नर्सिङ सम्बन्धनमा चलखेल

पत्रपत्रिकाबाट

आइतबार, ०५ असोज २०७६, ०७ : २९
नर्सिङ सम्बन्धनमा चलखेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ८ वर्षदेखि सम्बन्धन लिन निवेदन दिएका २० नर्सिङ र बाँकी अन्य विषयका गरी २८ निजी कलेजलाई सम्बन्धन दिने तयारी गर्नुभएको छ।

मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्र मिचेर ती कलेजलाई सम्बन्धन दिने तयारी गर्नुभएको हो। आयोगले पूर्णता पाएपछि तत्काल सम्बन्धन दिन कठिन हुने देखिएपछि मन्त्री पोखरेलले अधिकांश मापदण्ड पूरा नगरेका कलेजलाई सम्बन्धन दिन लाग्नुभएको हो।

विसं २०६९ सालदेखि सम्बन्धनको प्रक्रियामा रहेका ती कलेजलाई मन्त्री पोखरेलको निर्देशनमा मन्त्रालयको उच्च शिक्षा तथा प्राविधिक महाशाखामार्फत पत्र पठाएर अनुगमन गर्न पत्र दिनुभएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभी) का अध्यक्ष रहनुभएका मन्त्री पोखरेलले सीटीईभीटीमार्फत अनुगमन गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै गलत प्रक्रियाबाट अनुगमन गरी सम्बन्धन दिने तयारी गर्नुभएको छ।

मन्त्री पोखरेलले परिषद्लाई जानकारी नदिई गोप्यरूपमा सम्बन्धन लिने तयारी गरी त्यस्ता कलेजलाई मन्त्रालयबाट सीधै पत्र पठाइएको छ। मन्त्रालय स्रोतका अनुसार अध्यक्षको हैसियतले सीटीईभीटीलाई निर्देशन दिनुपर्नेमा नियम उल्लंघन गर्दै चार दिनअघि पत्र पठाउन लगाउनुभएको छ।यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस