चंगा उडाउँदा सतर्क
जेहोस् चंगा मनोरञ्जनको पर्याय बनेको छ । चंगा उडाउँदा भने बडो सतर्क हुनपर्छ । चंगा बिजुलीको तारमा अड्केर लाइन गडबडी बनाउन सक्छ । अझ डोरी चिसो रहेको बेलामा चंगाले बिजुलीको तार छोएमा करेन्ट लाएर ज्यानै पनि जान सक्छ । 

एक आंकडाअनुसार त विश्वमा एक वर्षमा १२ जनाको मृत्यु चंगा उडाउँदा दुर्घटना परेर हुन्छ । घरको छतमाथि गएर चंगा उडाउँदा खसेर घाइते भएका धेरै उदाहरण त हामी हाम्रै घरआँगनमा पाउँछौँ । 
सबैभन्दा धेरै चंगा उडाउने व्यक्ति जापानका सदाओ हरादा हुन् । उनले एकैपटक ११ हजार २४८ वटा चंगा एउटै डोरीबाट उडाएका थिए । 

‘अन्य खेलकुद खेल्दा धेरै खर्च हुन्छ, चंगा उडाउँदा कम खर्च पनि हुने रमाइलो पनि हुने संस्कृति पनि जोगिने त्यसैले मत चंगा उडाउँछु’ विद्यार्थी रोचक खनालले भने, ‘म त दसैंमा लङ्गुरे बुर्जा खेल्दिनँ ।’ कुनै समय जापानमा यस्तो आयो, मानिसहरुले कामै छोडेर चंगा उडाउन थाले । चंगा उडाउने क्रम कमभन्दा पनि झन् बढ्दै गयो । त्यसपछि त्यहाँको सरकारले चंगा उडानमा प्रतिबन्ध नै लगाउन परेको थियो । 

दसैँ रमाइलो चाड हो । यो चाडमा चंगाको महत्व पनि रहेको छ । चंडा उडाएर दसैँको परम्परालाई जोगाउन सकियो भने पनि हाम्रो संस्कृति मेटिँदै जानेक्रम रोकिन्थ्यो । सुरक्षित तवरले चंगा उडाउन राम्रो मानिन्छ । दसैैँको समयमा मादकपदार्थ सेवनमा, अन्य जुवातासमा रमाउनुको सट्टा चंगा उडाएर रमाउनु ज्यादै राम्रो हो । अन्य जुवातास कानुनविपरीत छन् । 

‘हाम्रो परम्परा अरुले आएर जोगाइदिने होइन, हामी आफैँले जोगाउनुपर्छ, परापूर्वकालदेखि चंगा उडाउने परम्परा रहेको हुनाले यसलाई बिर्सनुहुँदैन’ शिक्षक पिएम शर्माले भने । 

प्रतिक्रिया दिनुहोस