काठमाडौँ । आफ्नो आइटम गीत रहेको नेपाली फिल्मको प्रमोसनका लागि नेपाल आएकी बलिउड अभिनेत्री सन्नी लियोनी नमीठो अनुभव लिएर स्वदेश फकिईन्।
नेपाली फिल्म ‘पासवर्ड’को प्रमोसनका लागि सन्नी गत बिहीबार काठमाडौं आएकी थिइन्। युट्युबरको अभद्र व्यवहारका कारण उनी विमानस्थलमा उत्रिएदेखि नै माहोल उत्साहजनक हुन सकेन।
सन्नीको भिडियो क्याप्चर गर्न विमानस्थल पुगेका युट्युबरको भिड थामी नसक्नु थियो। ठेलमठेलका बीच आयोजकले दिल खोलेर स्वागतसमेत गर्न सकेनन्। उनलाई युट्युबरको चपेटाबाट जोगाउन उनको सुरक्षामा खटिएका निजी बडिगार्डलाई समेत हम्मे परेको थियो।
बडिगार्ड र आयोजकले ‘प्लिज यस्तो नगर्नुस्न’ भनेर आग्रह गरिरहे। सन्नीको भिडियो आफ्नो युट्युबमा हाल्दा आउनसक्ने भ्युज र भ्युजको क्याल्कुलेसनले ल्याउने डलरको मोहमा परेका युट्युबरले आग्रह के सुन्थे र ! उनीहरु ठेलमठेलमै सक्रिय भए।
सन्नी नेपाली फिल्मको प्रमोसनका लागि नेपाल आउने चर्चा एक महिनादेखि नै चलिरहेको थियो। फिल्म निर्माण पक्षको दाबीअनुसार उनलाई एक करोड पारिश्रमिक दिएर फिल्ममा आइटम गीत गराइएको थियो। फिल्म प्रमोशनमा आएबापत उनले थप पारिश्रमिक लिइन् या लिइनन् त्यो भने खुल्न सकेको छैन।
सन्नी गत विहीबार २ बजे नेपाल आउने चर्चा चलेको थियो। त्यसैले युट्युबरहरु २ बजे नै विमानस्थल पुगिसकेका थिए। सन्नी बेलुका ५ बजे मात्र आइन्। ३ घण्टा कुरेका युट्युबर उनी आएलगत्तै तछाडमछाडमा लागे तर राम्रो भिडियो पाउन सकेनन्। सन्नी सिधै कारमा चढेर होटलतिर लागिदिइन्।
त्यही दिन बेलुका कुमारी हलमा आयोजित प्रिमियर शोको अवस्था पनि उस्तै भद्रगोल भइदियो। कारक, उही युट्युबरको सम्हाल्नै नसक्ने भिड।
प्रिमियरमा पनि सन्नी तोकिएको समयभन्दा २ घण्टा ढिला आएकी थिइन्। कुमारी हलको ढोकादेखि नै युट्युबरको लाइन थियो। सबै डिएसएलआर र मोबाइल क्यामरा तेरस्याएर बसेका थिए।
राति ८ बजे आइपुगिन् उनी। सन्नी आएको चाल पाएलगत्तै क्यामेराको आक्रमण शुरु भइहाल्यो। रेड कार्पेटको मजा नै लिन सकिनन् उनले। बल्लतल्ल उनी स्टेजमा पुगिन्। युट्युबरको कोलाहल जारी थियो।
अनुहारको भाव बदल्दै सन्नीले उनीहरुलाई आग्रह गरिन्, ‘शान्त हुनुहोस्, अब त म यहीँ छु, शान्त हुनुहोस्।’ तर उनको आग्रह सुन्ने कसले ?
सन्नीको स्वागत गर्न मञ्चमा फिल्मका कलाकारसँगै नायक भुवन केसी पनि थिए। मञ्चको भित्तातिर ट्वाल्ल परेर बसिरहेका थिए केसी।
सन्नीलाई निजी सुरक्षा गार्डहरुले युट्युबरको भिडका बीच डो-याउँदै बल्लतल्ल मञ्चमा पु-याए। ठेलमठेल र हल्ला सम्हालिनसक्नुको थियो। युट्युबर मञ्चमै चढौँलाझैँ गरे पनि गार्डहरुले मञ्च घेरे। तल उनीहरु कराउन थाले, ‘ओई हट् न, न छेक्।’
सन्नीको स्वागतका लागि आयोजकले लाखे नाचको आयोजना गरेका थिए। भिडकै बीच र होहल्लाकै बीच लाखे नाच शुरु भयो तर भिडले ठेलठाल पारेर लाखेलाई कता पु-याए कता !
कार्यक्रम सञ्चालन गरेकी थिइन्, सन्ध्या थापाले। उनले सन्नीको स्वागत गर्दै केही प्रश्न सोधेकी थिइन्। उनले उत्तर दिने प्रयास पनि सन्नीले गरिन् तर त्यो कोलाहलमा सुन्ने कसले ?
सन्ध्याले आग्रह गरिन्, ‘प्लिज संयमित हुनुस्, हल्ला नगर्नुस्।’ तर उनको आग्रह कसले सुन्ने ? कोलाहल जारी रह्यो।
थापाले कुराकानीको प्रयास फेरि पनि गरिन्, ‘फिल्मको गीतको एउटा स्टेप देखाउनुस् न ?’ सन्नीले उनलाई नै उल्टो आग्रह गरिन्। डान्स स्टेप नै हरायो। शुक्रबार बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०३ असोज २०७६, २१ : २८
लेखकबाट थप