‘उत्तेजित समूहले गर्दा उडानमा झन् ढिलाइ’

पत्रपत्रिकाबाट

मंगलबार, ३१ भदौ २०७६, ०८ : ५९
‘उत्तेजित समूहले गर्दा उडानमा झन् ढिलाइ’

काठमाडौँ । विमानभित्रका उत्तेजित समूहका कारण पनि गत शनिबार नेपालगञ्जदेखि काठमाडौँको उडानमा ढिलाइ हुनपुगेको बुद्ध एयरलाइन्सले स्पष्ट पारेको छ ।

कम्पनीले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एक पत्र लेख्दै उत्तेजित समूहले विमानभित्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई चाररपाँच मिनेटसम्म आक्रोश पोख्न थालेपछि उक्त समूहलाई साम्य बनाएर विमानको सिटमा बस्न आग्रह गर्दा उडानमा अझ ढिलाइ हुन पुगेको जनाएको छ ।

यसरी विमानभित्रै एकैचोटि चढेर एकै ठाउँमा उभिएर आक्रोश पोख्दा विमानको एकै भागमा धेरै वजन भएकाले विमानसमेत ढल्किएको कम्पनीले पत्रमा उल्लेख गरेको छ । मन्त्री भट्टराई विमान प्रवेश गर्नुअघि नै ६ बजेर ४० मिनेटमा विमान परिचारिकाको आग्रहविपरीत १४÷१५ जनाको समूह आक्रोशित भई विमान बाहिर निस्किएको पनि बुद्ध एयरले जनाएको छ । त्यसरी बाहिर निस्किएको समूहले कम्पनीका कर्मचारीसँग वादविवाद गरेको र ६ बजेर ५० मिनेटमा मन्त्री विमानतर्फ आउँदा थप आक्रोशित भई एकैपटक विमानभित्र प्रवेश गरेको उल्लेख छ । उक्त समूहले विमानभित्रै मन्त्रीलाई आक्रोशित भएर प्रश्न गरे पनि मन्त्री संयमित हुँदै चुपचाप विमानमा बस्नुभएको कम्पनीले स्पष्ट पारेको छ ।

गत शनिबार बुद्ध एयरको उडान नम्बर बीएचए ४०६ नेपालगञ्जबाट काठमाडौँ उडान गर्दा केही समय ढिलाइ भएपछि अहिले त्यसको चर्चा चुलिएको छ । बुद्ध एयरले काठमाडौँबाट नेपालगञ्ज उडान गर्दा नै २३ मिनेट ढिलाइ भई ६ बजेर २ मिनेटमा नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको जनाएको छ ।

कम्पनीका अनुसार नेपालगञ्जबाट ६ बजेर २५ मिनेटमा उडान गर्नुपर्ने तालिका भए पनि काठमाडौँस्थित बुद्ध एयरको उडान सञ्चालनले संशोधन गरेर ६ बजेर ४० मिनेटको समय निर्धारण गरेको थियो । यद्यपि नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुखले ६ बजेर २५ मिनेटमै मन्त्रीसहितको टोली धम्बोजी आएको जानकारी फोनबाट दिनुभएको कम्पनीले पत्रमा उल्लेख गरेको छ ।

उक्त जानकारीपछि समयमै आइपुग्ने आशय बुझेपछि विमानका कर्मचारीले ६ बजेर ३० मिनेटमा बोर्डिङ गराए पनि फोनमा जानकारी गराएभन्दा केही समय ढिलामात्रै मन्त्रीसहितको टोली विमानमा प्रवेश गरेको कम्पनीले जनाएको छ । मन्त्रीसहितको टोली ६ बजेर ५० मिनेटमा विमानमा पुगे पनि उत्तेजित समूहका कारण अन्ततः ७ बजेर ४ मिनेटमा जहाज नेपालगञ्जबाट उडान गरेको कम्पनीले स्पष्ट पारेको छ । कम्पनीले मन्त्रीका सुरक्षाकर्मी र सहयोगीले देखाएको संयमताले पनि आक्रोशित समूहलाई साम्य पारी उडान गरिएको जनाएको छ ।

उक्त घटनाप्रति मन्त्री भट्टराईले सबै यात्रुको बोर्डिङ भएको १५ मिनेटपछि आफूसहितको टोलीको बोर्डिङ भएको स्वीकार गरिसक्नुभएको छ । आइतबार प्रतिनिधि सभामा जवाफ दिने कार्यक्रम रहेकाले पनि शनिबारको बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौँ फर्कने योजना रहेको र फर्कने क्रममा बुद्ध एयरसँग अनुरोध गरेर केही ढिलो हुन पुगेको उहाँले जनाउनुभएको छ तर विमानस्थलमा केही व्यक्तिले आक्रामक रूपमा आफ्नोविरुद्ध प्रस्तुत भएको र उक्त समूहले पारसविरुद्ध हस्ताक्षर दरबारमा बुझाएर दुःख दिएको सुनेको र त्यसबाट उक्त समूहको नियमत प्रस्ट भएको उहाँले स्पष्ट पार्नुभएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस