नेकपाका नेताहरुको काण्डै–काण्ड

महिलाकै कारण महरा, तामाङदेखि स्थापित र सोडारीसम्मले गुमाए पद

सफल खबर संवाददाता

बुधबार, १५ असोज २०७६, १२ : ४४
नेकपाका नेताहरुको काण्डै–काण्ड

काठमाडौं । सत्तारुढ दल नेकपाका नेताहरुको एकपछि अर्काे काण्डहरु पर्दाफास हुँदै जान थालेको छ । खासगरी महिलालाई दव्र्यवहार गरेकै अभियोगमा नेकपाका झण्डै आधा दर्जन नेताले आफ्नो पद गुमाएका छन् । सभामुख कृष्णबहादुर महरा पछिल्लो सिकार भएका छन् ।  

हुन त कांग्रेसलगायत अन्य राजनीतिक दलका नेताहरुका पनि महिलासँग जोडिएका चर्तिकलाहरु नुसनिएका र नदेखिएका होइनन् । तर पछिल्लो पटक अन्य दलका नेताहरुको यस्ता घटना नदेखिरहेका बेला नेकपाका नेताहरुको भने श्रृंखलावद्ध रुपमा एक पछि अर्काे काण्ड दोहोरिन थालेको छ ।

२०७४ सालको प्रतिनिधीसभा तथा प्रदेश सभाको चुनाव यता मात्रै नेकपाका केही सांसदहरु महिलासँग जोडिएकै कारण पद गुमाउन पुगेका छन् ।

संसद् सचिवालयमा कार्यरत एक कर्मचारीले बलात्कारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले हिजो पदबाट राजीनामा दिन बाध्य भएका छन् । उनले आइतबार साँझ सचिवालयमै कार्यरत एक महिलालाई वलत्कार गरेको अभियोग अहिले लागेको छ ।

अनुसन्धान प्रक्रियालाई सहज बनाउन उनले राजीनामा दिएको बताएका छन् । उनी मात्रै होइन, अन्य नेकपाका केही नेताहरु पनि महिलाकै कारण आफ्नो पद गुमाएका छन् ।
 
सुदुर पश्चिमका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पनि महरा जस्तै अर्का एक पात्र हुन् । पदीय आचरणमा नबसी महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा उनलाई मन्त्री पदबाटै मुख्यमन्त्रीले वर्खास्त नै गरेका थिए । उनलाई नेकपाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

तत्कालीन मन्त्री सोडारीले एक महिलालाई टेलिफोनमा मनलाग्दी भनेको अडियो रेकर्ड बाहिरिएको थियो । उक्त अडियो प्रधानमन्त्री केपी ओली सम्मले सुनेपछि मुख्यमन्त्रीलाई काठमाडौं बोलाई सोडारीलाई पदमुक्त गर्न निर्देशन गरेका थिए । 

प्रदेश ३ का नेकपा सांसद केशव स्थापितलाई पनि ‘मीटू’ लागेको थियो । केही समय प्रदेश तीनका भौतिक योजना तथा निर्माणमन्त्री भएका स्थापितलाईपछि मुख्यमन्त्री डोरमणि पौडेलले वर्खास्त गरेका थिए । 

स्थापितमाथि सञ्चारकर्मी रस्मीला प्रजापतिले गत वर्षको कात्तिक ४ गते सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाको मेयर रहेको बेला यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । त्यसअघि अर्की सञ्चारकर्मी उज्ज्वला महर्जनले पनि स्थापितले राति अबेरसम्म पटकपटक फोन गरेर दुःख दिने गरेको भन्दै ‘मीटू’ लगाएकी थिइन् ।

नेकपाको किसान महासंघका संयोजक रहेका पूर्वमन्त्री हरि पराजुलीलाई पनि महिला दुव्र्यहवारको आरोप लागेको थियो । उनले पनि त्यसपछि मन्त्रीबाट राजीनामा दिएका थिए ।

२०७२ सालको असार १५ गते धान दिवसका कार्यक्रममा रोपाईंमा सहभागी एक महिलामाथि यौन दुव्र्यवहार गरेको तस्विर र भिडियो सार्वजनिक भएको थियो । मदिराले लट्ठिएर रोपाईंमा महिलामाथि दुव्र्यवहार गरेकै कारण पराजुली पदबाट राजीनामा गर्न बाध्य भएका थिए ।

त्यासो त एक कार्यक्रममा मन्तव्य दिने क्रममा बोली चिप्लिँदा नेकपाकै सांसद शेरबहादुर तामाङको मन्त्री पद पनि गुमेको थियो ।

बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जाने नेपाली छात्राबारे नकारात्मक टिप्पणी गरेको भन्दै चौतर्फी आलोचना भएपछि तामाङले ‘नैतिकताका आधार’मा पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस