काठमाडौं । सामाजिक सञ्जाल र समग्रमा इन्टरनेट प्रयोगको खास ध्येय मनोरञ्जन हो। इरास्मस युनिभर्सिटीकी प्राध्यापक पायल अरोरा भन्छिन्, ‘इन्टरनेट संसारका गरिबहरूको फुर्सदको अर्थतन्त्र हो। अनलाइनमा कामलाई खेलले जित्छ, श्रमलाई फुर्सदले पछि पार्छ।’
आइरिस लेखक लाउसियाच नी चोइस्टिलभाले फेसबुक छोड्दाको अनुभव यसरी बाँडेकी छन्ः
‘सन् २०१८ मा मैले फेसबुक छोड्ने घोषणा गरेर स्ट्याटस लेखेँ। म एकदमै धेरै फेसबुक चलाउँथेँ। साथीहरूका पोस्टमा लाइक, सेयर र कमेन्ट गर्थें। यो आधुनिक सम्बन्धलाई प्रभावकारी राख्न कुनै कसर छोडेकी थिइनँ। साथीहरू पनि मेरो पोस्टमा उसै गरी प्रतिक्रिया जनाउँथे।’
चोइस्टिलभा थप्छिन्, ‘फेसबुकमा मेरा एक हजार साथी थिए। तर, मैले फेसबुक छोड्दै छु भनेर स्ट्याटस लेख्दा कसैले वास्ता गरेनन्। करिब १० जनाले मात्र मसँग वैकल्पिक सम्पर्कका लागि इमेल वा फोन नम्बर मागे। ती सबै मेरा निकट मित्र र परिवारका सदस्य थिए। मैले फेसबुक छोड्दै गर्दा कसैले चासो नदेखाउनु मेरा लागि दुःखको विषय थियो। दुःख लाग्नुको कारण के हो भने मैले फेसबुकका साथीहरूमाझ आफ्नो उपस्थिति देखाउन घण्टौँ खर्च गरेकी थिएँ। आफूले राख्न लागेको प्रोफाइल पिक्चर तिनलाई मन पर्ला कि नपर्ला भनेर लामो समय सोचेकी थिएँ। साथै, मलाई वास्ता गर्ने कोही नहुँदा सजिलो पनि भएको थियो।’
‘फेसबुक डिलिट गर्ने अनेकौँ चरण पार गरिसकेपछि यसले मलाई इमोसनल ब्ल्याकमेल गर्न थाल्यो। म सबैभन्दा बढी इन्गेज भएका व्यक्तिको अनुहार अगाडि ल्यायो। जसमा मेरी आमा, दाजु र मेरा पार्टनर पनि थिए। फेसबुकले सोध्यो, ‘के तपाईं यी मान्छेसँग सम्पर्क टुटाउन चाहनुहुन्छ?’ म दुःखी भएँ। आफ्नो निर्णयबाट विचलित हुँलाजस्तो लाग्यो। तर, फेरि आफ्ना साथीमध्ये एक प्रतिशतलाई मात्र मेरो चासो छ भन्ने सोचेपछि मैले डिलिट बटन क्लिक गरेँ।’
लेखक चोइस्टिलभा लेख्छिन्– ‘फेसबुकको फेरोबाट निस्केपछि अन्य सामाजिक सञ्जाल छोड्न सजिलो हुँदै गयो। अप्रिल २०१९ सम्ममा मैले इन्स्टाग्राम, स्न्यापच्याट र ट्वीटर पनि डिलिट गरेँ। परिणाम के भयो भने मेरा दिन लामा हुन थाले। काम पूरा हुन थाले। जीवन ठीक मार्गमा अघि बढ्न थाल्यो। साथीहरू पनि वास्तविक लाग्न थाले। त्यसपछि सामाजिक सञ्जालमा बिताएका हजारौँ घण्टाप्रति मलाई पछुतो महसुस भयो। मैले कविता लेखेँ। योग सिकेँ र करिब १९ किलो तौल घटाएँ।’ सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०८ असोज २०७६, २० : ४२
लेखकबाट थप