‘सी विचारधारा’बारे नेपालमा प्रशिक्षण

पत्रपत्रिकाबाट

सोमबार, ०६ असोज २०७६, ०६ : ५९
‘सी विचारधारा’बारे नेपालमा प्रशिक्षण

काठमाडौं । सत्तारुढ नेकपाले मुलुकको विकासका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारा लागू गर्ने तयारी थालेको छ ।

 नेकपाले चीनमा चामत्कारिक विकास गर्न सफल सीको विचाराधाराबारे पार्टीमा प्रशिक्षण दिँदै सीको विकास मोडल लागू गर्ने गृहकार्य अघि बढाएको हो । 

नेकपाले अवलम्बन गरेको जनताको जनवाद (जज) र जिनपिङको विचारधाराबारे केन्द्रित भई आज(सोमबार)देखि प्रशिक्षण सुरु हुन लागेको नेकपाले जनाएको छ ।

चिनियाँ राष्ट्रपति जिनपिङको नेपाल भ्रमणको तयारी भइरहेको समयमा सी विचारधारालाई नेकपाले अवलम्बन गर्न लागेको हो । स्कुल विभागमा हुने प्रशिक्षण पछि सी विचारधारालाई अवलम्बन गर्दा पार्टी बलियो हुने नेकपाको बुझाइ छ । कतिपयले सीको नेपाल भ्रमणलाई लक्षित गरी सो विषय अगाडि सारिएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्कुल विभागले चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरका नेतासहित जज र सी विचारधारबारे सोमबार र मंगलबार राजधानीमा छलफल तय गरेको हो ।

नेकपाको यो तयारीलाई नेपालस्थित कूटनीतिक नियोगहरूले समेत विशेष चासो दिएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको केही समयअघि भएको नेपाल भ्रमणका क्रममा समेत सी विचारधारा अवलम्बन गर्ने विषयमा छलफल भएको थियो । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस