१३ अर्ब रुपैयाँमा नागढुंगा नौबिसे सुरुङमार्ग निर्माण सम्झौता हुदैं

सफल खबर संवाददाता

सोमबार, ०६ असोज २०७६, १० : ०५
१३ अर्ब रुपैयाँमा नागढुंगा नौबिसे सुरुङमार्ग निर्माण सम्झौता हुदैं

काठमाडौं । बहुप्रतीक्षित नागढुंगा –नौबिसे सुरुङमार्गको आज निर्माण सम्झौता हुँदैछ । जापानको कम्पनी हाज्मा आन्द्रो जेभीसँग सरकारले आज निर्माण सम्झौता गर्न लागेका हो ।

नागढुंगा सुरुङमार्ग प्रमुख श्यामप्रसाद खरेलका अनुसार, सम्झौता गर्न जापानी टोली एक साता अगाडी नै काठमाडौं आईपुगेको थियो ।

असोज १ मा सम्झौता गर्ने तयारी गरिएपनि बैंक ग्यारेन्टीको कागजातमा लाभग्राहीको नाम सच्याउनुपर्ने भएकाले केही दिन ढिलाई भएको थियो । जेभीले करिब १३ अर्ब रुपैयाँमा सुरुङमार्ग निर्माण गर्नेछ ।

आज सम्झौता भएपनि उक्त कम्पनीले  काम भने मंसिरवाट शुरु गर्ने जनाएको छ । कम्पनीले ठेक्का सम्झौता भएको ४२ महिनाभित्र यो कार्ययोजना निर्माण सम्पन्न गर्नुपर्नेछ ।जापानले यो आयोजनाका लागि करिब १६ अर्ब २८ करोड रुपैयाँ सहुलियत ऋण दिएको छ । आयोजनाले तोकेको शर्तअनुसार यो सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किलोमिटर र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।

सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ ।

जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुन लागेको यो आयोजनाका लागि वोलपत्र आह्रवान गर्दा पाँच चिनियाँ र एक जापानी कम्पनीको प्रस्ताव परेको थियो ।

सुरुङमार्ग निर्माण गर्न काठमाडौं र धादिङतर्फ तीन सय ७६ रोपनी जग्गा अधिकरण भएको छ । काठमाडौंको जग्गा अधिकरणका लागि मुआब्जा वितरण सुरु गरिए पनि धादिङतर्फको साउन २० गते मुआब्जा रकम निर्धारण भएको थियो । धादिङतर्फको कुल अधिकरण गर्नुपर्ने जग्गामध्येमा सडक सिमांकनभित्रको मुआब्जा दिइने छैन । सिमांकन बाहिर परेको ४४ रोपनी जग्गाको मुआब्जा वितरण गरिने भएको छ ।

प्रतिआना सात लाख रुपैयाँदेखि नौ लाख ७० हजार रुपैयाँको दरमा मुआब्जा रकम तय भएको छ । काठमाडौंतर्फको दुई सय ६७ रोपनी जग्गा अधिकरण गर्नुपर्नेछ । यसका लागि चार अर्ब रुपैयाँभन्दा धेरै रकमको मुआब्जा वितरण भइसकेको छ । काठमाडौंतर्फमा करिब ५० करोड रुपैयाँको मुआब्जा वितरण गर्न बाँकी छ । 
 

प्रतिक्रिया दिनुहोस