भोलि बिहीबारदेखि मौसममा सुधार हुने

रासस

बुधबार, ०१ असोज २०७६, १४ : ५९
भोलि बिहीबारदेखि मौसममा सुधार हुने

काठमाडौं । भारतको मध्यप्रदेशस्थित  उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशभर बदली हुनाका साथै वर्षा पनि भइरहेको छ । 
    
उक्त प्रणालीको असर आज रातिसम्म कायम रहने र भोलिदेखि  मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो । 

“बुधबार देशका मध्य र पश्चिमका धेरैजसो स्थान तथा पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ” उहाँले भन्नुभयो ।

देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो जानसक्ने, नदीमा पानीको वहाब बढ्न सक्ने र  सडक तथा हवाई यातायातमासमेत अवरोध आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन उहाँको सुझाव थियोे ।

सामान्यतया नेपालमा जुन १० मा मनसुन शुरु भएर सेप्टेम्बर २३ मा सकिने गर्छ । यस वर्ष नेपालमा १० दिन ढिलो गरी मनसुन भित्रिएको थियो । हाल देशका अधिकांश भागमा आंशिक तथा पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का तथा मध्यम वर्षा भइरहेको छ । 

बिहीबारदेखि मौसममा सुधार हुने भए पनि शुक्रबारसम्म देशभर आंशिकदेखि सामान्य बदली हुनाका साथै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो  विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २६ मिलिमिटर वर्षा भएको छ । पोखरामा ४ मिलिमिटर, सिमरामा १६ मिलिमिटर, धनगढीमा २५ मिलिमिटर जुम्लामा १ मिलिमिटर र दिपालयमा ११ मिलिमिटर वर्षा भएको छ । 

प्रतिक्रिया दिनुहोस